लोकतन्त्रमा नैतिक विचलन
मानव उद्विकासको इतिहासमा जब प्रिफ्रन्टल कर्टेक्स अर्थात् नवमस्तिष्कको विकास भयो तब मानिसले आफ्नो प्रजातिमा पहिला कहिल्यै नभएको क्रान्तिकारी परिवर्तन ल्याउन सफल भयो। यो त्यस्तो परिवर्तन थियो जसले मानिसमा के नैतिक, के अनैतिक, के सही र के गलत छुट्ट्याउन सक्ने विशिष्ट चेतना दियो। करोडौं वर्षको अन्तरालमा अनगिन्ती प्रयासमार्फत प्राप्त त्यस चेतनाको लाखौं वर्षपश्चात् आज हामी त्यस्तो गम्भीर मोडमा उभिएका छौं। जहाँ न बौद्धिकताको कदर छ, न इमानको मान छ, न त नैतिकताको मूल्य नै।
नेपाली राजनीतिको इतिहासमा २००७ सालको क्रान्तियता नेपाली जनताले प्रजातन्त्र, पञ्चायत, पुनप्र्रजातन्त्र हुँदै गणतन्त्र र लोकतन्त्रसम्मको राजनीतिक परिवर्तन देख्न पाए। छोटो समयमा परिवर्तनको ठूलो उतारचढाव भोग्न पाएका नेपालीले लोकतन्त्र सम्म आइपुग्दा लोकतन्त्र मात्र पाएनन्, योसँगै आएको गतिलो उपहारको रूपमा चरम नैतिक विचलन र अराजकता पनि साथै पाए। यही कारण आज सिंगो देश थिलथिल र जिलजिल भइसकेको छ। यहाँभित्र त्यस्तो कुनै तह र तप्का छैनन्, जहाँ नैतिकता र इमानदारिताको खडेरी नभएको होस्। यहाँभित्र त्यस्तो कुनै समूह र संगठन पनि छैन, जसले सदाचारलाई आफ्नो पहिलो सर्त मानेको होस्। जस्तोसुकै प्रतिद्वन्द्वी आए पनि मत परिमाण आफ्नै पोल्टामा पार्न सुरु गरिएको गठबन्धनका कारण देशको केन्द्रदेखि गाउँगाउँसम्म सामूहिक अनियमितता र दण्डहीनता मौलाउँदो छ।
लोकतन्त्रमा जे बोल्न पनि पाइन्छ, जसो गर्न पनि पाइन्छ भन्ने गलत भाष्य समाजमा स्थापित हुँदै गइराखेको छ। यहाँ हरेकलाई आफ्नो अधिकार चाहिएको छ तर उसलाई समाज र देशप्रतिको आफ्नो नैतिक कर्तव्य र जिम्मेवारी भने पटक्कै बहन गर्नु छैन। समाजमा यसरी अनैतिक र अराजकहरूको संख्या दिनप्रतिदिन बढ्दो छ तर नैतिकतालाई नै आफ्नो आदर्श मान्नेहरू अल्पमतमा पर्दै गइरहेका छन्। नैतिकवान्हरूको शक्ति क्षीण हुँदै गइराखेको छ। समाजको गुणात्मक विकासका लागि के यो सकारात्मक संकेत हो र ?
संसारमा आज जति पनि समाज अस्तित्वमा छन् ती सबै एकैनासका छैनन्। हरेक समाजको आफ्नै संरचनागत विशेषता र विभिन्नता छन्। यही कारण एउटै प्रणाली वा व्यवस्थामा पनि समाजपिच्छे त्यसले दिने परिणाम र बोक्ने ओझ फरकफरक हुन्छन्। लोकतन्त्रको सबालमा अन्य कति समाजको तुलनामा हाम्रो समाज धेरै हदसम्म जीवन्त छ। यो सुखद पक्ष हो। तर जीवन्तताको अभ्यास गर्दागर्दै नेपाली समाज जीवन्त मात्र बनिरहन सकेन, अनैतिक पनि बन्दै गयो। यसैको प्रतिबिम्ब स्वरूप यहाँका शासक र शासित दुवै मिली लोकतान्त्रिक संविधानको महŒवपूर्ण उपलब्धिको रूपमा प्राप्त मौलिक हक र स्वतन्त्रतालाई स्वच्छन्दताको रूपमा दुरुपयोग गर्न उद्यत् देखिँदै छन्। केही साताअघि संघीय संसद्मा देखिएका भाँडभैलो अनि समाजमा दिनहुँजसो हुने गरेका बितण्डा यसैको झिल्को होइन र ?
पृथ्वीको हर कुना, जहाँ र जहिले पनि लोकतन्त्रको मुख्य उद्देश्य भनेको सीमान्तकृत, अल्पसंख्यक र पहुँचविहीनहरूले पनि समान र सम्मानका साथ आफ्नो सर्वांगीण विकास गर्न पाउने वातावरण निर्माण गर्नु हो। एउटा कमजोर र निर्बल मानिसले पनि शिर ठाडो पारेर भयमुक्त वातावरणमा बाँच्न पाउनु नै उत्कृष्ट लोकतन्त्र हो। तर हामीले त यस्तो लोकतन्त्र ल्यायांै जहाँ शक्ति र सत्ताको नजिक नहुनेहरू कोही मलाई गरी खान देउन भन्दै दिनदहाडै सडकमा ढलेका छन्, कोही जीवन भर न्यायको भिख माग्दामाग्दै कहिल्यै नउठ्ने गरी ढलेका छन्, कोही लाख कोसिस गर्दा पनि दुई छाक टार्न नसकी देश छाडेका छन् त कोही देश प्रेममा सडकमा बोल्दा अश्रुग्यास र लाठी खाएका छन्। लोकतन्त्रमा नैतिकताको योभन्दा ठूलो उपहास अरू के हुन सक्छ र ?
नेपाली राजनीतिमा करिब तीन दशक अघिसम्म मात्र पनि यस्तो समय थियो जतिबेला कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गणेशमान सिंहजस्ता आफ्नो बोलीमा ओज र नैतिक शक्ति भएका नेताहरू थिए। उनीहरू बोल्दा त्यसको प्रभाव देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय जगत्सम्म पनि पथ्र्यो। उनीहरूले कुनै विषयमा गरेको अपिललाई जनताले तुरुन्त अनुमोदन गरी आफ्नो अपनत्वसमेत प्रकट गर्दथे। तर आज हाम्रा नेताहरू बोल्दा त्यसमा नैतिक शक्ति त परको कुरा कार्यकर्तासम्मले उनीहरूलाई पत्याउँदैन। दशकांैदेखि बारम्बार देश र जनतालाई धोका दिएकै कारण आज नेताहरूले जतिसुकै सत्य बोलेता पनि जनताले त्यसलाई झूट नै ठान्ने अवस्था नेताहरू स्वयंले बनाए। आफ्नो बोली र व्यक्तित्वमा नैतिक ओज र गरिमा बनाउन नसकेकै कारण आफू पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि, सम्झौतामा पटकपटक हाम्रो नेतृत्वले राष्ट्र हितमा स्ट्यान्ड लिन सकेन। अन्तर्राष्ट्रिय भ्रमण र समारोहहरूमा नेपालको सहभागिता उल्लेखनीय नहुनुको प्रमुख कारण पनि यही हो। यसरी आफ्नै कार्यशैली र व्यवहारका कारण हाम्रा नेताहरू आज आफ्नै नैतिक धरातलसम्म जोगाउन नसक्ने अवस्थामा आइपुगे। राजनीतिमा निष्ठा र नैतिकता गुमाउँदा आखिर हुने यही नै हो।
कुनै पनि देशमा भोलिका दिनमा कति नैतिक, सभ्य र असल मानिस पैदा हुनेछन् भन्ने कुरा उक्त देशले आज कस्तो पाठ्यक्रम, शिक्षण विधि र शिक्षा ढाँचा अपनाएको छ भन्नेबाट सहजै अनुमान लगाउन सकिन्छ। तर यो सिंगो देशले आज नैतिकता र इमानदारिताको चरम खडेरी बेहोरिरहेको छ भनिरहँदा हिजोका दिनमा शिक्षामा हामीले नैतिकतालाई जोड्न सक्यौ कि सकेनौं त भन्ने प्रश्न पनि सँगसँगै उठ्छ नै। दुःखको कुरा राज्यले आजसम्म पनि व्यवस्थित रूपमा शिक्षामा यी तीन विषय जोड्न सकेन। अब यो देशको नैतिक उन्नयनका लागि यहाँभित्रको राजनीतिक नेतृत्व, निजी तथा सरकारी कर्मचारी संयन्त्र, हरेक पेसागत संघ, संगठन र जनता सबै उत्तिकै नैतिकवान् र इमानदार हुन जरुरी छ।