पर्यटनमन्त्रीलाई सोबिता गौतमको प्रश्न : नेवानि निरन्तर घाटामा छ, सुधार कार्यदलको प्रतिवेदन कति कार्यान्वयन भयो ?
काठमाडौं : रास्वपाकी सांसद सोबिता गौतमले सरकारलाई नेवानिको सुधार कार्यदलको प्रतिवेदन कति कार्यान्वयन भयो भन्दै प्रश्न गरेकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले कार्यदलको प्रतिवेदनका सुझाव के के कार्यान्वयन भयो ? के बाँकी छ ? भन्दै पर्यटनमन्त्रीलाई सोधेकी हुन्।
‘नेपाल सरकारको शतप्रतिशत लगानी रहेको नेपाल वायुसेवा निगम, राष्ट्रिय ध्वजावाहक वायुसेवा निरन्तर घाटामा छ।’ उनले भनिन्,‘नेपाल सरकारले निगमको सुधारको लागि २०५८ सालदेखि निरन्तर ८/९ ओटा विभिन्न सुझाव समिति तथा कार्यदल गठन गर्दै आइरहेको छ।’
सांसद गौतमले प्रतिवेदनमा तत्काल गर्न सकिने सुधार र दीर्घकालिन सुधारहरु प्रस्तुत गरिएको उल्लेख गरिन्। ‘वेवसाइटमा उल्लेख भए बमोजिम २०७६ मा पछिल्लो सुझाव कार्यदल गठन भई प्रतिवेदन पेश भएको छ। सो प्रतिवेदनमा तत्काल गर्न सकिने सुधार र दीर्घकालिन सुधारहरु प्रस्तुत गरिएका छन्।’ उनले भनिन्,‘सुझाव कार्यदल गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नाले मात्र वायु सेवा सुधार हुँदैन। सो सुझाव के के कार्यान्वयन भयो ? के बाँकी छ ? सो बारे सदनलाई जानकारी गराउनु हुन सम्माननीय सभामुखमार्फत पर्यटन मन्त्रीज्युलाई अनुरोध गर्दछु ।’