गर्मी बढेपछि कमलामाईका विद्यालय एक साता बन्द
सिन्धुली : अत्यधिक गर्मी बढेपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरू एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ।
गर्मी बढ्दा विद्यालयमा पठनपाठनमै समस्या देखिन थालेपछि नगरपालिकाले बिहीबारदेखि आगामी असार ५ गतेसम्म नगरका सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको हो।
कमलामाई नगरपालिकाकी कार्यबाहक नगर प्रमुख मन्जु देबकोटाका अनुसार नगरका मन्टेश्वरी, पूर्वप्राथमिक समेत सामुदायिक र संस्थागत विद्यालयहरू बिहीबारदेखि आगामी बुधबारसम्म बन्द गरिने छ।
हालः दिइएको गर्मी विदा आगामी वर्खे विदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्नहुन सबै विद्यालयमा जानकारी गराइएको छ। कमलामाई नगरपालिकामा ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयहरू रहेका छन्। उता जिल्लामा अत्यधिक गर्मी हुँदा दुधौली, मरिण, हरिहरपुरगढी र सुनकोशीगढतिर क्षेत्रका विद्यालयमा समेत पठनपाठनमा समस्या हुनेगरेको छ।
जिल्लामा ३७ देखि ३८ डिग्रीसम्म तापक्रम हुने गरेको छ। गर्मीका कारण मरिण गाउँपालिकाका कतिपय विद्यालयका बालबालिकाहरू बेहोस भएर ढल्ने समेत गरेको अभिभावकहरूले जनाएका छन्।