नुममा पानी परेको पर्यै, पूर्वी हावालाई पश्चिमीले रोक्यो
काठमाडौं : नेपालका सबैभन्दा धेरै पानी पर्ने ठाउँ हुन्– कास्कीको लुम्ले, संखुवासभाको नुम र सिन्धुपाल्चोक। तर, लुम्ले र सिन्धुपाल्चोकमा पानी परेको छैन, नुममा भने केही दिनयता लगातार निकै ठूलो वर्षा भइरहेको छ। संखुवासभाको मकालु गाउँपालिकाको नुम क्षेत्रमा एकैदिन २१७.८ मिलिलिटरसम्म पानी परिसकेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नुममा शुक्रबार १२३.९ मिलिमिटर (मिमि) वर्षा भएको छ। त्यसैगरी बिहीबार २१७.८ मिमि, बुधबार ११९.७ मिमि, मंगलबार १००.२ मिमि वर्षा भएको छ भने २८ जेठमा ५९ मिमि थियो। विभागको तथ्यांकअनुसार नुम स्टेसनले जेठ २३ गतेदेखि नै निरन्तर वर्षा भएको देखाउँछ।
विभागका मौसमविद् सुदर्शन हुमागाईं भन्छन्, ‘मुलुकमा सबैभन्दा धेरै पानी पर्ने ठाउँमा कास्कीको लुम्ले, संखुवासभाको नुम क्षेत्र र सिन्धुपाल्चोक रहेका छन्। हाल मनसुन सुरु भएपछि (२८ गतेपछि) अन्यत्र पानी नपरे पनि नुममा लगातार विपद् गराउने खालको पानी परिरहेको छ।’ ‘१०० मिमिभन्दा बढी वर्षा भएमा त्यसले विपद् ल्याउँछ भन्ने मान्यता छ। जबकि, नुम क्षेत्रमा एकैदिन २१७.८ मिमि वर्षा भएको छ। यो अति भारी वर्षा हो। यस्तो भारी वर्षाले पहाड र तराई जुनसुकै ठाउँमा बाढी, पहिरो, डुबानको समस्या थप्छ’ हुमागाईंले थपे ‘मनसुन सुरु भएपछि लगभग एक हजार मिमि वर्षा हुन लागिसक्यो। त्यो एकदमै धेरै वर्षा हो।’
हुमागार्इंका अनुसार पुराना रेकर्ड हेर्दा पनि नुम क्षेत्रमा सधैं भारी वर्षा हुने गरेको देखिन्छ। सन् १९९७ को जुन ११ मा एकैदिन ३८८.३ मिमि वर्षा मापन भएको थियो। त्यसैगरी २००१ अप्रिल २२ मा ३९४.५ मिमि वर्षा भएको देखिन्छ। जुन अत्यधिक धेरै वर्षा हो। हुन त मुलुकमा एकै दिन ५१६.२ मिमि नाघेको रेकर्ड छ। हेटौंडामा २०१७ को अगस्ट १६ मा ५१६.२ मिमि पानी परेको थियो। ४०० मिमिभन्दा धेरै वर्षा पटकपटक दोहोरिएको उनले बताए। तर नुमको हकमा भौगोलिक अवस्थाका कारण ३९४.५ अत्यन्त भारी हो। त्यहाँ सयौं घर विस्थापित भइसकेका छन् भने तीन जनाको मृत्यु भइसकेको छ।
मनसुनको बेलामा पूर्वबाट पश्चिमतिर जाँदा पानी पर्दै जान्छ। तर पूर्वबाट सर्दै जानुपर्ने हावालाई हाल पश्चिमी वायुले रोकेर राखेको छ। अगाडि बढ्न दिएको छैन। पश्चिमी वायु कमजोर र पूर्वी वायु बलियो भएमा मात्रै मनसुन फैलिएर पानी पार्छ। तर केही दिन त्यस्तो हुने देखिँदैन।
विभागले आगामी सोमबारसम्मै ‘लू’ लाग्ने जनाइसकेको छ। त्यसबाट पनि मनसुन केही समय निष्क्रिय हुने स्पष्ट छ। तर रामेछाप, दोलखासम्म बादल र पानी देखिएको छ। तर मनसुन भित्रिएको ठाउँ विशेषगरी कोशी प्रदेशमा मनसुन सक्रिय छ।
यो वर्ष विभागले निकालेको मौसम आउटलुकमा मुलुकका कुनै पनि क्षेत्रमा औसतभन्दा बढी वर्षा हुन्छ भन्ने छ। सबै ठाउँमा औसतभन्दा बढी वर्षा हुने सम्भावना भएकाले विपत् प्रतिकार्यमा तयारी अवस्थामा बस्न सुझाइसकेको छ। मधेस प्रदेश र बागमतीमा सरदरमात्रै वर्षा हुन्छ। झापा, मोरङ र
गण्डकीमा औसतभन्दा बढी हुने सम्भावना छ।
सधैं भारी वर्षा भइरहने नुमजस्ता क्षेत्रमा भने अन्यत्रभन्दा संवेदनशील भएर हेर्नुपर्ने हुन्छ। मकालु गाउँपालिका, नुम—५ का वडासचिव टंकबहादुर राई भन्छन्, ‘प्रत्येक दिन बाल्टीबाट पानी खन्याए जसरी वर्षा हुन्छ। खै अहिले नै यस्तो छ, पछि कस्तो हुने हो ? बाटोघाटो, पुल केही बाँकी छैनन् ?’ प्रायः पानी परिरहने र क्षतिमात्रै भइरहने भएकाले सम्बन्धित निकायहरूले बेलैमा यस्ता ठाउँ पहिचान गरेर पू्र्वतयारीका काम गर्नुपर्ने उनी बताउँछन्। कमजोर, भिरालो, पहाडी इलाका भएकाले बर्सेनि धनजनको क्षति हुँदै आएको उनले जनाए।
राईका अनुसार यस पटकको मनसुन सुरु भएपछि तीन जनाको मृत्यु भइसकेको छ। प्रायः पानी परिरहन्छ। गत वर्ष पनि पहिरोले नोक्सानी गरेको थियो। वडा नम्बर ३ र ५ को सिमानामा रहेको अरुण तेस्रो जलविद्युत् आयोजना पनि बगाएको थियो।
संखुवासभामा मनसुन सक्रिय र निरन्तर भए पनि ताप्लेजुङको फक्ताङलुङमा भने त्यति धेरै वर्षा नभएको विभागले जनाएको छ। तर त्यहाँ पहिरोको कारण एकै परिवारको चार जनाको मृत्यु भइसकेको छ। विभागको तथ्यांकअनुसार त्यहाँ बिहीबार ३६.७ मिमि र शुक्रबार १६ मिमिमात्रै वर्षा भएको देखाउँछ। विभागका मौसमविद्, हुमागाईंले पानी परेको ठाउँमा स्टेसन नभएर पनि वर्षा नदेखाएको हुन सक्ने बताए। उनका अनुसार ताप्लेजुङको उक्त क्षेत्रमा पहिला पनि धेरै पानी परेको तथ्यांकले देखाउँदैन।
फक्ताङलुङ गाउँपालिकाका सूचना अधिकारी जयप्रसाद रिजाल पनि उक्त क्षेत्रमा सामान्य वर्षा हुने गरेको बताउँछन्। ‘अरू बेला सामान्य वर्षा हुने ठाउँ भए पनि दुई रात धेरै पानी प¥यो। त्यसले दुई सय मिटर माथिबाट पहिरो खस्दा फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षका बुवा, कान्छीआमा र दुई बहिनीको मृत्यु भयो।’ बस्ती पातलो भएकाले थप क्षति हुन नपाएको उनी बताउँछन्। नजिकै अर्को ठाउँमा एउटा घरमा क्षति पुगेको र दुई जना घाइते भएका छन्। अन्य तीन, चार वटा घर जोखिममा रहेको उनले जनाए।
किन निष्क्रिय छ मनसुन ?
विभागका मौसमविद्, हुमागाईंका अनुसार वर्षभरि हावा पश्चिमबाट पूर्वतिर बहने हुन्छ। तर मनसुनको सिजनमा (पश्चिमी वायुलाई रोकेर) पूर्वबाट पश्चिमतिर हावा बहनु पर्छ।