मुलुकको सूचना बेच्‍नेमाथि कारबाहीको कुरा सोध्दा पन्छिए गृहमन्त्री लामिछाने

मुलुकको सूचना बेच्‍नेमाथि कारबाहीको कुरा सोध्दा पन्छिए गृहमन्त्री लामिछाने
तस्बिर : अन्नपूर्ण

विराटनगर : मुलुकका गोप्य सूचना विदेशीलाई बेच्नेमाथि कारबाही र अनुसन्धानको विषय के भइरहेको छ भनेर प्रश्न गर्दा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने तर्किएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार सञ्‍चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने क्रममा देशका गोप्य सूचना विदेशीलाई बेच्नेमाथि कारबाही र अनुसन्धानको विषय कहाँ पुग्यो ? भनेर प्रश्न गर्दा उनले जवाफ दिन चाहेनन् । ‘सञ्चार माध्यममै आएका कुरा मैले संसदमा उठाएको’ भन्ने जवाफ दिएर उनी पन्छिए । संसदमा सम्बोधन गर्ने क्रममा लामिछानेले देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं भन्दै अभिव्यक्ति दिएका थिए।

गृहमन्त्रीले त्यतिबेला देशको गोप्य सूचना बेच्ने एजेन्ट भनेर नेपाली कांग्रेसलक्षित आरोप लगाएका हुन् । गृहमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन कांग्रेसले माग समेत गरेको छ। कांग्रेस महामन्त्री गगन कुमार थापाले अघिल्लो संसद बैठकमा पार्टी र पार्टीका सांसदमाथि लगाइएको आरोप संसदको रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए।

मुलुकको गृहमन्त्रीले संसदको ‘रोष्ट्रम’बाट मुलुकको गोप्य सूचना विदेशीलाई बेच्ने भनेर यति गम्भीर विषय उठाए पनि कारबाहीको प्रक्रिया अघि नबढाएको भनेर लामिछानेको आलोचना भइरहेको छ । 

आफू गृह मन्त्रालयको नेतृत्वमा रहँदा त्यस्तालाई अनुसन्धान तथा कारबाहीको दायरामा ल्याउनुपर्नेमा गृहमन्त्रीले संसदमा बोलेर ‘हलुका टिप्पणी’ गर्न खोजेको र आफ्नो पद जोगाउन कांग्रेसलाई आरोप मात्रै लगाएको आमबुझाइ छ । 

‘मुलुकको सूचना बेच्नेमाथि कारबाही र अनुसन्धानको विषय कहाँ पुग्यो र त्यसको प्रक्रिया या कुनै चिज भइरहँदा भन्ने कुरा पनि भएन । संसदमा बोल्ने सन्दर्भमा मैले कसैको नाम लिएको थाहा छैन । सञ्चार माध्यममा यस्ता कुरा पनि आउँछन् नि भन्ने कुरा गरेको हुँ । पत्रपत्रिका र सञ्चार माध्यममा आएकै कुराले गर्दा खेरी हो,’लामिछानेले भने, ‘अरु प्रश्न पनि छन् होला नि साथीहरू ? तपाईंहरुका आफ्ना प्रश्न पनि भइदिएको भए हुन्थ्यो । कसैले खडा गरिदिएको प्रश्न महिनौंसम्म सोध्नुभयो भने कसरी हुन्छ ? अनुसन्धानका विषय यसरी पत्रकार सम्मेलन गर्दै अगाडि गइन्छ र ?’

यो प्रश्नको जवाफ यसअघि नै दिइसकेको भन्दै उनले थप बोल्न चाहेनन् । उनले ‘विपद् व्यवस्थापको तयारी के छ ? गृह मन्त्रालयले के के गरेको छ ? यो ३ महिना के गर्नु भयो’ भनेर प्रश्न सोध्न आग्रह गरे । लामिछानेले संसदमा प्रतिपक्षीले जवाफ मागेमा दिन आफू तयार रहेको उल्लेख गरे ।

संसदीय मर्यादाविपरीत बोलेकाले गृहमन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भनेर कांग्रेसले भनिरहेको छ नि भनेर सोधिएको प्रश्नमा उनले भने,‘जवाफ दिन पर्ने भए दिउँला नि। तर, मैले यो थाहा पाएको छैन । प्रतिपक्षीले भनेमा जवाफ दिनैपर्छ । दिनुपर्ने ठाउँमा दिउँला । मैले कसैको नाम लिएर कुनै कुरा भनेजस्तो लाग्दैन । किन उहाँहरू (कांग्रेस)लाई त्यस्तो लागेको हो ? मैले त सञ्चार माध्यममा आएका कुरालाई पढीवाची सुनाएको मात्रै हो ।’ 

गृहमन्त्री लामिछानेले ज-जसले जेजे भन्छ त्यसको जवाफ दिँदै हिँड्न सम्भव नहुने  बताए ।। ‘ज-जसले जेजे भन्छ त्यसको जवाफ दिँदै हिँड्ने हो भने मेरो त अरु काम नै भएन नि,’उनले भने । सहकारी ठगी प्रकरणबारे पनि उनले जवाफ दिन चाहेनन् । 

लामिछाने आजदेखि सुरु हुने दुई दिने राष्ट्रिय सुरक्षा बैठकमा सहभागी हुन विराटनगर आएका हुन् । त्यसअघि उनी राजस्व परामर्श समितिको बैठकमा सहभागी हुने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.