बजेटमा देखिएका कमीकमजोरी सच्याउँछौं : केपी ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले बजेटलाई प्रभावकारी बनाउने विषयमा सरकारसँग कुरा भइरहेको बताएका छन्।
शनिबार काठमाडौंमा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै ओलीले बजेटमा देखिएका कमीकमजोरी सच्याउँदै यसलाई प्रभावकारी बनाउनका लागि आफूले सरकारसँग कुरा गरिरहेको बताए।
उनले उत्पादनका माध्यमबाट पुँजी वृद्धि गर्दै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउनुपर्नेमा जोड दिए। औद्योगिक क्षेत्र स्थापना भए पनि उद्योग बन्न नसक्नु, लगानी सम्मेलन गरे पनि लगानी भित्रन नसक्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए।
ओलीले नेपालमा थोरै लगानी र योगदान गरेर धेरै प्रतिफल बाहिर लिएर जाने अवस्थाको गम्भीतापूर्वक समीक्षा गर्नुपर्ने बताए। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय मुलुकको आर्थिक सूचकांक हेर्दा आर्थिक अवस्था सुधार हुँदै गएको बताए। उनले आगामी मौद्रीक नीति सहजरूपमा आए यसअघिको अफ्ठ्यारो हट्दै जाने बताए। निजी क्षेत्रका विषयलाई एकै ठाउँमा समेटेर सम्पूर्ण उद्योगी व्यवसायीको हितका लागि अघि बढ्न महासंघ तयार रहेको उनको भनाइ छ।