युवा भनेर जाँडरक्सीमा पूरै घैँटो समाप्त पार्ने प्रवृत्तिलाई एकीकृत समाजवादीमा छुट दिनु हुँदैन : नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै खालका चुनौती सामना गर्दै सबै खालका अवसर उपयोग गर्नुपर्ने बताएका छन्। आइतबार नेपालमा समाजवादी क्रान्ति विषायक अन्तर्क्रिया कार्यक्रममा नेपालले जनताको विश्वास जितेर परिवर्तनको बाहक बन्नुपर्ने धारणा राखेका हुन्।
नेपालले एक दलीय स्थापना गर्ने समाजवाद हुन नसक्ने टिप्पणी गरे। उनले अहिले पार्टीलाई जोगाउने कुरा पहिलो कुरा भएको बताए। ‘अहिले विश्लेषण गर्दा यो पार्टीलाई जोगाउने, अस्तित्व रक्षा गर्ने पहिलो कुरा हो, यो पार्टीलाई बलियो बनाउने दोस्रो कुरा हो। पार्टीलाई सशक्त बनाउन,नयाँ नयाँ क्रान्तिकारी योद्धा र युवालाई आकर्षण गर्ने मूल काम हो।’ उनले भने,‘युवा भनेर भ्रष्टाचारमा चुलु्म्म डुब्ने,जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन।’
विचारमा प्रष्ट भएका, भाषणमा क्रान्तिकारी भएका र पार्टीको हितमा काम गर्नेलाई स्वागत गर्नुपर्ने धारणा राखे।
उनले नेपाली समाजको यथार्थ विश्लेषण गरेर उपयुक्त नीति अबलम्बन गर्नुपर्ने बताए। उनले राजनीतिमा कसैलाई निषेध नगरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए। चिनियाँ,क्युवा,भियतानाम,उत्तरकोरियाको विशेषताको समाजवादी कस्तो छ त्यसको गहिरो अध्ययन गरेर नेपाली विशेषतासहितको समाजवादको विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे। उनले भूराजनीतिक अवस्थाको पनि विश्लेषण गरेर अगाडि बढ्नुपर्ने स्पष्ट पारे।
नेपालले संकटमा आफूलाई वामदेव गौतमले साथ दिएको भन्दै स्मरण गरे।