आकाशको पानी चुरेमा पुनर्भरण
देशभित्रै पानी अभावको समाधान गर्न भएका असल सिकाइ छन्। सिरहाको करजन्हा नगरपालिकाको बन्दीपुरमा रहेको बाबाताल, सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा रहेका १५ पोखरी, दाङको घोराही नगरमा खनेका नयाँ–पुराना २२ पोखरी छन्। यस्तै, धनुषाको मिथिला नगरको चुरे क्षेत्रमा औरही खोलामा बनाएका ६ ठूला पोखरी र महोत्तरीको बर्दिबास नगरपालिकाको चुरे क्षेत्रमा निर्माण गरिएका पोखरी पनि छन्। जुन जमिनमुनिको पानी पुनर्भरण गरेको स्थानीय बासिन्दा तथा स्थानीय सरकारका प्रतिनिधिहरूले भन्ने गरेका छन्। यी सबै जलाशय जलवायु अनुकूलनका प्रभावकारी उपाय हुन्।
दाङको घोराही नगरको चुरे क्षेत्रमा खनेका नयाँ २२ पोखरी तथा पुराना पोखरीहरूको मर्मत सुधारले ३३ बिघामा फैलिएको छ। यी पोखरी चेपे, बलरामपु, दुन्द्रा, थाँटी, जनखोली, ज्यामिरे, गंगटे, कटहरी, आरोग्य, ढिकपुर, डाबरी, गुलरिया, बेलहरी र गिठेपानीमा निर्माण भएका हुन्। यी पोखरीमा २२ लाख घनमिटर पानी जम्मा भएर सिँचाइ, माछापालन र बोटिङको सुविधा उपलब्ध भएको छ। यसबाट तीन बाली उत्पादन, माछाको उत्पादनमा वृद्धि र चेपे र ज्यमिरेको पोखरीमा बोटिङबाट पर्यापर्यटन बढेको छ। यसबाट जमिनमुनिको पानी पुनर्भरण भएर पानीको मुहानहरूमा पानीको स्रोत बढेको छ।
धनुषाको मिथिला नगरस्थित चुरे क्षेत्रमा औरही खोलाको किनारमा बनाएका ६ पोखरीले वर्षा महिनामा औरही खोलाको अधिकतम पानी यिनै पोखरीमा जम्मा भएर जमिनमुनिको पानी पुनर्भरण गर्छ। यसबाट तल्लो तटीय क्षेत्रमा बाढीको प्रकोप न्यूनीकरणमा मद्दत पुगेको छ। महोत्तरीको बर्दिबास नगरस्थित चुरे क्षेत्रको रातु नदीको जलाधार क्षेत्रमा साना–ठूला गरी १ सय ८१ निर्माण गरिएका छन्। यी पोखरीहरूमा ५२ करोड घनमिटर पानी भएर जम्मा भएर सिँचाइ र माछापालन सुविधा उपलब्ध छ। यी पोखरी महोत्तरीको बर्दिबास नगरपालिका–३ र धनुषाको मिथिला नगरपालिका–११ मा निर्माण भएका हुन्। यसबाट तीन बाली उत्पादन र माछाको उत्पादनमा वृद्धि भएको छ। विगतमा यी क्षेत्रमा वर्षाको भरमा एक बाली मात्र हुने गर्दथ्यो। यसबाट तल्लो तटीय क्षेत्रमा बाढीको प्रकोप न्यूनीकरणमा मद्दत पुगेको छ।
सिरहाको करजन्हानगरस्थित चुरे क्षेत्रको बाबा तालले सिँचाइ सुविधा, तल्लो तटीय क्षेत्रमा जमिनमुनिको पानी पुनर्भरण गर्न सहयोग पुगेको यस पालिकाका मेयर भोलाप्रसाद पोखरेल र उपमेयर लक्ष्मीकुमारी यादव बताउँछन्। वडा नं २ स्थित बाबा तालको रमणीय हेर्न, पिकनिक, वनभोज खान तथा डुंगा चढ्न त्यस क्षेत्रको पर्यापर्यटनको आकर्षणको केन्द्र बनेको छ। सप्तरीको शम्भुनाथ नगरपालिका–२ स्थित चुरेफेदीमा निर्माण गरिएका १५ पोखरीले तीन बाली उत्पादन र माछाको उत्पादनमा वृद्धि भएको छ। यी पोखरीहरू राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, सिँचाइ कार्यालय र भू–संरक्षण कार्यालयको सहयोगमा निर्माण भएका हुन्। यी पोखरीहरू हुनुभन्दा पहिले सुक्खा महिनामा जमिनमुनिको पानी मोटर लगाएर तान्दा पानी छिट्टै सुक्ने गथ्र्यो। तर, पोखरी खनिसकेपछि सुक्खा महिनामा जमिनमुनिको पानी मोटर लगाएर तान्दा पानी कहिले नसुक्ने वडाध्यक्ष दुर्गानन्द भगत बताउँछन्। यी पोखरीहरूले जमिनमुनिको पानी पुनर्भरण गर्ने गरेको छ।
चीनको राजधानी बेइजिङको जनसंख्या सन् २०२४ मा करिब २ करोड २२ लाख र भारतको राजस्थान राज्यको राजधानी जयपुरको जनसंख्या सन् २०२४ मा करिब ४३ लाखभन्दा बढी छ। बेइजिङमा वार्षिक ५७२ मिलिमिटर पानी पर्छ भने जयपुरमा वार्षिक ५३६ मिलिमिटर पानी पर्छ। यी दुवै सहरमा यति थोरै वर्षाको पानीलाई व्यवस्थापन गरेर पानी पु¥याइरहेका छन् भने त चुरे र तराईमा त वार्षिक १५ सयदेखि २४ सय मिलिमिटर पानी पर्छ। हाम्रो तराई र चुरेको जनसंख्या नेपालको कुल जनसंख्याको ६२ प्रतिशत छ। विगत दशकदेखि तराई र चुरे क्षेत्रका बासिन्दाले सुक्खा महिनामा पानीको हाहाकारको सामना गर्नु परेको छ। पानीको हाहाकारको विषयमा विज्ञहरू सामाजिक संघसंस्थाले पनि सामाजिक सञ्जाल, पत्रपत्रिका, लेखमार्फत आवाज उठाइरहेका छन्।
राजनीतिक दलहरूले पनि संसद्भित्र र संसद्बाहिर पानीको हाहाकारको विषयमा टड्कारो रूपमा आवाज उठाउने गरेका छन्। तराई मधेसमा एकातिर ४३ डिग्रीभन्दा माथिको प्रचण्ड गर्मी अर्काेतर्फ खानेपानीको हाहाकार। तराईका चापाकल, इनार, पानीका मूलहरू र पोखरीहरू सुक्न थालेका छन्। यो पानीको अभाव तराईका सबै जिल्लामा भए पनि मधेस प्रदेशमा सबैभन्दा बढी देखिएको छ। यसरी तराईका बासिन्दा दोहोरो मारमा परेका छन्। पानीको पीडा खप्न नसकेर सप्तरीको भारदहबाट २५ पैदल हिँडेर काठमाडौं आई खानेपानी र चुरे संरक्षणका लागि सुनील यादवको नेतृत्वमा २२ जना गरिब महिला–पुरुष काठमाडौंको मण्डलामा धर्ना दिइरहेका छन्।
चुरेको विनाश र नदीहरूको जथाभावी उत्खननले चुरे र तराईमा पानीको अभाव भएको उनीहरूको ठम्याइँ छ। पानी उनीहरूको मागमा नेपाल सरकारले कुनै सुनुवाइ गरेको छैन। यो देशको कस्तो विडम्बना हो। हाम्रो देशमा कोशी, कर्णाली, गण्डकीजस्ता हिमनदी र महाभारतबाट निस्केका वर्षैभरि पानी बग्ने नदीहरू छन्। हामी डिजल र पेट्रोल भारतबाट पाइपमार्फत ल्याएर आफ्नो आवश्यकता पूरा गर्छौं तर भएका नदीको पानी खानेपानीका लागि वितरण गर्न सकेका छैनौं। चुरे क्षेत्रमा परेको वर्षाको पानीलाई जलाशयहरूमा संकलन गरेर पनि चुरे र तराईमा खानेपानी एवं सिँचाइका लागि वितरण गर्ने एक सशक्त विकल्प हो।
तराईका राष्ट्रिय निकुञ्जहरूले पनि पानीको मूल सुकेको, परम्परागत र नयाँ निर्माण भएका पानीपोखरीहरूमा पानी सुकेर वन्यजन्तुहरूका लागि पानीको अभाव भएको जनाएको छ। पानीको अभावले पहाडबाट पनि कतिपय परिवार र समुदायहरू विस्थापित भई अन्यत्र बसाइँसराइ गरेका छन्। संसारमै पानी एक यस्तो वस्तु हो जसको कुनै विकल्प छैन। पानी बनाउन पनि सकिँदैन। तसर्थ, चुरे र तराईमा पानीको संरक्षण र व्यवस्थापनका लागि तपसिलका कार्यहरू गर्न सकिन्छ:
- चुरेको संरक्षण र व्यवस्थापनका लागि चुरे संरक्षण ऐन र नियमावली बनाउने। यसै ऐनअन्तर्गत राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति, कर्मचारीहरूको भर्ना, आर्थिक व्यवस्थापन, गुरुयोजना, गिट्टी ढुंगा आदि नदीजन्य पदार्थको व्यवस्थापन राख्ने।
- चुरे क्षेत्र तराई–मधेसका लागि पानीको जलाधार क्षेत्र रहेकाले चुरेको पारिस्थितिकीय प्रणाली नखल्बलिने गरी यसको संरक्षण र व्यवस्थापन गर्ने।
- चुरे र तराईलाई एक भू–परिधि मानी चुरे र तराईको अन्तरसम्बन्धको आधारमा नदी प्रणालीहरूको योजना बनाई
- व्यवस्थापन गर्ने।
- चुरे र भावर क्षेत्र जमिनमुनिको पानी वर्षाको पानी पुनर्भरण गर्ने भएकाले यस क्षेत्रमा धेरै संख्यामा साना–ठूला जलाशय निर्माण गरी वर्षाको पानी जम्मा गर्ने।