लोसपासँग सहकार्य गर्न जसपा नेपाल तयार, एमालेसहित अन्य दललाई यादवले कसरी हेरेका छन् ?
काठमाडौं : जनता समाजवादी पार्टी नेपालले एमालेले आफूलाई पहिचान, समानुपातिक समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्र र राष्ट्रिय/जातीय,वर्गीय, लैङ्गिक मुक्तिको विरूद्धमा उभ्याएको तर्क गरेको छ। एकता राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष उपेन्द्र यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमालेका प्रवृत्तिविरूद्धतीव्र वैचारिक तथा राजनीतिक संघर्ष गर्नुपर्ने उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ,‘आफूलाई पहिचान,समानुपातिक समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्र र राष्ट्रिय/जातीय, वर्गीय, लैङ्गिक मुक्तिको विरूद्धमा उभ्याएको छ। यस्तो प्रवृत्तिविरूद्ध हाम्रो पार्टीले तीव्र वैचारिक तथा राजनीतिक सङ्घर्ष गर्नुपर्दछ। कम्युनिस्ट समर्थक र तल्लो तहका इमान्दार कार्यकर्ता पंक्तिलाई प्रशिक्षित गर्दै समाजवादी लोकतन्त्र/समाजवादी लोकतन्त्रको मार्गचित्र र कार्यदिशाबारे प्रशिक्षित गर्दै धु्रवीकृत गर्ने प्रयास गर्नुपर्छ।’
राजनीतिक प्रतिवेदनमा सोभियत सङ्घको पतनपछि एमालेले‘जनताको बहुदलीय जनवाद’ मार्फत परम्परागत संसदीय प्रणालीको बाटो समातेको टिप्पणी छ। ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेपाल कम्युनिस्ट पार्टीको स्थापना साम्राज्यवाद विरूद्ध सङ् घर्ष, सामन्तवादको अन्त्य, जहानियाँ राणा शासनको अन्त्य, जनवादी गणतन्त्रको स्थापना सँगै जनवाद, समाजवाद हुँदै साम्यवादी लक्ष्य प्राप्तिको लागि सङ् घर्ष गर्ने उद्देश्यबाट भएको थियो। तर, सन् १९९० को दशकमा सोभियत सङ्घको पतनपछि एमालेले‘जनताको बहुदलीय जनवाद’ मार्फत परम्परागत संसदीय प्रणालीको बाटो समात्यो। ‘एकैसाथ संसदवादी’ र कम्युनिस्ट बन्ने अन्तरविरोधपूर्ण बाटोमा अग्र सर भएको छ’प्रतिवेदनमा भनिएको छ।
यादवले दार्शनिक, वैचारिक रूपमा अन्योलग्रस्त र नैतिक रूपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रूपमा मात्र लामो समय बलियो भइरहननसक्ने उल्लेख गरेका छन्। आउँदा केही वर्ष वा दशकभित्रकम्युनिस्ट पार्टीहरू भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख रहेको उनको टिप्पणी छ।
उनले भनेका छन्, ‘कम्युनिस्ट पार्टीका ठूल्ठूला नेताहरू भ्रष्टाचार, कमिसनतन्त्र तथा नैतिक पतनको घटनामा लज्जास्पद ढंगले उदाङ्गिदै छन्। आर्थिक क्षेत्रमा उदारवाद, नवउदारवादी, नीतिलाई नै निरन्तरता दिइरहेको छ। शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिस्ट नेतृत्वको सरकारमा पनि रोकिएको छैन। सम्पत्ति शुद्धिकरण आयोगलाई निष्क्रिय बनाउने तथा ठूला आयोजनाहरू बिना टेन्डर सिधै सम्झौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालो धन र कमिसनतन्त्रसँगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका छैन। निर्दलीय व्यवस्थाका पञ्चहरू भन्दा पनि तल्लोस्तरका क्रियाकलाप र चरित्रको प्रदर्श न नेपाली कम्युनिस्टहरूले गरिरहेका छन्। वर्तमान संविधान जारी गर्दा बखत कांग्रेससँग मिलेर मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, खस–आर्य, दलित, महिला, पिछडावर्ग आदि आन्दोलनलाई निर्मम रूपले दमन गर्ने, संसदीय शासकीय प्रणाली कायम राख्ने, पहिचान र सामथ्र्यका आधारमा राज्यपूनर्संरचना हुन नदिने नेकपा (एमाले)को प्रत्यक्ष संलग्नता रहेको छ, ‘कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणको नाममा नेकपा (एमाले) नेपाली कांग्रेस जस्तै औपचारिक– प्रतिनिधिमूलक संसदीय लोकतन्त्र/उदारवादी लोकतन्त्रको पक्षपाति बन्न पुगेको छ।’
राप्रपाले छर्ने भ्रमलाई चिर्न निरन्तर चनाखो हुनुपर्छ
अध्यक्ष यादवले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पुरातन सम्बर्द्धनवादी धारको प्रतिनिधि पार्टी भएको उल्लेख गरेका छन्। राप्रपाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षतालाई अन्त्य गरी वंशानुगत राजतन्त्रात्मक शासन प्रणलीको पुनस्थापना गर्न चाहेको प्रतिवेदनमा उल्लेख छ।
‘महेन्द्रीय राष्ट्रवाद’को पैरवी गर्न राप्रपा धारले बेलाबेलामा कांग्रेस–कम्युनिस्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने प्र यत्न गर्दछ र राजतन्त्र फर्किने हल्ला पनि गर्दछ। नेपाली जनताको लामो सङ्घर्ष र ठूलो बलिदानको मूल्यमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएका छन् जबकि त्यो फर्किने कुनै सम्भावना नै छैन। तथापि यो पार्टीले छर्ने आवश्यक भ्रमलाई चिर्न हाम्रो पार्टी निरन्तर चनाखो रहनुपर्दछ’ प्रतिवेदनमा भनिएको छ।
लोसपासँग सहकार्य गर्न सकिन्छ
यता लोकतान्त्रिक समाजवादी पार्टीसँग केही ऐजेण्डाहरू मिल्ने भएकाले सहकार्य गर्न जसपा तयार रहेको प्रतिवेदनमा उल्लेख छ। लोसपा नेपाल समावेशीता, राष्ट्रिय पहिचान र अधिकारकारको पक्षधर लोकतान्त्रिक पार्टी भएको यादवको ठहर छ। यादवले पेश गरेको प्रतिवेदनमा भनिएको छ‘लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समावेशीता, राष्ट्रिय पहिचान र अधिकारकारको पक्षधर लोकतान्त्रिक पार्टी हो। यो पार्टीसँग हाम्रा केही ऐजेण्डाहरू मिल्छन्। तर, यो पार्टी देश र जनताको हितमा आफ्नो निर्णय आफैँ लिन सक्दैन, अर्काको मुख ताक्ने गर्दछ। तर पनि यो पार्टीसँग सहकार्य गर्न सकिन्छ।’
राजनीतिक प्रतिवेदनमा यादवले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र लोसपाबारे छुट्टाछुट्टै विश्लेषण गरेपनि अन्य दलबारे सामुहिक टिप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ दलहरूले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गरेपनि विचार र एजेण्डामा स्पष्ट हुन नसकेको प्रतिवेदनमा उल्लेख छ। ‘कम्युनिस्ट घेराभित्रै नेकपा (एकीकृत समाजवादी), नेकपा (मसाल), नेकपा (विप्लव), नेमकिपा, माले आदि। यी दलहरू वा त शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त छन् वा त नेकपा (एमाले) कै उपग्रही विचार बोक्दछन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ दलहरूले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गर्दै छन्। यो सकारात्मक कुरा नै हो। तर, यी दलका विचार के हुन् ? र केकस्ता ऐजेण्डा बोक्ने हुन् त्यो प्रष्ट छैन। केही नयाँ गरौं भन्ने हुटहुटीले यी दल बनेका हुन सक्छन्। यिनीहरूलाई धैर्यतापूर्वक बुझ्ने, पर्खने गर्नुपर्दछ। यसका साथै गलतबाटोतर्फ न जाउन् भनेर वैचारीक सङ् घर्ष पनि जारी राख्नुपर्दछ’ राजनीतिक प्रतिवेदनमा भनिएको छ।