‘शीतल सर’को कमलरी कहर
‘डियर सिनियर ! म एउटा कमलरी थारूको कोखबाट जन्मेको धरती पुत्र हुँ। अनन्त श्रम पसिना र हजारौं हन्डर ठक्कर खाएर बाँचेको पात्र हुँ। कैयन दिन भोक, प्यास, निन्द्रा र आँसु बगाएर सुकाएको व्यक्ति हुँ। अब त बगाउने र सुकाउने जीवनमा केही पनि छैन। मेरा जीवनका जीवन्त भोगाइहरू तपाईंहरू माझ पस्किन पाउँदा आफूलाई गौरवान्वित महसुस गरिरहेको छु। के तपाईंहरू मेरो जीवन भोगाइको कथा सुन्न तयार हुनुहुन्छ ?’
मिजासिलो अनुहार परेका शीतल सरले एक हातमा डस्टर र अर्को हातमा बोर्ड मार्कर समातेर एक स्वरमा हामीसँग सहमति माग्नुभयो। हामीले ‘एस सर’ भनेर एक स्वर र तालीको गडगडाहटमा सहमति जनायौं। सरले एकहोरो आफ्नो जीवन भोगाइको नालीबेली पस्किन थाल्नुभयो। शीतल सरको घर बर्दियाको कमलरी थारू बस्तीमा पर्छ। एउटा कमलरी परिवारको दिनचर्या कति कठिन हुनेरहेछ भन्ने कुराको अनुभूति त्यो दिन प्रत्यक्ष सुन्न पाइयो। मन र भावनाहरू बग्रेल्ती बग्यो।
गरिबी र अशिक्षाको अभावले कमलरी बस्ती निकै कष्टकर जीवन व्यतीत गर्ने रहेछन्। नामको मात्र मनुष्य। पुस्तौंदेखिको निरन्तर दमन, शोषण र विभेदले थला परेका थारू कमलरीहरूको जीवनभन्दा राम्रो एउटा पशुले स्वतन्त्र जीवन बाँच्ने रहेछन्। मालिक, दास र नोकर प्रथाको समाजमा कमजोर वर्गमाथि बलिया वर्गले जस्तोसुकै जोरजुलम गरे पनि सहनुको विकल्प हुँदैन। किनभने जीवन नै उनीहरूमा निर्भर हुनेरहेछ।
थारू बस्तीमा शीतल सरको पारिवारिक संख्या ठूलो थियो। ठूलो परिवारमा खानामा स्वादको भन्दा ठूलो कुरा भोक मेटाउनु हुन्थ्यो। खुसीखुसी खानुपर्ने बाध्यता थियो। भुइँमै ‘होलसेल’ सुताइको कहर पनि त्यस्तै थियो। ठूलो परिवारमा हुने मनमुटाव, झैझगडा र कामको कलह उस्तै थियो। एउटाले काम पाउँदा त्यो काम नसकिएसम्म अर्को काम फेरिने कुरै थिएन। चाहे जेसुकै होस्, जोसुकै होस्, आफूले पाएको कामको जिम्मा हरहालतमा पूरा गर्नुपथ्र्यो। नभए हातमुख जोड्न प्रतिबन्ध नै लाग्थ्यो। यिनै अभाव र सकसबीच शीतल सरको आमाबाबु संयुक्त परिवारबाट छुट्टिन पुग्छन्।
शीतल सर भन्नुहुन्छ– ‘म १० वर्षको थिएँ। बुवाआमा छुट्टेपछि परिवारमा दुःखको दिन झन् थपियो।’ पुस्तौंदेखिको सुकुम्बासी परिवार। उनीहरूसँग पुख्र्यौली सम्पत्तिको नाममा रहेको एक कट्ठा ऐलानी जग्गा भागमा पर्छ। त्यही जग्गामा शीतल सरको बुवाआमाले एउटा फुसको घर ठड्याउँछन्। त्यही झुपडीमा उनीहरूको नयाँ पारिवारिक जीवनको सुरुवात हुन्छ। बासको व्यवस्था जसोतसो गरे पनि गाँस जोड्न समस्यामा पर्छन्। केही समय छरछिमेकहरूसँग सरसापटी र अैंचोपैंचोमै काम चलाउन बाध्य हुन्छन्। तर, कतिदिन चल्थ्यो यस्तो जीवन ? गाउँमा सरसापटी दिन पनि बन्द भयो। यतिसम्म कि बुवाआमाले चुलोको माटो र खडेरी खेतमा उप्केको माटोको पापड लुकाएर समेत खान बाध्य भयो।
भोक त हो। केही नपाउँदा माटो पनि मिठो हुने रहेछ। माटोले पनि श्वास बचाउने रहेछ।’
मलिन भावमा शीतल सरले भने। उनी तीतो यथार्थ पोख्छन्, ‘स्कुल पढ्न जाँदा बाँसको ढुंग्रोमा बनाएको माटोको मसी लुकेर कैयन दिन खाएँ।’ खडेरीको समय थियो। दुई वर्षको निरन्तर खडेरीले मालिकहरू स्वयं खडेरीमा फसेका थिए। काम भेट्नै मुस्किल थियो। बुवाआमा खाली खुट्टा जंगल गएर दाउरा ल्याउन थाल्यो। दिनमा दुई भारी दाउरा बेच्दा तीन/चार सय कमाउनु हुन्थ्यो। त्यही पैसाले खाने कुराको जोहो गर्नहुन्थ्यो। चामल र मकै मिसाएर भात पकाउनुहुन्थ्यो। खाली खुट्टा जंगल हिँड्दा पैताला प्याटप्याट फुटेको हुन्थ्यो। कति दिन खुट्टामा काँडा बिझ्दा जंगल पनि बन्द हुन्थ्यो। अलिकति निको हुनेबित्तिकै जंगल कुदी हाल्ने बानी थियो। खाली खुट्टाको जंगल यात्रा निकै कठिन थियो।
धेरै दिनपछि दुईजना मालिकको घरमा काम भेट्नु भयो। त्यो पनि बुवाआमाले पाउने खालको होइन। दुईजना छोराछोरीका लागि। त्यो घरमा ठूलो मान्छेको काम थिएन। घर आँगन हेर्ने र भैंसी बाख्रा चराउन बालबालिकाको खोजी थियो। शीतल सर र बहिनीलाई त्यो काममा राख्ने बुवाआमाले सल्लाह गरे। अरू कुनै विकल्प थिएन। दुवै जनालाई पढाउने सर्तमा उनीहरूलाई कमलरी राख्ने निधो गर्छन्। त्यतिबेला शीतल सर १२ र बहिनी १० वर्षका थिए। उनीहरू गाउँको सरकारी स्कुलमा पढ्न जान्थे। त्यही स्कुल र पढाइलाई निरन्तरता दिने भए। भोलिपल्ट बिहानै दुबै जनालाई मालिकको जिम्मा लगाउन बुवाआमा पुग्छन्। यसरी उनीहरूको बाल्यकालमै कमलरी जीवनको सुरुवात हुन्छ। कमलरी राखेबापत एकजना बराबर वर्षमा ४० केजी धान, एक जोर नयाँ लुगा र स्कुलको पढाइ खर्च पाउँछन्।
मालिकको आँगनमा पुगेपछि उनीहरूको शरीरमा च्यात्तिएको लुगा देखेर मालिकले फुकाल्न लगाउँछन्। घरभित्र रहेका पुराना लुगा झिकेर दिन्छन्। उनीहरू आफूलाई हुने लुगा छानेर लगाउँछन्। केही लुगाहरू बुवाआमाले पनि टिपेर पोको पारेर ल्याउँछन्। च्यातेको लुगा फालेर नयाँ लुगा लगाउन पाउँदा शीतल सर र बहिनी निकै खुसी हुन्छन्। शीतल सर भन्छन्– ‘बच्चाहरूमा खुसी कस्तो हुन्छ त्यो दिन महसुस गरें। पुरानो कपडा लगाउन पाउँदा पनि खुसीको सीमै थिएन। खुसीले गदगद थिएँ।’ जिन्दगी रहरले होइन, बाध्यताले पनि चल्ने रहेछ। कहिलेकाहीँ नयाँकोे ठाउँमा पुरानो पाउँदा पनि खुसीको सीमा नहुने रहेछ। ‘त्यो रात सपनामा पनि मालिकले दिएको नयाँ लुगाहरू लगाएको मात्र देखें’, उनले थपे।
सुरुमा केही दिन उनीहरूलाई रमाइलै लाग्छ। त्यसपछि बीचमा नराम्रो महसुस हुन्छ। बुवाआमाले कहिले नगरेको गाली, बेइज्जती र कुटपिटको सुरुवात हुन्छ। किनभने हामी सानै थियौं। सकेको काम त गर्ने हो। नसक्ने काम कसरी गर्न सकिन्थ्यो ? तर पनि बुवाआमालाई कहिले आफ्नो दुःख र मालिकको रुखो व्यवहार सुनाएनन्। सकेको गर्ने, नसकेको सहने बानीको विकास हुँदै गयो। चाडपर्वमा कहिलेकाहीँ भान्सामा मिठोमसिनो पाक्दा मालिक परिवारले पहिला खाने त्यसपछि उब्रेको खानुपर्दाको तीतो अनुभव शीतल सरसँग छ। उनी भन्छन्, ‘मिठोेमसिनो पकाउँदा उनीहरूले पहिला खान्थे। उब्रिँदा हामीले पाउँथ्यौ। नउब्रिँदा मन मारेर बस्नुको विकल्प थिएन। मनमा धेरै नमिठो कुराहरू खेल्थ्यो। बुवाआमाको याद आउँथ्यो।’
नजिकै घर भएकाले बेलाबेलामा घर जान पाइन्थ्यो। बुवाआमा पनि आइरहनु हुन्थ्यो। कहिलेकाहीँ बिरामी पर्दा बुवाआमा काम सघाउन आउनुहुन्थ्यो। दसंैतिहारमा घरजाँदा आमा भन्नुहुन्थ्यो, ‘तिमीहरू त साहुको घरमा मिठोेमसिनो खान पाउँछौं। मैले मिठोमसिनो दिन सक्दिनँ। हामीसँग त्यो हैसियत छैन। जे छ त्यही खाउ।’ यसोभन्दा मन भक्कानिएर आउँथ्यो। च्यातेको लुगा र चप्पल घरमा छाडेर आउँथे। बुवाआमाले सियो धागो र टुकीको आगोले टालेर राखिदिन्थे। वर्ष पुग्नबित्तिकै बुवाआमा बोरा बोकेर धान लिन आउनुहुन्थ्यो। खान घरमा नपुग्दा बीचबीचमा सापटी लिएर जानुहुन्थ्यो। लिनेबेला त्यो कटाएर पाउँथ्यौ।
दाजुबहिनीको काम र पढाइ राम्रै चल्दै गयो। दुवैजना एउटै कक्षामा भर्ना भएका थिए। दुवैजनाको उमेरले दुई वर्षको फरक थियो। कक्षा पाँचको फाइनल परीक्षा दिन्छन्। परीक्षाको रिजल्ट आउँदा बहिनी पास हुन्छिन् भने शीतल सर फेल। त्यो दिन बुवाले घरमा बोलाएर निकै गाली गरेको र कुटपिट गरेको सम्झना आज पनि सरसँग ताजै छ। बुवाको एउटै कुरा थियो, ‘तिमीभन्दा सानो बहिनीले मालिकको घरव्यवहार सबै गरेर पास भई। तर, तिमी किन फेल भयौं ? अब पढाइ छोडाउँछु।’ शीतल सरलाई त्यो दिन मात्र थाहा भयो बुवा आमाको गाली, रिस र चड्कन। काम र पढाइको मूल्यांकन कसरी गर्छन् भनेर। बहिनी पास गरेपछि उसको पढाइले निरन्तरता पायो। तर, शीतल सरको पढाइ तत्काललाई रोकियो।
शीतल सरले काम गर्ने मालिकको एकजना छिमेकी रहेछन्। उनी काठमाडौंमै बस्थे। दसंै तथा चाडपर्वमा उनी बेलाबेला घर आउने गर्थे। छिमेकीको नाताले चिनजान थियो। शीतल सरको काम र इमानदारीताप्रति उनी निकै प्रभावित थिए। काठमाडौं बस्ने त्यो विजयको छिमेकीले आफ्नो सानो बच्चा र घरको रेखदेख गर्ने मान्छे खोजेका रहेछन्। उनले शीतललाई लाने योजना बनाउँछन्। घर बिदामा आएको बेला शीतलसँग कुरा हुन्छ। शीतलले सहमति जनाउँछन्। भागेरै काठमाडौं जाने योजना बनाउँछन्। बुवाआमा र मालिकले जान दिँदैनन् भन्ने उनलाई थाहा थियो। त्यसैले भाग्नुको विकल्प थिएन।
दुवैजना गाउँमा रहेको पोखरीको डिलमा बसेर बेलुका भाग्ने तिथिमिति तय गर्छन्। विजय दुईदिन अगाडि हिँड्छन्। शीतललाई नाइटबस चढेर काठमाडौं बसपार्कमा चिनजानको सञ्जय पान पसलको सम्पर्क स्थान दिन्छन्। र, हातमा दुई सय बसभाडा थमाउँछन्। बाँसको ढुंग्रोमा जम्मा गरेर राखेको थप सय रुपैयाँ शीतलसँग थियो। त्यतिबेला काठमाडौंको बसभाडा दुई सय रुपैयाँ थियो। काठमाडौं नपुगेको र नाम मात्र सुनेको भरमा कसरी जाने भन्ने डर शीतलमा थियो। तर, जानुपर्छ भन्ने साहस र मनोबल पनि उत्तिकै थियो।
शीतल बेलुका मालिकको घर छाडेर बस स्टेसन पुग्छन्। उनीसँग शरीरमा लगाएको लुगा र तीन सय रुपैयाँबाहेक केही थिएन। काठमाडौं जाने बस चढ्छन्। तर, सिट पूरै प्याक हुन्छ। कन्ट्रक्टरले त चढायो तर बीच बाटोमा पुगेपछि उनीसँग दुई सय भाडाको ठाउँमा तीन सय लिन्छ। जाने भए जाउ न त ओर्लिहाल भनेपछि बाध्यता पैसा दिनुपर्छ। भएको ‘एक्स्ट्रा’ सय रुपैयाँ पनि सकिन्छ। मुढामै बसेर काठमाडौं पुग्छन्। पहिलोपटक काठमाडौं आउँदा मिठो र नमिठो दुबै अनुभव गर्छन्। उनले पाएको ठेगानाको पान पसल खोज्दै पुग्छन्। एकाबिहानै पसल बन्द देखेर उनी त्यही सडक पेटीमा बस्छन्।
साढे नौ बजे पसल खुल्छ। पसलेलाई आफू विजय सरको मान्छे भएको परिचय दिन्छ। त्यसपछि पान पसलेले आफ्नो लेनलाइनबाट विजयलाई फोन गरेर जानकारी दिन्छ। एक घण्टामा विजय सर मोटरसाइकलमा लिन आइपुग्छन्। नजिकै रहेको एउटा चिया पसलमा दुवैजना पुग्छन्। शीतल सर जीवनमा पहिलोपटक चिया खाएको सम्झिन्छन् ‘चिया कहिल्यै खाएको थिइनँ। मुखमा हाल्न बितिकै तातोले पोल्यो। अत्तालिएर हातमा रहेको सिसाको ग्लास भुइँमा खस्यो र फुट्यो। ओठमा घाउनै प¥यो।’ साहुले अर्को कप चिया दिन्छ। रातभरको भोक शीतलले धेरथोर मेटाउँछन्। फुटेको कपको थप दस रुपैयाँ पनि तिर्छन्। मोटरसाइकल पनि कहिल्यै चढेको थिएन। चढ्न खोज्दा लडे। त्यसपछि विजयको कम्मर समातेर आउँछन्।
विजयले सरासर साहुनीकै घर पु¥याउँछन्। किनभने घर मालिक र मालिकनी दुवैजना सरकारी जागिरे। अफिस जान ढिलो भइरहेको हुन्छ। शरीरमा मयालको कालो दाग र फोहोर लुगा देखेर एक जोर लुगा, लुगा धुने र नुहाउने साबुन, केही खाने कुरा र बाहिरी गेटको साँचो दिएर उनीहरू हिँड्छन्। त्यहाँ पनि घरको रेखदेख गर्ने, सरसफाइ गर्ने, खाना पकाउने र बच्चाको स्याहारसुसार गर्ने दैनिकी बन्यो शीतलको। केही दिनपछि शीतललाई पनि साहुनीले नजिकै रहेको सरकारी स्कुल बानेश्वरमा कक्षा ८ मा भर्ना गर्छन्। साहुनीको बच्चालाई लिन स्कुल बस आउँथ्यो। उनी भने आधा घण्टा हिँडेरै स्कुल पुग्थे। स्कुलबाट आउँदा भोकले प्याकप्याक भइसकेको हुन्थे।
साहुको छोराले टिफिन पाउँथे, उनले पाउँदैन्थ्यो। स्कुलमा साथीहरूको मुख ताकेरै बस्नुपर्ने बाध्यता थियो। साहुसाहुनीहरूले खाएर छरपस्ट पारेर छोडेर हिँडेको भाँडाकँडा बटुलेर सफा गर्दै र खाना पकाउँदासम्म शीतलको आधी भोक मरिसकेको हुन्थ्यो। कति दिन जोडले भोक लाग्दा पेट थिचेर बस्नुको विकल्प थिएन। ताजा खाना आफैंले पकाएर खाए मात्र हो नभए चिसो र बासी खानामै चित्त बुझाउनुपथ्र्यो। कतिदिन खाना खाँदाखाँदै मुछेको भातमा आँसु चुहिन्थ्यो। सबै सहनु र बेहोर्नुको विकल्प थिएन। साहुनीलाई मन परेको पकाएर खान्थे, सकाउँथे। आफ्नो भागमा जुठो भाडा मात्र पथ्र्यो।
सरकारी जागिर र सहरिया जीवन। उनीहरू ढिलो उठ्ने र ढिलो सुत्ने बानीका हुन्छन्। यसबाट शीतल आजित थियो। घरबाट भागेर आउँदा कसैले खोजबिनसम्म गरेनन्। हुलाकमार्फत पटकपटक चिठी पठाएको जवाफ नआउँदा उनी शौचालयमा गएर रुन्थे। किनभने घरमा कसैलाई चिठी पढ्न र लेख्न आउँदैन्थ्यो। यतिसम्म कि उनी काठमाडौं पुगेको एकहप्तामै बाजेको मृत्यु भएको खबरसमेत पाउँदैनन्।
पाँच वर्षपछि शीतलले १९ वर्षको उमेरमा एसएलसी पास गर्छन्। त्यसैबेला सेनामा नयाँ भर्ना खुलेको हुन्छ। साहुनीले शीतललाई जागिर लाउने प्रयास गर्छन्। यसका लागि नागरिकता चाहिने भयो। नागरिकताका लागि उनी घर आउँछन्। नागरिकता बनाइदिन बुवाआमालाई आग्रह गर्छन्। बुवाआमाले नागरिकता बनाउन तयार हुँदैन। किनभने देशमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेको हुन्छ। नागरिकता बनाउन अस्वीकार गरेपछि उनी फेरि काठमाडौं फर्किन्छन्। साहुनीलाई सबै कुरा बताउँछन्। त्यसपछि साहुनीले पियनको जागिर लाइदिन्छन् भनेर फेरि पठाउँछन्। त्यसपछि बल बुवाआमाले नागरिकता बनाइदिन्छन्।
भर्नाको अन्तिम म्यादमा गएर फारम भर्छन्। पास पनि हुन्छन्। शीतल जागिरे पनि हुन्छन्। माओवादी द्वन्द्वको समयमा सेनाको जागिर खान निकै कठिन हुन्छन्। कतिपटक मरेर बाँच्छन्, त्यसको गन्ती नै हुँदैनन्। दुई वर्षपछि एक लाख रुपैयाँ लिएर उनी घर बिदामा आउँछन्। बुवाआमालाई त्यो पैसा हातमा थमाउँछन्। अब परिवारको जीवन फेरिने भयो भनेर उनीहरू निकै खुसी हुन्छन्। शीतल भन्छन्, ‘वर्षामा घरबाट पानी चुहिँदा भाडा थापेर रातभर जागेर बस्नुपथ्र्यो। त्यो घरको छानो फेर्न पाउँदा निकै खुसी भएँ। बुवाआमाको उपचार र खानाखर्चको ऋण तिर्न पाउँदा उनीहरू पनि खुसी भए।’
मुलुक शान्तिप्रक्रियामा प्रवेश गरेपछि कमलरी बसेकै घरको छोरीसँग उनी २०६५ सालमा सामाजिक परम्पराअनुसार बिहे गर्छन्। अहिले एक छोरा एक छोरी छन्। जागिरको १८ वर्षपछि शीतल थारू सरकारी जागिरबाट अवकाश प्राप्त गर्छन्। नेपालको जागिर भनेको ‘रिटायर्ड लाइफ’ भन्ने तर झरिटायर्ड भएपछि पनि बुढेसकालसम्म हातमुख जोड्न रोजगार खोज्नैपर्ने बाध्यता छ। त्यसैले उनी झरिटायर्ड त भए तर दैनिकीको जोहो गर्न उनी ‘सेक्युरिटी गार्डमा’ विदेश जान पासपोर्ट लाउन बाध्य हुन्छन्।
भिसा आउनु अगाडि उनले साथीसंगतमा सेक्युरिटी गार्डको काम गर्न छिमेकी भारतको झारखण्डको हजारीबाग पुग्छन्। कामकै सिलसिलामा त्यहाँ एउटा कम्पनीसँग संगत हुन्छ। त्यसपछि उनी सेक्युरिटी गार्डको काम छोडेर त्यो कम्पनीमा प्रवेश गर्छन्। त्यहाँको राम्रो कमाइले हजारौंको कमलरीको बस्तीमा उसको पारिवारिक जीवन फेरिएको छ र उनले टाढाको खाडी मुलुक जाने सपना त्याग्छन्। अहिले कम्पनीमा उनी प्रशिक्षकको रूपमा काम गरिरहेका छन्। दिनमा हजारौंलाई प्रशिक्षण दिन्छन्। ‘जागिरभन्दा बिजनेसले मानिसको जीवन फेरिने रहेछ’ शीतल सर भन्छन्।
यतिबेला उनी साँच्चिकैको ‘शीतल सर’ भएका छन्। एक हातमा डस्टर अर्को हातमा बोर्ड मार्कर बोकेर एकाबिहानै क्लास पुग्छन्। आजकल उनलाई सबैले ‘शीतल सर’ भनेर सम्बोधन गर्छन्। कमलरी जीवनको हूलभित्र शीतल सरको जीवन भोगाइ एक दृष्टान्त मात्र हो। कमलरी बस्तीमा यस प्रकारको सफलता र असफलताको अनेकन दृष्टान्तहरू छन्। सरकारले पनि कमलरी प्रथा अन्त्यको घोषणा गरेपछि दासताको जीवन बिताएका हजारौं कमलरी मुक्त हुने दिशामा छन्।