सामाजिक सञ्जाल : समाजको ऐना
विभिन्न मिडिया, व्यक्ति तथा संघसंस्थाद्वारा गरिने सामाजिक सञ्जालको अभ्यासले नागरिकलाई सही सूचनाबाट वञ्चित गराएको देखिन्छ।
अभिव्यक्ति विचार निकासको प्रमुख माध्यम हो। जुन मानिसका लागि अपरिहार्य छ। सामाजिक सञ्जालले सबैलाई खुल्ला अभिव्यक्तिको अवसर दिएको छ। यो महत्त्वपूर्ण उपलब्धि हो। जसमार्फत विश्वभरका मानिससँग जोडिएका छन्। जहाँ सम्पूर्ण समाज जोडिएर अनेक जानकारी आदानप्रदान गरिरहेका छन् अनि विभिन्न विषयमा बहस पनि। जसबाट मानिसले विश्वका विभिन्न ठाउँका हुने घटना–दुर्घटनाको जानकारी पाइरहेका छन्। सुख–दुःखका अनुभव सहज ढंगले साटिरहेका छन्। कसैले मद्दत मागिरहेका हुन्छन् भने कसैले सहयोग पनि गरिरहेका छन्।
सामाजिक सञ्जाल एक उत्कृष्ट आविष्कार साबित भएको छ। तर, महत्त्व र यसको दूरगामी प्रभाव नबुझेर सायद हामीले बेलाबखत यसको दुरुपयोग पनि गर्ने गरेका छौं। सञ्जालबाटै अनेक द्वन्द्व पनि निम्त्याइरहेका छौं। कतिको घरबार बिग्रेको छ। कोही आपराधिक क्रियाकलापमा धकेलिएका छन्। कति आत्मदाहसम्म पुगेका छन्। कोही रिसको आवेग थाम्न नसकेर गाली गर्न व्यस्त देखिन्छन्। त्यही गालीमा ताली मिसाउनेले रिसको आगोमा घिउ पनि थपिरहेका छन्। एकअर्काबीचको रिस पोख्ने ठाउँ पनि सामाजिक सञ्जाल नै बनेको छ।
सामाजिक सञ्जालका प्रतिक्रियाबाट सजिलै समाजको गुणस्तर मापन हुन्छ। एउटा ‘सकारात्मक’ तथ्य साझा भएको छ भने त्यसमा कसैको आँखा पुग्दैन अथवा वास्तै गर्दैनन्। तर, त्यही ठाउँमा कसैप्रति लक्षित ‘नकारात्मक’ सन्देश छ भने हामी प्रतिक्रिया दिइहाल्छौं। साथीलाई ‘लिंक’समेत पठाउन भ्याउँछौं। यतिमात्रै होइन, उसले हेरेन भने फोन गरेरै हेर्न लगाउँछौं। एकैदिनमा पटक–पटक उक्त पोस्ट खोलेर हेरिरहन्छौं। अनि अरूलाई गाली गरेको देखेर मनमनै गद्गद् हुन्छौं। रमाउँछौं। खिसिट्युरी गर्छौं। विभिन्न विकसित राष्ट्रमा पनि सामाजिक सञ्जालको व्यापक प्रयोग हुन्छ। त्यहाँका प्रयोगकर्ताले सही र सकारात्मक सूचनालाई मात्रै प्राथमिकता दिन्छन्। भ्रमपूर्ण सूचना, मानमर्दन गरिएका पोस्ट, हिंसा फैलाउने सामग्री आदिलाई वास्तै गर्दैनन्। कसैको जिज्ञासामा सही प्रतिक्रिया मात्रै दिन्छन्। यसले पनि समाजको गुणस्तर थाहा हुन्छ।
सत्यको खोजी गर्नेहरू भने आफैं मिडियाको दैलोमा पुग्छन्। समाचार सुन्छन्, हेर्छन् अनि देखेर फर्किन्छन्। कसैलाई प्यास लाग्यो भन्दैमा खोलो धाउँदैन, प्यासी आफैं जानुपर्छ। जब खोलो आफैं धाउन थाल्छ, तब तिर्खाएका मात्रै होइन अघाएकालाई पनि बगाएर सागरमा मिसाइदिन्छ। अस्तित्व नै स्वाहाः। त्यसैले सत्य–तथ्य सूचना प्रवाह गर्नेले सामाजिक सञ्जालको भर पर्नु हुँदैन। सामाजिक सञ्जाल समुद्रजस्तै हो। जहाँ स्वच्छ पानीलाई पनि फोहोर तत्त्वले नुनिलो बनाइदिन्छ। जसलाई पिउनुपर्ने हुन्छ ऊ समुद्र त्यागेर स्वच्छ पानीको खोजीमा भौतारिन्छ। जसरी पनि भेटाउँछ। अनि प्यास मेटिउन्जेल पिउँछ। अनुगृहित हुन्छ। त्यसैले सही सूचना समुद्रमा होइन, कञ्चन नदीमा तैरिन छोडिदिनु पर्छ। जहाँ प्यासीको प्यास मेटियोस्।
पानीलाई कसैले चिसो त कसैले तातो भन्लान्। कसैले खल्लो अनि कसैले के, कसैले के भन्लान्। तर, पानीले कसैलाई केही भन्दैन। आफ्नो धर्ममा अडिग रहन्छ। सबैप्रति समान व्यवहार गर्छ। त्यस्तै सही सूचना दिँदा अनेक अर्थ लगाउने आउँछन्। कोही खुसी होलान्, कोही रिसाउँलान्। कसैले घुक्र्याउँलान् त कसैले धम्क्याउँलान्। तर, पानी जस्तै निर्मल र अडिग रहन सक्नुपर्छ। आज रिसाउने भोलि आफैं पखालिनेछन्। स्वच्छताको मार्ग खोज्न बाध्य हुनेछन्। कुनै संस्था तथा व्यक्तिप्रति कोही कसैको मतभिन्नता रहन सक्छ। त्यो उनीहरूको व्यक्तिगत समस्या हो। तर, सामाजिक सञ्जालमा त्यस्ता प्रकरण ल्याइन्छन्। किनकि हामीलाई त्यस्तै ‘फन्डा’ चाहिएको छ। हामी त्यसैमा रमाउन चाहन्छौं। त्यसलाई फूलबुट्टा भरेर बिक्री गर्न हामी भरपुर सहयोग पनि गर्छौं। सञ्जालभरि फैलाउने अभियान नै थाल्छौं।
त्यसपछि सञ्जालका सदस्यलाई मज्जाको खुराक प्राप्त हुन्छ। के सही के गलत खुट्ट्याउन उनीहरूसँग समय हुँदैन। चाहँदैनन्। आफूलाई हरेक विषयमा उपल्लो स्तरको अब्बल ठान्छन्। सामाजिक सञ्जालका ‘अभियन्ता’ले सिकाएको आँखा चिम्लेर अनुसरण गर्छन्। त्यो भीडले एउटा सन्दर्भमा कसैले बोलेको विषयलाई अर्कै सन्दर्भमा लगेर व्याख्या गर्छन्। बोलीलाई सम्पादन गरेर अर्कै अर्थ लाग्ने गरी ‘मिम’को आवरणमा प्रहार गर्छन्। भिडलाई कुनै संस्था तथा व्यक्तिमाथि नकारात्मक समीक्षा गराउन उकास्छन्। आँखामा पट्टी बाँधेर बसेको त्यो भिड कुरै नबुझी उसको अनुसरण गर्न थाल्छ। यस्तो प्रवृत्तिले निश्चित व्यक्ति र समूहको मानमर्दन गर्न सामाजिक सञ्जाल हतियारका रूपमा दुरुपयोग भएको छ।
एकअर्काबीचमा कलह उत्पन्न गराउने, अमर्यादित गालीगलौज गर्ने, अशिष्ट रूप देखाउने, अश्लीलता प्रदर्शन गर्ने, बदनाम गर्न खोज्ने, धम्क्याउने, घुक्र्याउने, अनावश्यक टीकाटिप्पणी गर्ने, तथ्यहीन जानकारी दिएर भ्रम पार्नेजस्ता गलत क्रियाकलापले समाज कस्तो भुँमरीमा रुमलिइरहेको छ भन्ने प्रस्ट हुन्छ। यस्ता गलत अभ्यास बढ्दै जाँदा हाम्रो घर, समाज, राष्ट्र अनि पूरै विश्व नै असामाजिक हुने डर पैदा भएको छ। कसैको आत्मसम्मानमा ठेस पुग्ने खालका विषयहरू सार्वजनिक रूपमा आउनु, गोप्य रहनुपर्ने कतिपय कुरा छताछुल्ल हुनु भनेको समाज सही दिशामा हिँडिरहेको छैन भन्ने प्रमाण हो। समाजलाई सही बाटोमा डोर्याउने शिक्षा प्रणाली नभएको तथ्य हो। व्यावहारिक ज्ञानबिनाको शिक्षा प्रणाली नहुँदाको प्रभाव हो। परिणामतः यसले गम्भीर सामाजिक विचलनता उत्पन्न गर्न सक्छ।
सञ्जालसँगै विकसित हुँदै गएको अनियन्त्रित मिडिया तथा विभिन्न संघसंस्थाले गर्ने सामाजिक सञ्जालको अभ्यासले नागरिकलाई सही सूचनाबाट वञ्चित गराएको देखिन्छ। नियोजित तवरले भ्रमपूर्ण अभ्यासको माध्यमसमेत बनेका उदाहरणहरू देख्न सकिन्छ। विभिन्न स्वार्थ समूह तथा राजनीतिक दलले सञ्जाललाई गलत प्रचारप्रसारको माध्यमसमेत बनाएका छन्। यसले नागरिकमा गलत सूचना प्रवाहित भई समाज विकासमा नकारात्मक प्रभाव पारिरहेको पनि देखिन्छ।
यस्ता अभ्यासले सरकारसमेत विवादमा परेका घटना पनि छन्। भ्रम फैलाउन सामाजिक सञ्जालले निकै मलजल गरेको छ। नितान्त व्यक्तिगत अभिव्यक्ति दिने थलोका रूपमा परिचित सामाजिक सञ्जाल कतिपयका लागि पूर्वाग्रह साँध्ने ठाउँ बनेको छ। त्यसैले, सामाजिक सञ्जालबाट सदैव सकारात्मक कुराहरू सिक्नेतर्फ अभिप्रेरित होऔं।