पश्चिम तराईमा पानीको सतह २ मिटर घट्यो

पश्चिम तराईमा पानीको सतह २ मिटर घट्यो

धनगढी : धनगढी उपमहानगरपालिका–१२ का धनबहादुर लामाको नल्का सुकेको दुई साता भयो। उनी अहिले छिमेकीको नल्काको भरमा छन्। ‘नल्का सुकेपछि न बारीमा लगाउन पानी पाइएको छ, न छतको ट्यांकीमा नै’, लामाले भने। 

लामाको मात्रै होइन, सोही ठाउँका हरि रिजाल, सीता तामाङ, त्रिलोक सिंह, अबिनास कठायत, प्रेम नेपालीसहित टोलका अधिकांशको नल्का सुकेका छन्। ‘यसपालिको जस्तो खडेरी कहिल्यै देखिएन, हिउँदमा पनि पानी परेन। असारको आधा हुन लाग्यो, मनसुन कहिले आउने हो टुंगो छैन’, स्थानीय सञ्जु तामाङले भने।

धनगढी उपमहानगरका उत्तरबेहडी, तारानगर, हसनपुर र शिवनगर क्षेत्रका अधिकांश बासिन्दाका हाते नल्का सुकेका छन्। नेपाल खानेपानी संस्थानले वितरण गरेको पानीमा पनि प्रेसर नपुगेपछि दुई/तीन तलासम्म चढ्ने पानी नचढेर अधिकांशका छतमा राखिएका ट्यांकीहरू रित्ता भएका छन्। ‘मेरो घरको तीन तलामा पानीको ट्यांकी छ। खानेपानी जोडेको ६ वर्ष भयो। अहिलेसम्म कहिल्यै पनि पानीको अभाव भएन। एक महिनादेखि खानेपानीको पाइपमा प्रेसर नै आउँदैन। भुइँतलामा भाँडाहरूमा भरेर बाथरुम र भान्सामा पानी लाने गरेकी छु’, धनगढी ४ उत्तरबेहडीकी शान्ति पाण्डेले भनिन्। अहिले तराईका अधिकांश गाउँबस्ती र सहरमा पानीको अभाव देखिएको छ। सिँचाइका लागि गरिएका डिप ट्युबेवलहरूमा पनि धेरैमा पानी आउन छोडेको छ भने आएकोमा पनि थोरै मात्रै आउँछ। नेपाल खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्र शाह भन्छन्, ‘धनगढीमा भूमिगत पानीको सतह २ मिटर घटेको छ। संस्थानकै आपूर्तिमा समस्या देखिन थालेको छ।’

धनगढीमा मात्रै नेपाल खानेपानी संस्थानका ९ हजार एक सय खानेपानीका उपभोक्ता छन्। संस्थानको अलावा शिवनगरमा रहेको शिवनगर बृहत् खानेपानीका पनि ५ हजारभन्दा बढी उपभोक्ता छन्।

खानेपानी संस्थानले दैनिक १४ लाख लिटर पानी वितरण गर्दै आएको छ। गर्मी मौसम सुरु भएसँगै खानेपानीको माग बढेको छ। तर, भूमिगत पानीको सतह घटेपछि समस्या भइरहेको छ। संस्थानले हाल दैनिक १७ लाख लिटर खानेपानीको माग रहेको जनाएको छ। 

 ‘उपभोक्ताका हाते पम्प पानीको सतह घटेपछि सुक्न थाले, घरभित्र र बाहिर बारीका लागि पनि संस्थानकै पानी प्रयोग हुनथाल्यो। त्यसले पनि पानीको अभाव भएको छ’, संस्थानका प्रमुख शाहले भने।

विद्यालयका नल्काहरू सुकेपछि उपमहानगरले ट्यांकरमा खानेपानी आपूर्ति गरिरहेको छ। ‘विद्यालयको खानेपानीको नल्का सुकेछ, ७/८ सय विद्यार्थी यस्तो गर्मीमा पानी नखाएर कसरी बस्न सक्छन्। उपमहानगरमा खबर आयो, हामीले ट्यांकरमा पानी पठायौं’, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भने।

भूमिगत जलको स्रोत घटिरहेको उपमहानगरले एक वर्षअघि गरेको अध्ययनले पनि देखाएको उनले बताए। ‘आर्टीजन बोरिङहरू गरेर खुला पानी छोडिदिने, वृक्षारोपण गरे पनि रोपिएका वृक्षहरूको संरक्षण नहुने, घर बनाउँदा जमिनमुनि रिजार्ज हुने व्यवस्था नगर्नाले भूमिगत जलस्रोत घटिरहेको छ’, मेयर हमालले भने।

उपमहानगरले गत वर्षदेखि नै उपमहानगरभित्रका परम्परागत तालको अतिक्रमण हटाउने अभियान चलाएको छ। ‘परम्परागत तालहरूमा अतिक्रमण गरेर कंक्रिटका घरहरू बनाउन थालिए। पानी पूनर्भरण हुने तालहरू अतिक्रमणमा परेपछि यस्तो समस्या आएको हो। उपमहानगरले परम्परागत तालहरू हटाउने अभियान तीव्र पारेको छ’, मेयर हमालले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.