हाँडीगाउँको जात्रा, आकाश थाम्ने हुट्टिट्याउँ

सामयिकी

हाँडीगाउँको जात्रा, आकाश थाम्ने हुट्टिट्याउँ

दैलेखमा जति पानीका मुहानहरू छन्, देउडा गीतका भाकाका मूलहरू पनि त्यति नै फुटेका छन्।

आफ्ना लागि लेखौं

मनमा सबै शब्द छँदैछन्।
किन लेखौं ?
कसैका लागि लेखौं
खै कस्का लागि !
के लेखौं ?
लेखौं लेखौं।
केही त पक्कै लेखौं।

धुनमुन धुनमुन गर्दै खाली मनबाट खोक्रा शब्दहरूको सहारामा कुनै मुद्दाको व्याख्या गर्नका लागि लेख्न बस्छु। खुट्टो निदाउँछ र फेरि उठ्छु। उठेर लेख्छु फेरि असजिलो महसुस गर्दै बसेरै लेख्ने प्रयास गर्छु। फेरि मन ह्वांग पाउँछु। मनका कुना–कन्दरामा खोजी हेर्छु। पुराना टाटा लागेका खतहरू भेट्छु। कोट्ट्याउने हिम्मत गर्न सक्दिनँ। फेरि पनि हात भने लेख्नका लागि आतुर छन्, छट्पटाएका छन्। आज त लेख्छु लेख्छु। अठोट लिन्छु, फेरि लेख्न थाल्छु।

मुद्दाको छनोट गर्न खोज्छु। जुन मुद्दामा बसेर लेखे पनि कसैलाई गाली नगरी, कसैलाई दोष नथोपरी लेख पूरा नहुने देख्छु र फेरि कलम बन्द गर्न खोज्छु। भोलि लेखौंला भन्दाभन्दै यत्रो समय नलेखेको आभास गर्छु। फेरि लेख्छु नै भन्ने दृढताका साथ यो लेख अन्तत:  लेख्छु।

लेखक बन्ने सपना बोकेर पनि राम्रो पाठकसम्म बन्न नसकेको म समाजलाई मिहिन ढंगले हेर्न खोज्छु तर ढंग पुग्दैन र असरल्ल देख्न पुग्छु। समाज हेर्न गाउँ गाउँ जान्छु, देखिँदैन। सडक सडक भौंतारिन्छु, भेटिँदैन। सहरका गल्लीगल्लीमा रुमलिन्छु, ठोकिँदैन। हिमालका टुप्पाबाट चिच्याउँछु, सुनिँदैन। गलित, थकित भएर यसो मोबाइल हेर्छु, अकस्मात् त्यहाँ एकैपटक समाज देखिन्छ, भेटिन्छ, ठोकिन्छ र सुनिन्छ पनि।

अचम्मित हुन्छु। म अचम्मित भएको देखेर समाज मसँग झन् बढी अचम्मित हुन्छ। यहाँ बाख्रा र सहकारीको लडाइँ हेर्दै बेलुकाको भात खाइरहेको समाज हेरेर के पाउनु भन्दै आँखा चिम्लिन खोज्छु। फेरि सरकारको गड्याङगुडुङले तर्सिंदै ब्युँझिन्छु। हतारहतार समाज खोज्न त्यही मोबाइल पल्टाउँछु। देखिन्छ– पूरै देश।

एन्फाको भिसा सक्केस रेटदेखि धनगढीको उखुको क्यान्सरसम्म। जसरी भए पनि चार वर्ष सरकार टिकाइछाड्छु भन्ने प्रमदेखि महिनौंसम्म भइरहेको भारतीय चुनावसम्म। कृत्रिम पानी पारेर दुबईले आफ्नो मरुभूमिमा कमलको फूल फुलाउनै लाग्दा दुलहीले खाना खान बोलाउँछिन्। जान्छु।
दुलहीलाई सबै विश्वघटना सुनाउन खोज्छु तर उनलाई छिमेकमा भएका एसएलसी फेल डाक्टरको चिन्ता छ। तिनलाई त पुलिसले समात्यो नि। विचरा मलाई त कस्तो माया लाग्यो। टाउको पनि उठाउन सकेनन् बरा ! धेरै बेर छिमेकीको तारिफ सुन्दा अचारमा पिरो बढी भएको महसुस गर्न पुग्छु। फेरि अचारको बारेमा गुनासो गरे खोर्सानी ल्याइदिन्छु ल्याइदिन्छु भन्दै टारेको हप्की खानुपर्ने पिरले चुपै बस्छु।

त्यहीबेला दुलहीको फोनमा सुन्न पुग्छु– प्रकाश सपूतको गीत। एउटा पुरुषले महिलाको जीवन वर्णन गरेको सुनेर चकित हुन्छु। उठेर सलाम गर्न खोज्छु– फेरि आफ्नै अहंकारले दिँदैन। मानिस साँच्चै अनौठो हुने रै’छ। मसँग लेखक बन्ने सपना नभइदिएको भए म ती शब्द–शब्दलाई कति तारिफ गर्न सक्थें हुँला ?

तर त्यही सपनाको भ्रमले मलाई अहंकारी बनाउँछ र झुक्न दिँदैन। मैले मलाई मात्रै हैन, धेरैलाई देखेको छु जो अरू समकालीनलाई तारिफ गर्न सक्दैनन्। किनकि उनीहरूलाई पनि आफ्नो ठाउँ बनाउनु छ। आखिर अहंकार भएरै त आकाशमा यति धेरै ताराहरू लत्रंग झुन्डिएका होलान् नत्र सबै ताराले आफ्नो अहंकार त्यागेर एक ठाउँमा उभिन सक्थे नि। त्यसो हो भने त राति पनि सूर्यभन्दा ठूलो घामलाग्दो हो।
भाँडा माझ्न खोज्छु। साबुन सकिए छ। जान्छु बजारको महँगीको निरीक्षण गर्न। आफ्नो रित्तो गोजीप्रति हीनताबोध नहोस् भन्न बजारको महँगीलाई गाली गर्छु। बजारे ढाकाटोपी साहु मुसुक्क मुस्कुराएर ! हो है ! भन्छन् र गल्लामा पैसा भर्छन्। आफूचाहिँ रित्तिएर घर फर्किन्छु। ढाका टोपी साहुको मुस्कानसम्झिएर भित्रभित्रै अठोट गर्छु। अबदेखि महँगी बढ्यो भन्दिनँ बरू मेरो कमाइ कम भयो भन्छु।

आफ्नो रिक्तताको भावलाई ढाकछोप गर्न नयाँ शब्दहरूको प्रयोग गर्ने अठोट गर्दै घर फर्किन्छु। भाँडा माझ्दै गर्दा फेरि पनि टीभी खोल्छु र हेर्छु क्रिकेट खेलाडीहरूलाई सरकारले बाँडेको पैसाको खबर। बेलैमा क्रिकेट खेल्नुपर्ने रैछ भन्ने सम्झिन्छु, फेरि शैलेश भाइको याद आउँछ। जो पढ्ने उमेरमा क्रिकेट क्रिकेट भनेर मरिहत्ते गर्‍यो र अहिले कतारमा बसेर अफ ड्युटी भएको बेला क्रिकेटको लाइभ हेरिरहेछ।

च्यानल चेन्ज गर्छु। खबर आउँछ टम क्रुज र टम ह्याँङस्को चलचित्र जुधेको। साबुनपानीले मुख धोएर फेरि हेर्छु। झुक्किएको रैछु, खबर त सलमान खान र शाहरूख खानको चलचित्र एकैदिन रिलिज भएको रैछ। अचम्मित हुँदै आफ्ना आँखालाई स्टिल झुसले मस्काएर फेरि खबरलाई नियाल्छु। छर्लंग हुन्छु– खबर त अनमोल केसी र प्रदीप खड्का, आर्यन सिग्देल र पल शाहको चलचित्रको लडाइँ पो भइरहेको रहेछ।

बल्ल आफ्नो औकातअनुसारको खबर आएको महसुस गर्छु। समाचार वाचकले निर्देशक र निर्माताबीचको टकराव भनेर हुँदै गरेको भिडन्तलाई व्याख्या गरिरहेछ। मुसुक्क हाँस्छु। मनमनै म र मेरो समाजलाई कति पंगु बनाउन सकेको है ? भन्ने प्रश्न गर्छु। तीनजना नायक मिलेर एकजना नायकलाई घेरेको भन्न नसकेको देखेर समाचारवाचकप्रति दया प्रकट गर्छु। तीनजना नायकले चाहेर पनि सम्भावित भिडन्त रोक्न नसक्ने आकलन गरिरहेको देखेर उनीप्रति सहानुभूति महसुस गर्छु।

तीनजना मिलेर रोकौं भन्ने हो भने निर्देशकले त के उहाँको पिताश्रीले पनि चलचित्रको प्रदर्शन रोक्न बाध्य हुनपर्छ भन्ने यथार्थलाई गम्छु। यो जुँगाको लडाइँमा आर्यन सिग्देल जत्तिको दिग्गज नायक पनि पछि नपरेको देखेर हाँसौं कि चुक्चुकाउँ भन्ने महसुस गर्छु। सम्झिन्छु बर्सेनि लाग्ने हाँडीगाउँको जात्रा र आकाश थाम्न उत्तानो परेको हुट्टिट्याउँ। समाजको स्थिति र मानसिकतामा कुनै गठजोड देख्न सक्दिनँ। शायद म आलोकाँचो भएर पो हो कि ? खुट्ट्याउनै सक्दिनँ। म ती युवा सम्झिन पुग्छु जो कोरिया जान हिँडेका थिए तर बालकुमारी पुल तर्न पाएनन्। नजिकै भएर ती युवाहरूको माया लागेको होला भन्ने आकलन गर्न पुग्छु नत्र त हमासको चपेटामा परेका युवाहरूको पनि त्यति नै माया लाग्थ्यो होला। रुस र युक्रेन दुवै तर्फबाट पैसाका लागि युद्ध लडिरहेका नेपालीहरूको पनि त्यति नै माया लाग्थ्यो होला नि।

अमेजन जंगलमा हिँडेका, पृथ्वीको अर्कै कुनामा डुंगा पल्टिएर मरेका मानिसहरूको पनि माया लाग्छ। गर्दै भन्दै जाँदा नेपालीको मात्रै माया लागेको देखेर आफैंसँग फेरि रिस उठ्छ र एकपटक सम्पूर्ण मानव जातिमाथि नै माया लाग्छ। आफ्नो माया यो मनुष्यमा मात्रै सीमित भएको देखेर संकुचित महसुस गर्छु र सम्पूर्ण चौरासी लाख योनि र यो सम्पूर्ण ब्रह्माण्डमाथि पनि हुलुक्कै माया लागेर आउँछ।

एकैछिनमा म मायैमायाले भरिन्छु तर पोखिने ठाउँ पाउँदिनँ र भित्रभित्रै विस्तारै सुक्न थाल्छु। आँखामा बुद्धत्व प्राप्तिको बोध, मनमा यो तीनै लोक, चारै भुवनप्रतिको अपार माया र हातमा जुठो मस्को लिएर काम सिध्याउनपट्टि लाग्छु।

खाटमा पल्टिन्छु। आजको दिन पनि बितेको महसुस गर्छु। सोच्छु यो दिनलाई अब मैले केही दिन वा हप्तापछि सम्झिन्छु कि सम्झिन्न होला ? सम्झनलायक केही चिज पाउँदिनँ। योभन्दा पहिले बिताएका हजारौं दिनलाई सम्झिन खोज्छु। खाट माथिको छानो घुमाएको महसुस हुन थाल्छ। याद आउँदैन, टाउको कन्याउन मन पनि लाग्दैन। केही पढौं कि भन्ने लाग्छ फेरि पढेर खास तात्विक फाइदा केही नहुने दिव्य ज्ञानको अकस्मात बोध हुन पुग्छ। सुतौं कि भन्छु। निद्रासँग सम्बन्ध नगाँसौं जस्तो लाग्छ। फेरि लामिछाने बाका प्याजका पत्रहरू उप्काउने रहर जागेर आउँछ।

गुरुजीका किताबहरूलाई कहिलेसम्म सिरानीमा थन्काउने ? बरू तिनलाई जीवन्तता प्रदान गर्ने मन भएर आउँछ। पल्टाउँछु। पढ्छु। पढेर फेरि खुसी हुन्छु त्यसरी नै जसरी पहिलोपटक पढ्दा खुसी भएको थिएँ। तिनै गुरुलाई साक्षी मानेर आफ्नै जीवनको प्याजको एक झिल्को लेखिहेर्छु। लेख्दालेख्दै मनभरि अर्को झिल्को पनि उप्काउने रहर भएर आउँछ तर त्यसपछिको रिक्तता, अन्धकार र त्यस्को भयावह शून्यतासँग डराउन पुग्छु र बन्द गर्छु यो लेख त्यसरी नै जसरी हुन्डरीमा बलेको दियो निभ्न पुग्छ। झ्याप्पै।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.