सौराहामा बिजुली छ, भोल्टेज छैन

सौराहामा बिजुली छ, भोल्टेज छैन

चितवन : पर्यटकीय गन्तव्य सौराहाका होटल तथा रेष्टुराँमा एसी, फ्रिज चल्दैन। होटलमा पर्यटक आउँदा सौराहाका पर्यटन व्यवसायी खुसी होइन, उल्टै चिन्तित हुन्छन्। विद्युत्को समस्याले होटल आएका पर्यटकको व्यवस्थापनमा हुने कठिनाइले उनीहरू तनावमा हुन्छन्। 

गर्मीमा सौराहा जाने पर्यटक चिसोमा बस्न पाउँदैनन्। विद्युतीय समस्याका कारण सौराहाको पर्यटन व्यवसाय नराम्रोसँग प्रभावित बनेको छ। भोल्टेज कम भएको कारण विद्युतीय साधन सञ्चालनमा कठिनाइ आएको छ। अहिलेको भोल्टेजले पंखासमेत चल्न गाह्रो छ। होटल पार्क ल्यान्डका सञ्चालक अञ्जनकुमार पाण्डे विद्युत्का कारण व्यवसायमा असर परेको बताए। 

गर्मीमा होटलमा आएका पर्यटकलाई दिने सेवा प्रभावित भएको छ। होटल व्यवसायी मारमा छन्। लो भोल्टेजले केही नचलेपछि जेनेरेटर चलाउनुपर्ने बाध्यता छ। जेनेरेटर चलाउँदा खर्च चार गणा बढी हुने गरेको छ। भोल्टेज कम हुँदा सौराहाका व्यवसायी मारमा परेका छन्। ‘आएका पर्यटक फर्कने बाध्यता छ’ जंगल सफारी लजका संचालक सुमन घिमिरेले भने, ‘विद्युतीय उपकरणले काम नगर्दा पर्यटकलाई सेवा दिन सकेका छैनौं।’

सौराहाको विद्युत् प्रसारण लाइनमा भोल्टेजको समस्या छ। दुई सयभन्दा माथि हुनुपर्नेमा १ सय ७० को हाराहारीमा भोल्टेज आउँछ। अहिले सौराहाका व्यवसायी होटल छोडेर प्राधिकरण धाउन थालेका छन्। क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले होटलको काम छोडेर विद्युत् प्राधिकरण धाउन थालेको बताए। ‘धेरै वर्षदेखि बिजुलीको समस्या खेप्दै आएका छौं। यो दुई महिनामा निकै सकसपूर्ण अवस्थामा सेवा दिएका छौं,’ ‘लो भोल्टेजले चार गुणाले आर्थिक भार बढेको छ। गर्मीमा विद्युत्का लागि ठूलो लडाइँमा छौं। पाहुना आउँदा सन्तुष्टि दिन जेनेरेटर चलाउनुको विकल्प छैन। लगातार बढ्दो अवस्थामा छ।’

धेरै वर्षदेखि बिजुलीको समस्या खेप्दै आएका छन्। करिब दुई वर्षभन्दा बढी समयदेखि यो समस्या देखिएको छ। यो समस्या पूर्वी चितवनका अधिकांश भागमा छ। नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रका प्रमुख राजेन्द्र चौधरीले भण्डाराको हर्दिमा बनेको सब स्टेसनबाट ३५ केभीको विद्युत् पर्सामा ल्याउने काम स्थानीयको अबरोधले रोकिएपछि लो भोल्टेजको समस्या नहटेको बताए। 

भण्डाराको हर्दिमा परियोजना तयार भएको हो। त्यहाँँबाट विद्युत् आपूर्तिको रुट तयार गरेर टेन्डर हुँदा काम गर्न नपाएको उनको भनाइ छ। ‘निराकरणका लागि टेण्डर भएर पनि काम गर्न पाएका छैनौं,’ उनले भने, ‘हर्दिबाट ३५ केभी पर्सा ल्याउन सके लो भोल्टेजको समाधान हुन्छ। हामी लागि परेका छौं। तर स्थानीयले संघर्ष समिति नै बनाएर अवरोध गरेका छन्।’

पर्सा र भण्डाराबाट आधा–आधा गरेर सौराहामा विद्युत् वितरण गरिएको छ। भरतपुरको आँपटारीमा रहेको ३३ केभीबाट पर्सा पुर्‍याँउदा २२ किलोमिटरको दूरीमा ३३ केभीबाट झरेर २८ केभी मात्रै आपूर्ति हुन्छ। हर्दिबाट पर्साको दूरी ८ किलोमिटर मात्रै भएको कारण घटेर पनि ३२ केभी आपूर्ति गर्न सकिन्छ। तर हर्दिदेखि पर्साका लागि गरिएको रुटमा स्थानीयले अवरोध गरेका छन्। यसैका कारण समाधान नभएको प्राधिकरणको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.