पश्चिम तराईमा पानीको सतह २ मिटर घट्यो

पश्चिम तराईमा पानीको सतह २ मिटर घट्यो

धनगढी : धनगढी उपमहानगरपालिका-१२ का धन बहादुर लामाको नल्का सुकेको दुई हप्ता भयो। उनी अहिले छिमेकीको नल्काको भर परेका छन्। ‘नल्का सुकेपछि न बारीमा लगाउन पानी लगाउन पाइएको छ, न छतको ट्यांकीमा नै’, लामाले भने। 

लामाको मात्रै होइन सोही ठाउँका हरि रिजाल, सीता तामाङ, त्रिलोक सिंह, अविनास कठायत, प्रेम नेपाली सहित टोलका अधिकांसको नल्का सुकेका छन्। ‘यसपालीको जस्तो खडेरी कहिल्यै देखिएन, हिउँदमा पनि पानी परेन, असारको आधा हुन लाग्यो, मनसुन कहिले आउने हो टुंगो छैन’, स्थानीय सञ्जु तामाङले भने।

धनगढी उपमहानगरका उत्तरबेहडी, तारानगर, हसनपुर र शिवनगर क्षेत्रका पनि अधिकांस बासिन्दाका हाते नल्का सुकेका छन्। नेपाल खानेपानी संस्थानले वितरण गरेको पानीमा पनि प्रेसर नपुगेपछि दुई/तीन तलासम्म चढ्ने पानी नचढेर अधिकांसका छतमा राखिएका ट्यांकीहरू रित्ता भएका छन्।

‘मेरो घरको तीन तलामा पानीको ट्यांकी छ, खानेपानी जोडेको ६ वर्ष भयो, अहिलेसम्म कहिल्यै पनि पानीको अभाव भएन, एक महिनादेखि खानेपानीको पाइपमा प्रेसर नै आउँदैन। भुईँ तलामा भाँडाहरूमा भरेर बाथरुम र भान्सामा पानी लाने गरेकी छु’, धनगढी ४ उत्तरबेहडीकी शान्ति पाण्डेले भनिन।

अहिले तराईका अधिकांस गाउँबस्ती र शहरमा पानीको अभाव देखिएको छ। सिँचाइका लागि गरिएका डिप ट्युबेलहरूमा पनि धेरैमा पानी आउन छाडेको छ भने आएकोमा पनि थोरै पानी आउन थालेको छ। नेपाल खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्र शाह भन्छन्, ‘धनगढीमा भूमिगत पानीको सतह २ मिटर घटेको छ, संस्थानकै आपूर्तिमा समस्या देखिन थालेको छ।’

धनगढीमा मात्रै नेपाल खानेपानी संस्थानका ९ हजार एक सय खानेपानीका उपभोक्ता छन्। संस्थानको अलावा शिवनगरमा रहेको शिवनगर बृहत् खानेपानीका पनि ५ हजार भन्दा बढी उपभोक्ता छन्।

खानेपानी संस्थानले दैनिक १४ लाख लिटर पानी वितरण गर्दै आएको छ। तर, गर्मी मौसम सुरु भएसँगै खानेपानीको माग बढेको तर भूमिगत पानीको सतह घटेपछि समस्या भइरहेको छ। 
संस्थानले हाल दैनिक १७ लाख लिटर खानेपानीको माग रहेको जनाएको छ। ‘उपभोक्ताका हाते पम्प (नल्का) पानीको सतह घटेपछि सुक्न थाले, घरभित्र र बाहिर बारीका लागि पनि संस्थानकै पानी प्रयोग हुनथाल्यो, त्यसले पनि पानीको अभाव भएको छ’, संस्थानका प्रमुख शाहले भने।

विद्यालयका नल्काहरू सुकेपछि उपमहानगरले ट्यांकरमा खानेपानी आपूर्ति गरिरहेको छ। विद्यालयको खानेपानीको नल्का सुकेछ, ७/८ सय विद्यार्थी यस्तो गर्मीमा पानी नखाएर कसरी बस्न सक्छन्, उपमहानगरमा खबर आयो, हामीले ट्यांकरमा पानी पठायौं’, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भने।

उनले भूमिगत जलको स्रोत घटिरहेको उपमहानगरले एकवर्ष अघि गराएको अध्ययनले पनि देखाएको बताए। ‘आर्टीजन बोरिङहरू गरेर खुला पानी छोडि दिने, वृक्षारोपण गरे पनि रोपिएका वृक्षहरूको संरक्षण नहुने, घर बनाउदा जमिनमुनि रिजार्ज हुने व्यवस्थापन नगर्नाले भूमिगत जलस्रोत घटिरहेको छ’ मेयर हमालले भने।

उपमहानगरले गतवर्ष देखि नै उपमहानगरभित्रका परम्परागत तालको अतिक्रमण हटाउने अभियान पनि चलाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.