काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले खेलाडीहरूको तलब भत्ता बढाएर मनोबल बढाउनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता नेपालीले सेवा सुविधा बढाएर खेलाडीहरूको मनोबल उच्च बनाउनुपर्ने बताएका हुन्।
' खेलाडीको तलब भत्ता वृद्धि गरेर मनोबल बढाउने काम गरौं,'उनले भने,' भाषण गरेर अन्तर्राष्ट्रिय पदक पाइँदैन। खेलमा लगानी गर्नुपर्छ।'
आईसीसी टी २० विश्वकप राति भएको र नेपाली खेलाडी फ्लड लाइटमा अभ्यस्त नहुनु पनि हारको कारण हुनसक्ने बताउँदै उनले तत्काल खेलमैदानहरूमा फ्लड लाइट जडान गर्नुपर्ने माग गरे। 'खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले अबको बजेटले टीयुको मैदानमा, पोखरा रंगशालामा, मुलपानी मैदानमा फ्लड लाइट जडान गरोस्,'उनले भने।'
उनले विश्वकपमा नेपाली टोलीले हार व्योहर्नु परे पनि संसार भरका क्रिकेट प्रेमीको मन जित्न सफल भएको दावी गरे। 'भीम सार्की र सोमपाल कामीले प्रतिनिधित्व गरेको नेपाली क्रिकेट टीम फ्लड लाइटमा खेल्ने बानी नपरे पनि जित्ने लागेको खेल हारे पनि नेपाल क्रिकेट टीमको संसारभर गुणगान छ। संसारभरका क्रिकेट प्रेमीको मन जितेको छ,'उनले भने।
टी-२० विश्वकप क्रिकेटअन्तर्गत वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको थियो।
व्यवस्था परिवर्तन गर्न सबै एकजुट हुनसक्ने दलहरू अब देश र जनताको अवस्था परिवर्तनका लागि एकजुट हुनपर्नेमा जोड दिए। उनले खेलाडीको रोकिएको पुरस्कार उपलब्ध गराएको भन्दै खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई धन्यवाद दिए।