सलहेस लोकगाथामा चार किल्ला हुन्छन्। ती समस्त किल्ला प्रेम, समर्पण, तन्त्र र वीरताले भरिएका छन्।
लोक साहित्यको क्षेत्रमा दीर्घ कथात्मक र गेयात्मक कथालाई लोकगाथा भनिन्छ। लोककण्ठमा परम्परादेखि शृंखलाबद्ध गायन हुँदै आएका यी लोकगाथामा तत्कालीन समाजमा प्रचलित लोकदेवता, लोकनायक, राजपुरुष आदिका बारेमा ओजपूर्ण वर्णन पाइन्छ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘बृहत् शब्दकोश’मा ‘लोकगाथा’को परिभाषा यसरी दिइएको छ– ‘परम्परादेखि लोकले मुखमुखै गाउँदै आएको, नृत्य र कथात्मकतासमेत विद्यमान रहेको, राष्ट्रिय गौरव वा वीरचरित्र र महत्त्वपूर्ण घटनाको बखान गर्ने शृंखलाबद्ध विशेष गीत।’
आज यी लोकगाथाहरू गाइनेहरूको कण्ठमा र नृत्य–गीत र अभिनयद्वारा प्रस्तुत गर्ने लोकमञ्चका कलाकारद्वारा नै यस्ता लोकगाथा सुरक्षित छन्।
मैथिली लोकसाहित्यमा बढी प्रचलित र विस्तारित लोकगाथाहरूमा लोरिक, दीनाभद्री, राजा सलहेस, नयका वनिजारा, राय रणपाल आदि छन्। यी गाथामध्ये सबैभन्दा लोकप्रिय र आजसम्म नाट्य र गायनद्वारा सुरक्षित सलहेस गाथा रहेको पाउँछौं।
गाउँहरूमा ‘सलहेसको नाच’ भनी प्रतिरात ४–५ हजारसम्मको पारिश्रमिक लिई देखाइने गरिएका यी लोकप्रदर्शनहरू सलहेस र दौना मालिनको अमर प्रेम, चुहरमलको दुष्टता र सलहेसको भाइ मोतीरामको बलप्रदर्शनका अमर गाथा संरक्षित र जीवित राखेका छन्।
लोकनायक सलहेसको मार्मिक प्रसंग : सलहेस लोकगाथामा चार किल्ला हुन्छन्। ती समस्त किल्ला प्रेम, समर्पण, तन्त्र र वीरताले भरिएका छन्। तर छोटो समयमा सलहेसको चरित्रबारे लोकगायकलाई गाउनु पर्यो अथवा लोकनर्तकहरूलाई प्रदर्शन गर्नुपर्यो भने त्यसले सलहेस–कुसमा र सलहेस–चन्द्राको प्रेमप्रसंगलाई अवश्य पनि उल्लेख गर्छन्।
वास्तवमा सलहेस पकडियाका राजा कुलेश्वरको दरबारमा पहरेदार थिए। एक दिन पकडिया राज्य घुम्ने इच्छामा राजाको फूलबारीमा एक क्षण आराम गर्दै बेलामा राजकुमारी चन्द्रा त्यहाँ फूल टिप्दै आइन्। सुन्दर सलहेसलाई देखेर प्रेम निवेदन गरिन्। तर सलहेसले अस्वीकार गरिदिए।
राजकुमारी चन्द्रा रिसाएर बुवा राजा कुलेश्वरलाई फूलबारीमा चोर आएको र आफूमाथि हातपात गर्न खोजेको चुक्ली लगाइन्। राजा कुलेश्वरको आज्ञाले सलहेस समातिए र राजज्ञाले जेलमा बन्द गर्न लाग्दा चन्द्राकै निवेदनमा उसकै कोठाको पहरेदार नियुक्त गरिए।
सलहेस आउँदा चुहरा त्यहाँबाट हट्नु परेको पीर बोक्दै एक दिन मोकामाको घाटबाट नै सुरुङ खनी महलमा पसेर सबै थोक लगे। हल्ला भएपछि सलहेसको नाउँ लाग्यो र ऊ झ्यालखाना परे।
यो कुरा सुनेर उनकी श्रीमती कुसमा मालिन राजाकहाँ आउँछिन् र एक साताका लागि सलहेसलाई चोर बुझाउने शर्तमा छुटाएर लग्छिन्। कुसमा नटीको भेषमा चुहरलाई लोभ्याउँछिन्। र चोरीको पत्ता लगाई पुन: सलहेसको सहयोगमा चुहरमललाई दरबारमा बुझाउँछिन्।
राजा कुलेश्वरले पनि सलहेसलाई मुक्त गर्छ र कुसमा आफ्ना पतिसाथ घर फर्कन्छिन्। ईष्र्या, द्वेष, प्रेम, र समर्पणले भरिएको सलहेसको गाथामा अनेकौं वीरतापूर्ण प्रसंग पनि आएको हामी पाउँछौं।
मैथिली लोकसाहित्यमा बढी प्रचलित र विस्तारित लोकगाथाहरूमा लोरिक, दीनाभद्री, राजा सलहेस, नयका वनिजारा, राय रणपाल आदि छन्। यी गाथामध्ये सबैभन्दा लोकप्रिय र आजसम्म नाट्य र गायनद्वारा सुरक्षित सलहेस गाथा रहेको पाउँछौं।
राजा सलहेसको नेपाली परिवेश : एउटा चौकीदारबाट आफ्ना प्रतिभा र वीरताले राजासम्म बन्न सफल भएका सलहेसको बासस्थान नेपालको तराई क्षेत्र नै मानिन्छ। मोरङ, विराटपुर, महिसौथा, ननमहरी, त्रिवेणीमेला, विमला माताको स्थान, राजाफूलबाडी, सिलहट अखाढा, पकडियागढ, पतारी मानिकदह आदि महत्त्वपूर्ण स्थानहरू सलहेस लोकगाथाको केन्द्रीय ठाउँहरू छन्। जसको अस्तित्व अहिले पनि नेपालको तराई क्षेत्रमा वर्तमान छ।
सलहेस गाथामा प्रयुक्त भएका त्यस्ता महत्त्वपूर्ण स्थलहरूबारे संक्षिप्त चर्चा यहाँ गरिएको छ।
राजाफूलबाडी : सलहेस वास्तवमा दुसाध जातिको पवित्र देउता हुन्। प्रत्येक वर्ष वैशाख १ गते दुसाधहरू सलहेसको पूजाअर्चना र नाच–तमाशाको आयोजना गरी सलहेसको स्मृति दिवस मनाउँछन्। त्यसमध्ये राजाफूलबाडी जसलाई सलहेस फूलबाडी पनि भनिन्छ प्रमुख हो।
सिराहा जिल्लाको लाहानबजारबाट ४५ किलोमिटर पश्चिममा ३०–४० कट्ठा क्षेत्रफलमा अवस्थित यो फूलबाडी मध्यमा सलहेसको प्रसिद्ध गहबर (मन्दिर) छ, जहाँ वैशाख १ गते श्रद्धालु दुसाध जातिहरू हजारौंको संख्यामा त्यहाँ गएर पूजाअर्चना गर्छन्। भनिन्छ, फूलबाडीमा रहेको हारमनामक रुखमा प्रत्येक वर्ष ‘सतुआइन’ (१ गतेभन्दा पहिले (मसान्तमा)मा दौना मालिन फूल बनेर त्यसको हाँगामा झुन्डिइहाल्छिन्। कुसमयमा रुखमा झुन्डिने गरेका फूल स्वयं आफूमा विचित्र र लोकविश्वाससम्मत छन्।
महिसौथा : सिराहा जिल्लाअन्तर्गत सिराहाबाट टाँसिएकै उत्तरमा योे गाउँ पर्छ। भनिन्छ– राजा सलहेसको जन्मथलो यही हो। राजा बनेपछि सलहेसले राजधानी यसै ठाउँमा बनाएका थिए। यहाँ एउटा गढी (ढिस्को) पनि छ, जहाँस्थित मन्दिरमा सलहेस सपरिवार राखिएको छ।
ननमहरी : जनकपुरदेखि ३२ किलोमिटर उत्तर–पूर्वमा धनुषाको उत्तरी छोरस्थित यो पहाड शंकर भगवान्को मन्दिरकै कारण प्रसिद्ध छ। गाथामा भनिएको छ– सलहेसका नाना नारायण यस मन्दिरको शिवलिंगको पूजा गर्न प्रतिबन्ध लगाइदिएका थिए, तर पछि सलहेस त्यसलाई फुकुवा गरी लोकआकांक्षा पूरा गरेका थिए।
त्रिवेणीमेला : उदयपुर जिल्लाको दक्षिण अवस्थित यो संगमस्थलमा अवस्थित छ। यो मेला त्यसबेला पनि चलेको थियो, अहिले पनि लाग्दै आएको छ। लोकगाथाअनुुसार यस मेलामा सलहेसकी बहिनी वनसपती र सतखोलियाका राजा शैनीको बीच प्रेम प्रस्फुटन भएपछि परिणयसम्म पुगेको चर्चा छ। लोकविश्वास छ– अहिले पनि यी दुई प्रेमीबीचको मधुर रागात्मक सम्बन्धको साक्षी यो मेला हो।
सिलहट अखाढा : राजाफूलबाडीदेखि पश्चिममा चौर छ। त्यहाँ त्यसताका कुस्ती खेल्ने अखाडा थियो। भनिन्छ– राजा सलहेसका भाइ मोतीराम आफ्ना सात सय पहलमानसँग कुस्ती यहाँ खेल्ने गर्थे।
पकडियागढ : यद्यपि पकडियागढबारेमा मतभिन्नता छ। तर अहिले सिराहा जिल्लाको लाहानबजारदेखि १० किलोमिटर उत्तर पहाडछेउ यो अवस्थित रहेको प्रमाणित भएको छ। गाथाअनुसार पकडियागढका राजा कुलेश्वरकहाँ राजा सलहेस चौकीदारी गर्थे। यहाँ अहिले राजा कुलेश्वरको गढी छ। त्यहाँको पोखराको पूर्वतिरको डिलमा एउटा मन्दिर छ। त्यहाँ एउटा घोडामाथि सवार सलहेसको प्रतिमा छ।
पतारी : यो राजा कुलेश्वरको कान्छा भाइ हरिसिंहदेवको निवासस्थलको रूपमा चिनिन्छ। यहाँ पुत्रप्राप्तिको लागि अनुष्ठान गरिन्छ तर त्यसभन्दा पहिले राजाफूलबाडीबाट दर्शन गरेर आउनुपर्ने हुन्छ।
मोरङ : सलहेसको गाथामा हिनपति (महेश्वर भण्डारी)को राज्यको रूपमा मोरङको चित्रण छ। यसैकी छोरी थिइन् गाथा नायिका दौना मालिन, जो समर्पित प्रेमिका हुँदै पछि सलहेसकी पत्नी पनि भइन्।
मानिक दह : सिराहा जिल्लाको लाहानदेखि १४ किलोमिटर उत्तर–पश्चिमस्थित यो स्थान सलहेसको स्नानस्थल थियो। लोकगाथामा भनिएअनुसार सलहेस प्रत्येक दिन यसै मानिकदहमा स्नान गरेर फूलबाडीमा फूल टिपी महिसौथामा आई राजमाता र कमलाजीलाई पूजाआजा गर्थे। यसका अतिरिक्त पनि यहाँ महान् प्रेम र वीरताले भरिएको लोकगाथाको अमर नायक सलहेसको क्रीडाभूमि नेपालमा पर्छन्, जसको गम्भीरतापूर्वक अनुसन्धान हुनु जरुरी छ।