किन चुके चामलिङ ?
विपक्षमा बस्ने जनताले दिएको आदेशलाई पवन चामलिङले आत्माबाटै स्वीकार गर्न नसक्नु एसडीएफको पतनको सुरुआत थियो।
- आखिर किन हारे त पवन चामलिङ ?
- किन धरासायी बन्यो भारत सिक्किममा एसडीएफ ?
- कहाँनेर भइदियो चामलिङबाट चुक ?
सन् २०१९ को सिक्किम विधानसभा चुनावमा १५ सिट जितेको पवन चामलिङको एसडीएफ पार्टी सन् २०२४ मा आइपुग्दा एउटा मात्र सिटमा खुम्चिन पुग्यो। यस घटनाक्रमलाई लिएर टिप्पणी गर्नेहरूले सिक्किमका जनताले चाम्लिङलाई राजनीतिबाट विश्राम लिन सुझाउ दिएको भन्न पछि परेनन्। सिक्किमेली जनताले दिएको मतलाई स्वीकार गर्दै चामलिङले अब राजनीतिबाट सन्यास लिने हुन् कि पार्टीको विरासत फर्काउन फेरि नयाँ ढंगले अघि बढ्ने हुन् ? त्यो त आउने दिनहरूले नै तय गर्लान्। तथापि, चामलिङको अबको बाटो कस्तो हुने हो भन्ने कुरा अहिलेलाई खुबै जनचासोको विषय
बनिदिएको छ।
यसैबीच, सिक्किममा ३२ आसनमा ३१ वटै जितेर प्रचण्ड बहुमत हासिल गरेपछि एसकेएम प्रमुख एवं मुख्यमन्त्री पीएस गोलेले एसडीएफ अध्यक्ष पवन चामलिङलाई अब राजनीतिबाट संन्यास लिनुपर्ने मन्तव्य पोख्ने अवसर पाए। आखिर किन धरासायी बन्यो त एसडीएफ ? नेपाली मूलका भारतीय नेता पवन चामलिङले यत्रो विरासत आखिर किन आफ्नो आसन पनि बचाउन सकेनन् ? के जनताले राजनीतिबाट चामलिङलाई विदा दिएकै हुन् त ? यस्ता धेरै टड्कारा प्रश्नहरू अहिले सिक्किमको राजनीतिक मैदानमा उठिरहेका छन्।
सिक्किमको राजनीतिक इतिहासमा यसपल्ट अप्रत्याशित घटना घट्न पुग्यो। २५ वर्ष सत्ता सम्हाल्ने एसडीएफ पार्टी सन् २०१९ को विधानसभा चुनावमा केवल दुई सिटको अन्तरले सरकारबाहिर भएर विपक्षीमा बसेको थियो। यसैगरी, सन् २०२४ मा आइपुग्दा एसडीएफ पार्टी सिक्किमको राजनीतिमा धरासायी बन्न पुगेको थियो। पाँच वर्षको अन्तरालमा नै एसडीएफको यस्तो अवस्था हुन्छ भनेर सायद कसैले कल्पनासमेत गरेको थिएन। त्यसैले पनि अहिले यो विषयले भारतमा तरंग पैदा गरेको छ। पाँच वर्षभित्रमै यसरी एसडीएफ सिक्किमको राजनीतिबाटै निमिट्यान्न बन्नु अहिलेका लागि यही नै सबैभन्दा ठूलो चर्चाको विषय बनिदिएको छ।
एसडीएफले भविष्यमा आफूलाई खडा गर्ला कि नगर्ला ? त्यो आउने दिनहरूले नै बताउलान्। तर, अहिलेलाई भने सिक्किमको राजनीतिमा एसडीएफको यति खराब प्रदर्शन हुन्छ भन्ने कसैले सोचेका थिएनन्। तर, यस्तै भइदियो... कसैले नसोचेको घटना सिक्किममा घटेपछि अनेक कोणबाट राजनीतिक बहस सुरु भएका छन्। होटलहरूमा हुने चिया गफदेखि अफिस हुँदै दलीय नेताबीचको चर्चा बन्न पुगेको छ यो विषय। आखिर किन यति डरलाग्दो रूपले धरासायी बन्यो त एसडीएफ ? यसबारे राज्यका विभिन्न पक्षबीच चर्चा हुनुलाई असामान्य मान्न पनि सकिने अवस्था छैन यतिबेला।
सन् २०१९ को विधानसभा चुनावमा सिक्किमे जनताले १५ सिटमा विजयी गराएर एसडीएफलाई विपक्षीमा राखिदिएका थिए। २५ वर्षपछि फेरिएको एसकेएमको नयाँ सरकारमा सकारात्मक विपक्षीको भूमिकामा एसडीएफ देखिने छ भन्ने मानिसहरूले भरोसा राखेका थिए तर त्यो सम्भव भएन। विपक्षमा बस्ने जनताले दिएको आदेशलाई पवन चामलिङले आत्माबाटै स्वीकार गर्न नसक्नु एसडीएफको पतनको सुरुआत थियो।
सन् २०१९ अघि उनी सत्तामा छँदा नयाँ जिल्ला गठनको दीर्घकालीन जनताको मागको सुनुवाइ नभइरहेको गुनासो एकातिर थियो भने अर्कोतिर एसकेएम पार्टी २०१९ मा जस्तो सिक्किमको सत्ता सम्हाल्यो जनताको जिल्ला गठनको मागलाई प्राथमिकताका साथ अघि राखेर सोरेङ र पाक्योङ नयाँ जिल्लाहरू गठन गरिदिँदा यसको सोझो लाभ यसपालिको चुनावमा एसकेएमलाई पुग्यो। यसो हुँदा यी दुई नयाँ जिल्लामा पर्ने सबै निर्वाचन क्षेत्रका जनताले एसकेएमलाई भोट नदिने त कुरै भएन। यहाँ पनि चामलिङ चुक्न पुगे। एसडीएफ धरासायी हुनुको पछि यो पनि एउटा कारण मान्न सकिन्छ।
१९९४ भन्दाअघि नरबहादुर भण्डारीको सिक्किम संग्राम परिषद्को सरकारमा १० वर्ष मन्त्री भई बिताएका अनि पछि १९९३ मा एसडीएफ पार्टी गठन गरेर २५ वर्ष मुख्यमन्त्रीको पद सम्हालेका चामलिङले सिक्किमको राजनीतिलाई सत्तापक्षमा बसेर मात्र हेरेको कारण पनि उनले विपक्षीको भूमिका निर्वाह गर्न नसक्नुको मूल कारण रहेको जानिफकारहरूको भनाइ छ। सन् २०१९ मा जनताले एसडीएफ पार्टीलाई सत्तामा नपु¥याए पनि १५ सिट दिएर विपक्षीको भूमिका निर्वाह गरिदिन विधानसभा पठाएका थिए। तर, चामलिङले १० विधायकलाई के कारणले भाजपामा पठाए, त्यो अहिलेसम्म खुलेको छैन। एसडीएफको पतनको अर्को कारण यसलाई मानेका छन्।
चामलिङले १० जना विधायकलाई भाजपामा पठाउँदा भाजपासित जान नरुचाएका अन्य दुईजना विधायकले एसकेएमलाई रोजेपछि १७ सिटको मत मात्र ल्याएर सरकार चलाउने अधिकार पाएको एसकेएमलाई दरिलो बन्ने अवसर त्यसबेला नै प्राप्त भएको थियो। यहाँ उल्लेखनीय कुरा के छ भने सन् २०१९ मा एसडीएफको टिकटमा चामलिङ र डीटी लेप्चा अनि एसकेएमका कुंगानिमाले दुई–दुईवटा स्थानबाट विजयी बनेका थिए। त,र तीनवटा आसनमा उपचुनाव हुँदा चामलिङको सिटबाट मुख्यमन्त्री पीएस गोलेले, जीटी लेप्चाको सिटबाट भाजपाले अनि कुंगानिमाको सिटबाट पनि भाजपाले जितेपछि एसडीएफ केवल एउटामा सीमित बनेको थियो।
उपचुनावपछि, सिक्किमको राजनीतिमा एसकेएमको १९ अनि भाजपाका १२ अनि एसडीएफको एउटा विधायक संख्याको समीकरण बन्न पुगेको थियो। यसरी अघिल्लो विधानसभा चुनाव भएको ६ महिना नबित्दै २५ वर्ष सत्ता चलाउने चामलिङ सिक्किम विधानसभामा एक्लो एसडीएफका विधायकको रूपमा समेटिन पुगेका थिए। जसबाट उनले हालसम्म विधायक पदसमेत गुमाए।
चामलिङले सिक्किमको राजनीतिमा दीर्घ अनुभवको आधारमा विधानसभाभित्र एक्लै भए पनि सक्रिय विपक्षीको भूमिका निर्वहन गर्नुपर्ने थियो। जनताद्वारा निर्वाचित पीएस गोलेलाई मुख्यमन्त्रीको रूपमा स्वीकार गरेनन्। अनि जनादेशलाई स्वीकार गर्दै विधानसभामा उपस्थिति नदिनुले पनि चामलिङप्रति जनताको विस्तारै मोहभंग हुँदै गएको राजनीति विद्हरूको मत छ। अघिल्लो विधानसभा चुनावमा एसकेएमले सरकार चलाउने अनुमति पाएपछि चामलिङ एसकेएम सरकारको पहिलो विधानसभा सत्रको पहिलो दिन त विधानसभामा गए। तर, यसपछि आफूमाथि कथित दुव्र्यवहार भएको भन्दै लामो समयसमम्म विधानसभा सत्रहरूलाई बहिष्कार गरिरहे। जसले गर्दा चामलिङले जनताको आकांक्षामाथि घात पु¥याएको आरोप पनि उनीमाथि उठिरह्यो।
अर्को कुरा, २०१९ मा चामलिङ सरकारबाट बाहिरिए पनि उनको व्यवहारबाट सत्ताको राप हट्न सकेन। जसको कारण उनी जनतासँग घुलमिल हुन नसकेको भनाइ पनि छ। एकातिर, मुख्यमन्त्री बनेका पीएस गोले शपथ ग्रहणकै दिनदेखि जनतामाझ पुग्ने कामलाई निरन्तरता दिइरहे। गोले पाँच वर्षभरि नै जनतासँग घुलमिल बनिरहे। आफ्नो मुख्यमन्त्री कालको अधिकांश समय नै राज्यवासीमाझ बिताउँदा उता, पवन चामलिङ भने लामो समय जनताबाट दुरी बनाएर चुनावको मुखमा मात्र जनतामाझ जाँदा जनताले उनलाई विश्वास गर्न सकेनन्। यसले पनि एसडीएफको पराजयको बाटो खोलिदिएको मान्न सकिन्छ।
यसरी ६ वर्षको अन्तरालमा एसडीएफले आफूलाई संगठित बनाउनुको साटो विभिन्न स्तरबाट विभाजित गर्दै गयो। जसलाई पार्टीले आन्तरिक स्तरबाट अनुभव ग¥यो वा गरेन त्यो बेग्लै कुरा थियो तर जनताले भने यसपालि एसडीएफ सत्तामा फर्किँदैन भन्ने अनुमान लगाएर नै व्यापक जनाधार एसकेएम पार्टीलाई दिए। एसडीएफ निमिट्यान्न हुनुको अर्को मुख्य कारण यो पनि थियो कि जुन प्रकारले राज्यमा एसडीएफले चुनाव प्रचार गर्नु थियो, त्यो गरेन। चामलिङले न कुनै बृहत् जनसभा गरे न त ¥यालीहरू निकालेर राज्यमा प्रदर्शन नै गरे। यसले पनि एसडीएफ अब सिक्किमको सत्तामा फर्किँदैन भन्ने दह्रिलो विश्वास जनताको मनमा भइसकेको थियो, जो चुनाउ परिणामले देखाइदियो।
२०१९ मा जब एसकेएम पार्टी सिक्किमको सत्तामा आयो, त्यसयता चामलिङ राजनीतिमा उति सक्रिय रूपमा देखा पनि परेनन्। अब पवन चामलिङले राजनीतिक यात्रालाई कस्तो प्रकारले अघि बढाउने हुन् ? हेर्न बाँकी छ। अथवा, पीएस गोलेले भनेजस्तै राजनीतिबाट सन्यास नै पो लिने हुन् कि ?
नेपाल भारतको सिलिगुडीमा रहेर पत्रकारिता गर्छन्।