बारामा एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्स
सिमरा : फुटबल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित बाराको सिमरामा सोमबारदेखि ‘एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्स’ सुरु भएको छ। बारा जिल्ला फुटबल संघको आयोजना तथा जितपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा १२ दिने कोर्स सुरु भएको हो।
सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा सुरु भएको कोर्समा मधेस प्रदेशका २३ र बागमती प्रदेशका एक गरी २४ जना सहभागी छन्। उनीहरूलाई नेपालका लागि एसियाली फुटबल महासंघ (एएफसी) को टेक्निकल अफ एजुकेसन डिपार्टमेन्ट प्रमुख सञ्जित सिंह र एन्फाका प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रशिक्षण दिनेछन्।
सिंहको उपस्थितिमा सुरु भएको उक्त प्रशिक्षणलाई एएफसीले मान्यता दिएको छ। बारा जिल्ला फुटबल संघको अनुरोधपछि सिंहको पहलमा प्रशिक्षण कार्यक्रम तय भएको हो। पहिलो चरणमा सात र दोस्रो चरणमा पाँच गरी १२ दिनसम्म सञ्चालन हुने कोर्सपछि सहभागीले प्राविधिक र फिजिकल फिटनेसमा उत्तीर्ण गर्नुपर्नेछ।
उत्तीर्ण भएकाले मात्रै एएफसीबाट मान्यता प्राप्त सी वर्गको फुटबल प्रशिक्षकको लाइसेन्स पाउनेछन्। सिंहले मधेस प्रदेशमै पहिलो पटक सिमरामा कोर्स सुरु गरेका हुन्।