कर्मचारीको आन्दोलनले संसद बैठक प्रभावित
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डसँग आज प्रश्नोत्तर हुने
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । आज बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
प्रश्नोत्तरका लागि सांसदहरूले सभामुखमार्फत आफ्ना प्रश्न ३ दिनअगावै प्रधानमन्त्री कार्यालयलाई दिइसकेका छन्। सभामुखले हरेक समूहमा १५ जना सांसद रहने गरी १७ समूहमा विभाजन गरेका छन्। यसअघि पनि प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गरिएको थियो।
तर, पछिल्लो समयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कर्मकाण्डी र औपचारिकतामा सीमित हुँदै गएको सांसदहरुको गुनासो रहेको छ। सांसदहरूले गरेको प्रश्नलाई प्रधानमन्त्रीले छल्ने गरेको र दिएको जवाफ अनुसार कार्यान्वयनसमेत हुन नसकेको सांसदहरूको गुनासो छ। हालसम्म ६ पटक मात्रै प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको छ।
कर्मचारीको आन्दोलनले संसद बैठक प्रभावित
यता संघीय संसदका कर्मचारीको आन्दोलनका कारण बैठक प्रभावित हुन थालेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएपश्चात कार्यालय समयपछि पनि संसद बैठक जारी रहेको भन्दै बैठकमा सचिवालयका कर्मचारीहरुले सांसदलाई नदेखाइ सभामुखतर्फमात्र देखाएर प्रत्यक्ष प्रसारण गरेका थिए। त्यसपश्चात सांसद रामहरी खतिवडाले सांसदहरुले बोलेका बेला सभामुखलाई मात्रै देखाएकाले बैठक स्थगित गर्न आग्रह गरेका हुन्।
‘कर्मचारीहरूको विरोधका कारणले सांसदहरूले बोलेका अभिव्यक्तिहरू प्रसारण बन्द भएको छ। सम्पूर्ण बन्द गरेर सदन चलाउने कि नचलाउने सभामुखज्यू ? कांग्रेस सांसद रामहरि खतिवडाले प्रश्न गर्दै भने,‘यो ब्ल्याकआउट गरेर सदन नचलाऊँ, यो हुँदैन।’
बैठकमा सभामुख घिमिरेले सांसदको मागप्रति ध्यानाकर्षण रहेको जनाउँदै कार्यसूचीमा रहेका विषयलाई हटाउँदै बैठक स्थगित गरे र आज बिहान ११ बजे बोलाइएको हो।
प्रश्नोत्तर कार्यक्रमपश्चात मन्त्रीहरुले बजेटमाथिको छलफलमा उठेका मन्त्रालयगत प्रश्नको जवाफ दिनेछन्।