बजेट पुस्तिकामाथि छलफल गर्न दलहरूले समय मागेपछि आज र भोलिको संसद बैठक स्थगित
काठमाडौं : आज र भोलिको लागि संसद बैठक स्थगित गरिएको छ। बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन संसद बैठक स्थगित गर्ने निर्णय गरेको सभामुखको सचिवालयले जनाएको छ।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेपछि बैठक स्थगित गरिएको हो। आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २७ गतेदेखि नियमित छलफल हुनेछ ।
सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए।