कांग्रेसले सिद्धान्त, परिवर्तन, मूल्यमान्यता केहि होइन भन्ने बनाइदिन्छ : घनश्याम भुसाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कांग्रेसमा गएपछि परिवर्तन, मूल्यमान्यता केहि होइन भन्ने बनाइदिने बताएका छन्। आइतबार नेपालमा समाजवादी क्रान्ति विषायक अन्तर्क्रिया कार्यक्रममा उनले संगठन भएन भने विचारको कुनै अर्थ नहुने दाबी गरेका छन्।
बुर्जुवा पार्टीले बुर्जुवाहरु जन्माउने उनको बुझाई छ। उनले भने,‘कांग्रेसले कांग्रेस छैन भनेपनि जय नेपाल भन्ने हिँड्ने, त्यसैगरी डेमोक्रेसी भन्ने, अरु कुनै कुराको वास्ता नगर्ने मान्छे भेटिन्छन्। अरु सिद्धान्त, विचार,समाज, परिवर्तन, मूल्य मान्यता केहि होइन भन्ने बनाइदिन्छ कांग्रेसकोमा गयो भने। कांग्रेसको संगठन कांग्रेस बनाउन काम गर्दैछ।’
उनले एकीकृत समाजवादीले समाजवादी क्रान्ति अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ‘समाजवादी क्रान्तिको दायित्व एकीकृत समाजवादीसँग छ। ओलीको बदमासीका कारण विचारको क्रान्ति ६ वर्ष पछाडि पर्यो। हाम्रो नालायकीले फेरि विचारको क्रान्ति पछाडि पर्न दिँदैनौं भन्ने संकल्प हामीले गर्नुपर्छ।’
भुसालले जनताका लोकप्रिय मत र शानका साथ समाजवादको कुरा गर्ने यो अन्तिम पुस्ता हुने दाबी गरे। उनले भने,‘समाजवादको कुरा गर्ने म अन्तिम महासचिव हुनेछु। माधवकुमार नेपाल अन्तिम अध्यक्ष हुनेछन्।’