समाजमा सबैभन्दा बढी आवेग छ
महिलालाई हिंसाबाट मुक्त गर्न नेपालमा नयाँ शान्ति प्रक्रिया आवश्यक छ : विश्वप्रकाश शर्मा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली महिलाहरुलाई हिंसाबाट मुक्त गर्न नयाँ शान्ति प्रक्रिया आवश्यक भएको बताएका छन्।
बिहीबार नेपाल महिला संघको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले माओवादी विद्रोह राजनीतिक रुपमा देशलाई शान्ति प्रक्रियामा रुपान्तरण गरेपनि अहिले नयाँ शान्ति प्रक्रिया जरुरी भएको उद्घोष गरेका हुन्।
‘नेपाली महिलाहरुलाई हिंसाबाट मुक्त गर्न नयाँ शान्ति प्रक्रिया आवश्यक छ। यसको प्रक्रिया थालनी महिला संघको अगुवाईले शंखघोष गर्नुपर्दछ।’शर्माले भने,‘दाइजोबाट, जातिय विभेदबाट,घरेलु हिंसाबाट प्रताडितहरुका मुद्दासँग गाँसेज जानुपर्छ। नयाँ शान्तिको खोजीमा लाग्नुपर्दछ।’
उनले समाजमा सबैभन्दा बढी आवेग रहेको बताए। उनले हरेक मान्छेसँग असन्तुष्टि र गुनासो रहेको उल्लेख गरे। शर्माले भने,‘बिहानै उठेर छरछिमेक र आफूलाई हेर्नुहोस् त, हरेक मान्छेसँग असन्तुष्टि र गुनासो छ। यो आवेगले वर्षौदेखि हाम्रो समाजलाई ध्वस्त बनाइरहेको छ।’
हिंसाबाट मुक्तिको झण्डा उठाउनु अहिलेको आवश्यकता भएको उनको भनाई छ।