परराष्ट्रमन्त्री श्रेष्ठ इरान जाँदै
काठमाडौं : परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को-अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औं बैठकमा भाग लिन शनिबार इरान जाँदैछन्। इरानको तेहरानमा सोमबार आयोजना हुने बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। मन्त्रीस्तरीय बैठकअघि मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले असार ९ गते हुने एसीडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनेछन्।
एसीडी सदस्य राष्ट्रमा नेपालसँगै अफगानिस्तान, कुवेत, दक्षिण कोरिया, बहराइन, रुस, बंगलादेश, भारत, चीन, थाइल्यान्ड, इन्डोनेसिया, जापान, कतारलगायत ३५ देशहरू रहेका छन्।
मन्त्री श्रेष्ठ असार १२ गते स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।