इटाली नजिक दुई जहाज डुब्यो : ११ जनाको मृत्यु, ६० बढी बेपत्ता
दक्षिणी इटालीको तट नजिक दुईवटा जहाज दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन्। घटनास्थलमा उपस्थित उद्धार टोलीले यस्तो जानकारी दिएको हो।
जर्मन परोपकारी संस्था रेस्क्युशिपले सोमबार लाम्पेडुसा टापुमा डुब्नबाट ५१ जनालाई बचाएको बताएको छ। उनीहरूले काठको डुङ्गा पनि निकालेका थिए जसको तल्लो भागमा १० लाशहरू फेला पारे।
चिकित्सा राहत उपलब्ध गराउने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले अर्को यस्तै घटनामा ६० जनाभन्दा बढी बेपत्ता भएको जानकारी दिएको छ जसमध्ये २६ बालबालिका रहेको आशंका गरिएको छ।
यो डुङ्गा लिबिया र टर्कीका आप्रवासीहरू लिएर निस्किएको संयुक्त राष्ट्रसंघीय निकायहरूले बताएका छन्।
उद्धार जहाजका अनुसार लाम्पेडुसा नजिकै दुर्घटनामा परेका जहाजबाट उद्धार गरिएका मानिसहरूलाई इटालियन कोस्ट गार्डलाई हस्तान्तरण गरिएको छ र मृत्यु भएकाहरूलाई समुद्र तटमा पठाइएको छ।
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार सङ्गठन यूएनएचआरसी, आप्रवासनका लागि अन्तर्राष्ट्रिय संस्था र संयुक्त राष्ट्रसङ्घीय बाल निकाय युनिसेफले एक संयुक्त विज्ञप्तिमा 'लिबियाको तटबाट निस्किएको यो जहाजमा सिरिया, इजिप्ट, पाकिस्तान र बंगलादेशका मानिसहरू सवार थिए' भनेका छन्।
दुर्घटना भएको स्थान भूमध्यसागर संसारको सबैभन्दा खतरनाक मार्गमध्ये एक मानिन्छ।
संयुक्त राष्ट्रसङ्घको तथ्यांकअनुसार सन् २०१४ यता यस रुटमा २३ हजार ५०० व्यक्तिको मृत्यु वा बेपत्ता भएका छन्। बीबीसी