नाटकमय बन्दै विराटनगरको गुरुकुल

नाटकमय बन्दै विराटनगरको गुरुकुल

विराटनगर : विराटनगरको हाटखोलास्थित सुशीला कोइराला नाट्य घर, आरोहण गुरुकुल आज (शनिबार)देखि पाँच दिनसम्म नाटकमय बन्दै छ। 

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग र विराटनगर महानगरपालिकाको सहयोगमा असार ५ गतेसम्म ‘आरोहण नाटक महोत्सव’ आयोजना हुँदै छ। 

कोशी प्रदेशका विभिन्न ६ वटा समूहले नाटक मञ्चन गर्ने महोत्सवको उद्घाटन दिउँसो ४ बजेतिर गरिने छ। दैनिक मञ्चन गरिने विभिन्न नाटकमार्फत कलाकारहरुले रंगमञ्चलाई रंगिन बनाउने अपेक्षा गरिएको छ। 

महोत्सवको पहिलो दिन आयोजक आरोहण समूहको नाटक ‘चौथो अध्याय’ मञ्चन हुने छ। रविन चिमरिया र दीक्षा चौधरीद्वारा निर्देशित ‘चौथो अध्याय’ यसअघि जेठ २५ देखि ३२ गतेसम्म गुरुकुलमै प्रदर्शन गरिएको थियो। मृत्युनजिक पुगेर त्यसलाई जित्दै परिवर्तनका लागि संघर्ष गरेर पनि महिलाले जिउन सक्छन् भन्ने सन्देश दिने यो जीवनको विरोधाभाषपूर्ण संघर्ष बोकेको नाटक हो। 

भरत कार्कीको परिकल्पनामा बनेको नाटकमा एउटी महिलाले सामाजिक रुपमा भोग्नुपर्ने मानसिक तथा शारीरिक पीडालाई प्रायोगिक एवं काव्यिक हिसाबले देखाउन खोजिएको छ। नाटकका संकलक तथा संयोजक दिपेश भण्डारी अनेक विभेदको पेरिफेरिबाट माथि उठ्दै समाज परिवर्तनका लागि संघर्ष गरेर पनि महिलाहरु बाँच्न सक्छन् भन्ने सन्देश नाटकमार्फत दिन खोजिएको बताउँछन्। 

उनका अनुसार नाटककार विजय मल्लद्वारा लिखित मनोसामाजिक नाटक जिउँदो लास, नाट्यकर्मी सारा केनको अद्भुत जीवनी, नाट्य अभ्यास, उनका कालजयी सिर्जनाहरु, अन्तिम नाटक ४.४८ साइकोसिस, धर्मशास्त्र, दर्शन, जीवनकालमा मानिसका विचारहरुको द्वन्द्व र सामाजिक रूपमा महिलाहरूलाई प्रदान गरिने द्वन्द्वात्मक अधिकारलगायत जीवनको उत्तरार्धमा देखापर्नसक्ने मनोसामाजिक अवस्था नाटकको मूल विषयवस्तु हुन्। महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, चाल्र्स बुकोवस्की र विप्लव प्रतीकका कवितालाई समेत यसमा प्रयोग गरिएको भण्डारीको भनाइ छ। 

महोत्सवको दोस्रो दिन अर्थात असार २ गते कदम थिएटर समूहको ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन हुने छ। जीवन बरालद्वारा निर्देशित यो नाटकले दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन आसामको लिखापानीतिर आफ्नो थातथलो छोडेर भाग्ने क्रमको नेपाली मूलकाहरूको जीवन भोगाइ यात्रालाई समेटेको छ।

यो नाटक इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’मा आधारित रहेको बरालले बताए। उनका अनुसार सेवामा कार्यरत अत्तोपत्तो नभएको छोराको चिन्ता नलिइकन बर्माबाट युद्धको सन्त्रास, प्रेम र करुणाका बीच सुबेदारकी छोरी जयमाया यात्राका सबै सहकर्मी गुमाउँदै कसरी लिखापानी आइपुग्छिन् भन्ने वृत्तान्त नाटकमा छ। ‘शासकको डरले बर्मा, भुटानबाट नेपालीभाषी लखेटिएको बाध्यता मात्र होइन, आजको परिस्थितिलाई पनि नाटकले समेटेको छ,’ बराल भन्छन्, ‘असीमित आवश्यकता पूरा गर्न बुढेसकालका बुबाआमा छाडेर बाध्यताको पोको बोकेर रुँदै विदेशिने नेपालीको कथासमेत यसमा छ।’

महोत्सवमा असार ३ गते एकैदिन दुईवटा नाटक मञ्चन हुने छन्। हामी सक्छौं समूहको ‘स्कुल’ र पिस नेपाल समूहको ‘हेत्छाकुप्पा’ नामक नाटक प्रदर्शन गरिने छ। ‘स्कुल’ विकाश बुढाथोकी र ‘हेत्छाकुप्पा’ सुमन कुइँकेलद्वारा निर्देशित नाटक हो। 

निर्देशक बुढाथोकीका अनुसार ‘स्कुल’ वर्तमान नेपालको शिक्षा प्रणालीबारे कलात्मक रूपमा सकारात्मक व्यंग्यसहित तयार पारिएको नाटक हो। समय सान्दर्भिक पाठ्यक्रम तथा मनोवैज्ञानिक रुपमा बच्चाहरूको सोच अनुरुप विषयवस्तुको अभावले गर्दा बालबच्चाको वृत्तिविकास तथा मानसिकतामा पार्ने असरहरूलाई नाटकमा समेटिएको उनले बताए। ‘बाल मनोविज्ञानमा आधारित ‘स्कुल’मार्फत हाम्रो मौलिकतामा विविधता खोज्दै संस्कृति, साहित्य तथा प्राविधिक शिक्षामा जोड दिई शिक्षा प्रणालीको विकास गर्दा जीवन सहज र शिक्षा प्रणाली उपयोगी हुने कुरा देखाउन खोजिएको छ,’ बुढाथोकी भन्छन्, ‘यस नाटकले नाट्यकर्मसँग सामाजिक आयामहरूलाई जोड्ने प्रयत्न गरेको छ।’ 

निर्देशक कुइँकेलका अनुसार किरात संस्कृतिको उत्कृष्ट प्रस्तुति ‘हेत्छाकुप्पा’ नाटकले पौराणिक हेत्छाकुप्पाको कथालाई पुनःताजगी गर्दछ। नाटकमा दुई दिदीहरू तायामा र खियामाले मरेको भनी छोडेका भाइ हेत्छाकुप्पाले महिला राक्षस चक्रङ्गदिमाको पासोबाट बाँच्न र समृद्धि हुन गरेका संघर्ष तथा सुन्दर रिवाखासँग विवाह गरी किराँत सभ्यता सुरुवात गरेको कथालाई समेटिएको उनको भनाइ छ। 

कुइँकेलका अनुसार प्रवीण पुमाको हेत्छाकुप्पा नाट्यकृति खम्बु मुन्दुममा आधारित यो नाटकमा किराँत सभ्यतासँगै जन्म, मृत्यु, तीनचुला, साकेला, रितको कथालाई सुक्ष्म रुपमा केलाउन खोजिएको छ। यसमा मानिसको विकास, परम्पराको विषयवस्तुहरू, पूर्वी पहाडको भौगोलिक र सांस्कृतिक विशिष्टतालाई समेटिएको उनको भनाइ छ। 

असार ४ गते गौरादह जेसीज तथा झोराहाट नाट्य समूहको ‘सुरुङ’ नामक नाटक मञ्चन गरिने छ। भरत गुरागाईं ‘बर्बरिक’द्वारा निर्देशित ‘सुरुङ’ समसामयिक नेपाली युवा समाजको दुःखान्त कथा समेटिएको नाटक हो। ‘लागूऔषधको डरलाग्दो सुरुङभित्र युवा तन्नेरीहरूको प्रवेशले निम्त्याउने अनेक दुष्परिणामलाई नाटकको कथाले सम्बोधन गरेको छ,’ बर्बरिक भन्छन्, ‘यो नाटक ऊर्जाशील युवा कलाकारहरूको मिहिनेतको निष्कर्ष हो।’ 

महोत्सवको अन्तिम दिन अर्थात असार ५ गते प्रज्वल पराजुलीद्वारा निर्देशित कलालय समूहको ‘शत्रु’ नामक नाटक प्रदर्शन हुने छ। पराजुलीका अनुसार प्रसिद्ध साहित्यकार तथा नेपालका पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको शक्तिशाली कथा ‘शत्रु’मा आधारित भएर नाटक तयार पारिएको हो। 

सामाजिक रुपमा आँखामै राख्दा पनि नबिझाउने उखान चरितार्थ गर्ने एउटा पात्रलाई सानो दुर्घटनाले कसरी उसको मनोविज्ञान बिथोल्छभन्ने कुरा नै नाटकको मुख्य विषयवस्तु रहेको उनले बताए। नकारात्मक तत्वहरू सकारात्मक तरंगहरुबाट ओतप्रोत भइ कसरी शत्रुताको विशाल राजमार्ग निर्माण गर्न तयार हुन्छन् भन्ने मानव मनोविज्ञानलाई नाटकमा वर्णन गरिएको पराजुलीको भनाइ छ।
 
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘आरोहण नाटक महोत्सव’ले सामाजिक जीवनमा भएका घटनाहरू, मानव जीवनका जीवन्त परिदृश्यहरू, ऐतिहासिक, सांस्कृतिक एवं सामाजिक पक्षलाई उजागर गर्दै समाजमा सकारात्मक उत्प्रेरणा र सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छन्। ‘कला इतिहासमा नाट्य विधा विश्वमै पुरानो, जीवन्त र सशक्त मानिन्छ। यसले समाज रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ,’ महोत्सव सफलताको शुभकामना दिँदै कार्कीले भने, ‘कोशी प्रदेश सरकार कलाका माध्यममार्फत नेपाली समाजमा रहेका कलाकारहरूको प्रतिभा उजागर गर्न र नाट्य विधालाई संरक्षण गर्न प्रतिबद्ध छ। सरकारले कलाको विकास र प्रवर्द्धनमा विगतदेखि नै भूमिका खेलिरहेको छ।’ महोत्सवमा हुने कलाकारहरुको महत्वपूर्ण जमघटले  कला–साहित्य तथा संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने उनको विश्वास छ। 

आरोहरण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीका अनुसार गुरुकुलमा विगतदेखि नै नियमित मञ्चन, महोत्सव र साहित्यिक गतिविधिहरू हुँदै आएका छन्। सबैको चासो र सहभागिताले विराटनगरमा फेरि कोशी प्रदेशस्तरीय नाटक महोत्सव आयोजना गरिएको उनको भनाइ छ। क्षेत्रीका अनुसार महोत्सवले फरक परिवेशमा संघर्षरत प्रादेशिक साहित्यिक तथा रंगमञ्चीय अभ्यास र प्रवृत्तिहरूलाई बुझ्नका साथै सामाजिक परिवेशअन्तर्गत सांस्कृतिक आदान–प्रदानमा लाभ पुर्‍याउने विश्वास लिइएको छ। 

महोत्सवमा नाट्य पेसासँग आबद्ध प्रदेशभित्रका नाट्य समूहहरू, कलाकार, लेखक, निर्देशक, साहित्यप्रेमी र नाट्य समूहबीच हुने परिचय एवं भेटघाटले सहयोग आदानप्रदानको ढोका खुल्ने उनको भनाइ छ। आरोहणको रंगमञ्चीय यात्रा विराटनगरबाटै सुरु भएको जानकारी क्षेत्रीले दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.