नाटकमय गुरुकुल
विराटनगर : विराटनगरको हाटखोलास्थित सुशीला कोइराला नाट्य घर, आरोहण गुरुकुल अबको केही दिन नाटकमय बन्दै छ।
गुरुकुलको आयोजना तथा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग र विराटनगर महानगरपालिकाको सहयोगमा शनिबारदेखि ‘आरोहण नाटक महोत्सव’ सुरु भएको हो। कोशी प्रदेशका विभिन्न ६ वटा समूहले नाटक मञ्चन गर्ने महोत्सव असार ५ गतेसम्म चल्ने छ। दैनिक मञ्चन गरिने विभिन्न नाटकमार्फत कलाकारहरूले रंगमञ्चलाई रंगिन बनाउने छन्।
महोत्सवको पहिलो दिन आयोजक आरोहण समूहको नाटक ‘चौथो अध्याय’ मञ्चन भएको छ। रविन चिमरिया र दीक्षा चौधरीद्वारा निर्देशित ‘चौथो अध्याय’ यसअघि जेठ २५ देखि ३२ गतेसम्म गुरुकुलमै प्रदर्शन गरिएको थियो। मृत्युनजिक पुगेर त्यसलाई जित्दै परिवर्तनका लागि संघर्ष गरेर पनि महिलाले जिउन सक्छन् भन्ने सन्देश दिने यो जीवनको विरोधाभाषपूर्ण संघर्ष बोकेको नाटक हो।
भरत कार्कीको परिकल्पनामा बनेको नाटकमा एउटी महिलाले सामाजिक रूपमा भोग्नुपर्ने मानसिक तथा शारीरिक पीडालाई प्रायोगिक एवं काव्यिक हिसाबले देखाउन खोजिएको छ। नाटकका संकलक तथा संयोजक दिपेश भण्डारी अनेक विभेदको पेरिफेरीबाट माथि उठ्दै समाज परिवर्तनका लागि संघर्ष गरेर पनि महिलाहरू बाँच्न सक्छन् भन्ने सन्देश नाटकमार्फत दिन खोजिएको बताउँछन्।
उनका अनुसार नाटककार विजय मल्लद्वारा लिखित मनोसामाजिक नाटक जिउँदो लास, नाट्यकर्मी सारा केनको अद्भुत जीवनी, नाट्य अभ्यास, उनका कालजयी सिर्जनाहरू, अन्तिम नाटक ४.४८ साइकोशिश, धर्मशास्त्र, दर्शन, जीवनकालमा मानिसका विचारहरूको द्वन्द्व र सामाजिक रूपमा महिलाहरूलाई प्रदान गरिने द्वन्द्वात्मक अधिकारलगायत जीवनको उत्तरार्धमा देखापर्नसक्ने मनोसामाजिक अवस्था नाटकको मूल विषयवस्तु हुन्। महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, चाल्र्स बुकोवस्की र विप्लव प्रतीकका कवितालाई समेत यसमा प्रयोग गरिएको भण्डारीको भनाइ छ।
महोत्सवको दोस्रो दिन असार २ गते कदम थिएटर समूहको ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन हुने छ। जीवन बरालद्वारा निर्देशित यो नाटकले दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन आशामको लिखापानीतिर आफ्नो थातथलो छोडेर भाग्ने क्रमको नेपाली मूलकाहरूको जीवन भोगाइ यात्रालाई समेटेको छ।
नाटक इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’मा आधारित रहेको बरालले बताए। उनका अनुसार सेवामा कार्यरत अत्तोपत्तो नभएको छोराको चिन्ता नलिइकन बर्माबाट युद्धको सन्त्रास, प्रेम र करुणाका बीच सुबेदारकी छोरी जयमाया यात्राका सबै सहकर्मी गुमाउँदै कसरी लिखापानी आइपुग्छिन् भन्ने वृत्तान्त नाटकमा छ। ‘शासकको डरले बर्मा, भुटानबाट नेपालीभाषी लखेटिएको बाध्यता मात्र होइन, आजको परिस्थितिलाई पनि नाटकले समेटेको छ,’ बराल भन्छन्, ‘असीमित आवश्यकता पुरा गर्न बुढेसकालका बुवाआमा छाडेर बाध्यताको पोको बोकेर रुँदै विदेसिने नेपालिको कथासमेत यसमा छ।’
महोत्सवमा असार ३ गते एकैदिन दुईवटा नाटक मञ्चन हुने छन्। हामी सक्छौं समूहको ‘स्कुल’ र पिस नेपाल समूहको ‘हेत्छाकुप्पा’ नामक नाटक प्रदर्शन गरिने छ। ‘स्कुल’ विकाश बुढाथोकी र ‘हेत्छाकुप्पा’ सुमन कुइँकेलद्वारा निर्देशित नाटक हो। निर्देशक बुढाथोकीका अनुसार ‘स्कुल’लाई वर्तमान नेपालको शिक्षा प्रणालीबारे कलात्मक रूपमा सकारात्मक व्यंग्यसहित तयार पारिएको छ।
समय सान्दर्भिक पाठ्यक्रम तथा मनोवैज्ञानिक रूपमा बच्चाको सोच अनुरूप विषयवस्तुको अभावले बालबच्चाको वृत्तिविकास र मानसिकतामा पार्ने असरलाई नाटकमा समेटिएको उनले बताए।