जुनसुकै कालखण्डका भ्रष्टाचार फाइल खोल्छु भन्ने गृहमन्त्रीले सय दिनमा सरुवा आतंकमात्र मच्चाए : केसी

जुनसुकै कालखण्डका भ्रष्टाचार फाइल खोल्छु भन्ने गृहमन्त्रीले सय दिनमा सरुवा आतंकमात्र मच्चाए : केसी

काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन्। कांग्रेस नेताहरूको फाइल खोल्दिन्छु भन्दै धम्की दिने गृहमन्त्री लामिछानेलाई उनले ४१ हजार व्यक्तिमाथि छानबिन गरिएको लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

'न्यूनतम साझा संकल्पमा जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारबाही गर्ने भनिएको थियो। नयाँ पार्टी र गृहमन्त्रीकै प्रवेशले यस्तो कुरा आयो भनेर सोचेको थिएँ। तर, सय दिनमा कतै पनि भ्रष्टाचारमाथि कारबाही भएको देखिनँ। बरु सय दिनभित्र स्वयं गृहमन्त्रीजी भ्रष्टाचार अभियोगमा चर्चित हुनुभो। त्यो छानबिन हुँदैछ। म त्यता प्रवेश गर्न चाहन्न,' उनले भने, 'फाइल खोल्ने हो भने २०४७ देखि २०५८ सम्म छानबिन भएको लम्साल आयोग प्रतिवेदन सार्वजनिक गर्नुस्। जसले ४१ हजार व्यक्तिमाथि छानबिन गरेको छ।'

कांग्रेस नेता केसीले एमालेप्रति इंगित गर्दै उक्त छानबिनमा अधिकांश अहिले गठबन्धन दलमा आबद्ध रहेकाहरू नै भएको बताए। एमाले भएकै कारण पनि त्यो प्रतिवेदन सार्वजनिक गर्न गृहमन्त्रीले नसक्ने उनले ठोकुवा गरे। 'तपाईँ जुन गठबन्धनमा हुनुहुन्छ, तिनीहरूमाथि पनि छानबिन गरिएको छ। त्यसैले तपाइँलाई गाह्रो पर्छ। तपाइँलाई त्यो आँट पनि छैन। मलाई राम्रोसँग थाहा छ। आँट छ भने लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुस्। र, अख्तियारलाई पत्र लेखेर पठाइदिनुस्,' उनले भने।

नेता केसीले संसदभित्रै कांग्रेस नेताहरूविरुद्ध लगाइएको आरोप प्रमाणित गर्न गृहमन्त्री लामिछानेलाई चुनौतीसमेत दिए। आरोप प्रमाणित गर्न नसके संसदमा माफी माग्नुपर्ने उनको भनाइ छ। 'कांग्रेस माननीयमाथि जुन आरोप लगाउनुभएको छ। त्यो प्रमाणित गर्नुस्। नत्र तपाइँले यो संसदमा माफी माग्नुपर्छ,' उनले भने।

उनले प्रधानन्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन सम्पूर्ण भ्रष्टाचारको छानबिन हुनुपर्ने बताए। 'कांग्रेसले प्रधानन्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन माग गरेकै हो। त्यो नसक्ने अनि कांग्रेस नेताको फाइल खोलिदिन्छु भनेर धम्की दिने? सक्नुहुन्छ भने सबै फाइल खोल्नुस्। भ्रष्टाचारविरुद्धको अभियान लिएर जाऔं। जनताको संकल्प पनि यही हो,' उनले भने।

त्यस्तै नेता केसीले गृहमन्त्री लामिछानेले सय दिनमा कुनै उपलब्धिमूलक काम नगरेको बताए। गृहमन्त्रीले दैनिकी कामबाहेक २९ पेज लामो पृष्ठमा कुनै पनि नयाँ काम नगरेको आरोप लगाए। सय दिनमा गृहमन्त्री लामिछानेले सरुवा आतंक मच्चाएको उनको आरोप छ। 

'सय दिनको उपलब्धि लेखिएको २९ पेज पढेँ। दैनिकी कामभन्दा बढ्ता देखिएन। बरु सय दिनमा १७-१८ पटक प्रहरी परिवर्तन भए। ३४ सयभन्दा बढी प्रहरी परिवर्तन गरियो। ११ तहलाई प्रमोसन गरेर ५ र ६ तहलाई निमट्यान्न गर्ने र बाहिर निकाल्ने प्रवृत्ति देखाइयो,' उनले भने।

उनले तपाईँहरूको पालमा पनि यस्तै हुन्थ्यो भन्न नमिल्ने बताए। 'हामीले नगरेको काम उहाँले गर्नुहुन्थ्यो भन्ने दृष्टिकोण राख्ने मान्छे म। तिम्रा पालामा पनि यस्तै थियो भन्न उहाँले पाउनुहुन्न। ६६ जना सिडिओ र सहायक सिडिओ परिवर्तन भएका छन्। तीन महिनाभित्र यति धेरै परिवर्तन किन? यो सरुवा आतंकमात्र होइन। गृहमन्त्रीले प्रहरीभित्र चेन अफ कमान्डलाई लाचार बनाउनुभएको छ। जुन ढंगको सरुवा र चेन अफ कमान्ड ब्रेक गर्ने काम भएको छ। त्यसरी प्रशासन चल्दैन। त्यसतर्फ गम्भीर हुन आग्रह गर्दछु। सरुवा आतंक बन्द गरियोस्,' उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.