राष्ट्रिय गौरवका आयोजनाहरू द्रूत गतिले अघि बढेको छ : रक्षामन्त्री उप्रेती
काठमाडौं : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरू सन्तोषजनक रहेको बताएका छन्।
आफ्नो कार्यकालको सय दिनको अवधिमा भएका काम र भाबी योजना सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री उप्रेतीले द्रूतमार्गलगायत विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरू सन्तोषजनकरूपमा अघि बढेको बताए।
उनले वभिन्न आयोजनामा देखिएका समस्या समाधानका लागि सरकारले समयमा नै ऐन कानुन बनाउन नसकेका कारण केही समय ढिलाइ हुन गएको दाबी गरे।
अहिले सबै समस्याहरू समाधान भइसकेको भन्दै राष्ट्रिय गौरवका आयोजनाहरू द्रूत गतिले अघि बढेको उनले बताए । मन्त्री उप्रेतीले काठमाडौं-तराई द्रूतमार्ग आयोजनाको भौतिक प्रगति हालसम्म ३४ दशमलव ८२ प्रतिशत रहेको बताए।
त्यस्तै उनले कोशी करिडोरअन्तर्गत खाँदबारी किमाथाङ्का सडक आयोजनाअन्तर्गत कूल ८ दशमलव १० किलोमिटर नयाँ ट्र्याक सम्पन्न गरिएको, दार्जुला-टिङ्कर सडक आयोजनाअन्तर्गत कूल १२ दशमलव ७२ किलोमिटर नयाँ नयाँ ट्र्याक निर्माण सम्पन्न गरिएको पनि जानकारी दिए।
उनले मन्त्रालयको कार्यसम्पादनमा चूस्तता ल्याउन पहिलो पटक तयार गरिएको कार्यसम्पादन कार्यविधि कार्यान्वयनमा ल्याइएको, राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा परिमार्जनको क्रममा रहेको, सेनामा मानार्थ बढुवा र विशेष बढुवा सम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको बताए।