आङ थार्के अर्थात् महान् नेपाली

आङ थार्के अर्थात् महान् नेपाली

हिमाल दुनियाँमा अंग्रेजी वर्षको ‘मे’ महिना सगरमाथा सिजन हो। सन् १९५३ मे २९ (२०१० जेठ १६) मा सगरमाथा आरोहण भएकाले ‘मे’ ले सगरमाथा सिजन बोक्छ। जब ‘जुन’ लाग्छ, तब सुरु हुन्छ अन्नपूर्ण सिजन। जसरी विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोहणले विश्व हल्लायो र त्यसको पराकम्पन अहिलेसम्म छ।

ठीक त्यसैगरी त्यसको तीन वर्षअगाडि सन् १९५० जुन ३ (२००७ जेठ २१) अन्नपूर्ण आरोहणको खबरले दुनियाँ हल्लाएको थियो। त्यो आरोहण आठ हजार मिटर माथिको विश्वका १४ हिमालमा मानव पाइला भएको प्रथम आरोहण थियो। त्यो फ्रान्सेली आरोहण दलको शेर्पा सरदार थिए, नेपाली महान् आरोही आङ थार्के। यो पुस्तक समीक्षा त्यही थार्केको जीवनीको हो।

फ्रान्सेली आरोहण दलका नेता मौरिस हर्जोग र आरोही लुइस लाचेनल ८,०९१ मिटर अग्लो हिमाल चढेको कहानी विश्वभर समाचारमा मात्रै लोकप्रिय रहेन, आरोहण कहानी लेखिएका पुस्तक पनि लोकप्रिय रह्यो। आरोहण दलका प्रमुख आरोही मौरिस हर्जोगले सन् १९५१ मा प्रकाशन गरेको पुस्तक ‘अन्नपूर्ण’ अत्यन्तै लोकप्रिय भयो। सन् २००० सम्ममा १ करोड १० लाखप्रति बिक्री भएको न्युयोर्क टाइम्सले लेखेको छ। फ्रान्स सरकारको स्वामित्व भएको फ्रान्स २४ डटकम पोर्टलले अन्नपूर्ण पुस्तक विभिन्न ४० भाषामा अनुवाद भएको लेखेको छ। नेसनल जियोग्राफिक म्यागाजिनले १०० सदाबहार साहसिक पुस्तकले सूचीमा समेत अन्नपूर्णलाई समावेश गरेको छ।

सधैं लो–प्रोफाइलमा रहन चाहने उन थार्केले चुचुरोमुनिको पाँचौं शिविरमा रहँदा चुचुरोमा पुगेर विश्व रेकर्ड बनाउन हर्जोगले गरेको प्रस्ताव अस्वीकार गरे। आफ्नै अगाडिको इतिहास बनाउन उनले लोभ गरेनन्। सन् १९५३ अप्रिल २ मा फ्रान्सको राजधानी पेरिसमा प्रदर्शन तय भएको ‘भिक्ट्री अन अन्नपूर्ण’मा उनलाई श्रीमतीसहित बोलाइएको थियो। आङ थार्केले आयोजकको धेरै पैसा खर्च हुन्छ भनेर एक्लै जाने भने। उनलाई फ्रान्स सरकारले ‘फ्रेन्च लेजियन अफ अनर’ जस्तो उच्चस्तरीय सम्मान दियो।

थार्केको आत्मकथा सबैभन्दा पहिलोपटक फ्रेन्च भाषामा सन् १९५४ मा प्रकाशन भएको थियो। बासिल पि. नोर्टोनले भारतको पश्चिम बंगालका मोहनलाल मुखर्जीले आङ थार्केले नेपालीमा सुनाएका कथालाई भेरिफाई गर्दै पुस्तक छपाएका थिए। पुस्तक छाप्ने कुरामा समेत आङ थार्केले त्याग गरेका थिए। लेखक नोर्टोनले सहलेखकको थार्के आफैंलाई बस्न गरेको आग्रह उनले अस्वीकार गरेका थिए। रोचक कुरा थार्केले नेपालीमा सुनाएको कथा नोट–टेकर मुखर्जीले अंग्रेजीमा उल्था गरे। त्यो अंग्रेजीको उल्थालाई नोर्टोनले फ्रेन्च भाषामा गरे। अर्थात्, पुस्तक तयार हुनु अगाडि नै नेपाली, अंग्रेजी र फ्रेन्च तीन भाषामा चक्कर लाएको पुस्तक हो, ‘शेर्पा ः दि मिमोएर अफ आङ थार्के’। 

अंग्रेजीमा मस्यौदा तयार भएको पुस्तकले अंग्रेजी आकार लिन ६२ वर्ष पर्खनु पर्यो‍। सन् २०१६ मा अमेरिकाको माउन्टेनियर्स बुक्सले ‘लिजेन्ड एन्ड लोर’ शृंखलाअन्तर्गत यो पुस्तक प्रकाशन गरेको छ। पुस्तकलाई अझ पारिवारिक स्पर्श दिनलाई थार्केका भतिजा टासी शेर्पाले भूमिका लेखेका छन् भने थार्केपुत्र दावा शेर्पाले मन्तव्य दिएका छन्। तीन अध्यायनको १७ पाठमा पुस्तकलाई बाँडिएको छ। पहिलो अध्यायमा बाल्यकाल र प्रथम हिमाली आरोहण कथा छन्। प्रथम अध्यायमा ५ पाठ छन्। दोस्रो अध्यायमा उनले आरोहण गरेका विभिन्न हिमाल आरोहणको ५ पाठ छन्। तेस्रोमा अन्नपूर्ण आरोहणदेखि पेरिस यात्रासम्ममा ७ पाठ छन्।

तत्कालीन ओखलढुंगा जिल्लाअन्तर्गत पर्ने सोलुखुम्बुको खुम्बु क्षेत्रको खुुन्देमा जन्मिएका थार्के सन् १९०७ मा जन्मिएका थिए। तिब्बती पात्रोअनुसार ता–लाक–ते अर्थात् बाँदर वर्षमा जन्मिएका थिए। बाँदर वर्षमा जन्मिएका उनले बाँदरले जस्तै दक्षताले हिमाल चढे, चढाए। उनको हिमाल प्रेम आफ्नै गाउँले दाइ निम थार्केले जगाएका थिए। बेलायती आरोही जनरल ब्रुसको सगरमाथाको आरोहण दलमा काम गरिसकेका उनले हिमाली कथा सुनाएपछि थार्के आकर्षित भए। यो सन् १९३१ को सुरु हुन लाग्दाको कुरा हो।

निम थार्केले सुनाएका कथाले कहिले दार्जिलिङ पुगौं र त्यहाँबाट हुने हिमाली आरोहण दलमा अन्तर्वार्ता दिएर पास हुने भन्ने ध्याउन्नमा थिए थोर्के। दार्जिलिङको निर्माणाधीन भिक्टोरिया अस्पतालको कामदार भएर काम गरे। सन् १९३१ मै उनले पाउल बाउरको ‘कञ्चनजंघा च्यालेन्च’ नामक आरोहण दलमा भरियाको रूपमा काम पाए। त्यहीबाट सुरु भएको उनको ऐतिहासिक हिमाल कथा।

पादटिप्पणी र प्रशस्त सन्दर्भ सामग्री समेटिएको पुस्तकमा आङ थार्के र तेन्जिङ नोर्गेको सम्पर्क र सम्बन्धका कुराहरू पनि छन। जस्तो, सन् १९३५ मा तिब्बततर्फबाट भएको इरिप सिप्टोनको सगरमाथा आरोहण दलमा शेर्पा सरदार थिए आङ थार्के। त्यो समूहका आठ शेर्पा र सात तिब्बती भरियाहरू थिए। त्यही भरियाको सूचीमा थिए तेन्जिङ नोर्गे। उनले त्यहीँबाट हिमाली करिअर सुरु गरेका थिए। 

त्यत्तिमात्रै हैन, त्यो आरोहण अगाडि दार्जिलिङको आङ थार्केको घरमै बस्थे तेन्जिङ भन्ने तथ्य पुस्तकको पादटिप्पण्ीमा समेटिएको छ। 

प्रथम सगरमाथा आरोही दुई जनामा तेन्जिङसँग इरिक सिप्टोनकै नेतृत्वमा तिब्बततर्फबाट भएको सन् १९३५ को सगरमाथा आरोहण दलमा भएका थार्केले अर्का आरोही एडमन्ड हिलारीसँगै आरोहण दलमा भएको समेत अनुभव बोकेका छन्। सन १९५१ मा नेपालतर्फबाट भएको इरिक सिप्टोनकै आरोहण दलका सरदार थिए थार्के र त्यही आरोहण दलका एक सदस्य थिए हिलारी। सन् १९५१ को आरोहण दलमा परेकै आधारमा सन् १९५३ मा हिलारी छनोट भएका थिए जहाँ उनले सफलता पाए।

थार्केको पुस्तकमा तत्कालीन नेपाली समाजको आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक पक्षसमेत पढ्न पाइन्छ। उनले संखुवासभाको तुम्लिङटारमा अरुण नदी पार गर्दा ६ आना तिरेको बताएका छन्। एक रुपैयाँमा १६ आना हुने भएकाले तत्कालीन अवस्थाको आर्थिक कारोबार अनुमान लाउन सकिन्छ। यस्तै उनले अन्नपूर्ण आरोहण दलको सरदार हुँदा दैनिक सात रुपैयाँ पारिश्रमिक लिएको बताएका छन्।

अन्नपूर्ण आरोहण सकिएर भरिया खोज्दै गाउँ पस्दा गाउँलेहरूले अपहरण गर्न आएको भन्दै भागेका कथादेखि सन् १९५१ मा सगरमाथा आरोहण गर्न जाँदा पासाङ ल्हामुको गाउँ सुर्केमा हैजाले असंख्या स्थानीय मरेर पुर्न लगेको दृश्य देखेको कथा सुनाएका छन्। तीन दिनमा खुम्बुबाट पैदलै दार्जिलिङ पुगेका चित्ताकर्षक कथादेखि आफूलाई दार्जिलिङ जान उनीको कोट दिएका साथी जिग्मे शेर्पा नांगा पर्वतमा मरेका दुःखद् कथाहरू पुस्तकमा छन्।

सन् १९३९ मे ३० मै ‘टाइगर’ ब्याच पाएका थार्केको पुस्तक हिमालय क्षेत्रमा भएका प्रथम चरणका आरोहण कथाहरूको इतिवृत्तान्त हो। सन् १९३१ को कञ्चनजंघा आरोहणदेखि सन् १९७८ को धौलागिरी आरोहणसम्मको झन्डै आधा शताब्दीको हिमाली करिअरमा थार्केले नेपाल, भारतदेखि पाकिस्तानसम्मका हिमालको आरोहण दलमा सहभागी भएको दुर्लभ इतिहास बोकेका छन्। तर, यिनै थार्केको नेपालमा भने त्यत्ति चर्चा हुन्न।

आजीवन नेपाली नागरिकताधारी थार्केको मरण पनि नेपालमै भएको थियो। २०३८ साउन १३ गते (सन् १९८१ जुलाई २८) काठमाडौंमै क्यान्सरले थलिएर शारीरिक रूपमा बिदा भए थार्के। अबको यक्ष छ, थार्केले नेपालीमा भनिएको कथा अंग्रेजी मस्यौदा हुँदै अनुदित भएर फ्रेन्च भाषामा छापियो। फ्रेन्चमा छापिएको ६२ वर्षपछि अंग्रेजीमा छापियो। अब नेपालमा भनिएको कथाको मूल भाषा नेपालीमा छापिन कत्ति कुर्नुपर्ने हो ?
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.