विदेशी मुद्रा सञ्चिति बढ्यो
काठमाडौं : नेपालमा विदेशी मुद्रा सञ्चिति बढेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार विदेशी विनिमय सञ्चिति १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको हो।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.२ प्रतिशतले वृद्धि भएको हो। २०८० असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा २४.२ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ।
आर्थिक वर्ष २०८०/८१ को १० महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
२०८१ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरु क्रमशः ३४ प्रतिशत, १०५.३ प्रतिशत र २९.२ प्रतिशत रहेका छन्।