आजीवन मरेर भर्खरै जन्मिएको छ
जसलाई कसैले वास्तै गरेनन्, अहिलेसम्म !
वास्तविकता बुझेर पनि बुझ पचाइरहे
संवेदनशील समयले सिर्जना गरिदिएको
कठैबरा ! उसको प्रतिकूल परिस्थितिसँगै
निरन्तर रूपमा उसको पदचाप पछ्याउँदै
उसैको सहयात्री बनेर सदैव साथ दिइरहेका
उसका असीमित बाध्यता र विवशताहरूलाई !
पवित्र प्रेमको पहिलो परीक्षामै
‘पास’ हुन असफल भएको छ–
एउटा पागलप्रेमी युवाकवि
र, अहिलेसम्म आफूले बाँचिरहेको
आफ्नै अभागी जीवनदेखि निराश भएर
हेलिएको छ– मृत्युको महासागरमा !
आजीवन सेकिरह्यो– चिसो सिरेटोले उसलाई
भर्खरै ओढाइदिएका छन् नांथे आङमा कात्रो !
सोचिरहेको छु–
यो मरिसकेको लास
र, हामी ज्युँदो लासको बीचमा
अहिलेसम्म के नै फरक देखिन्छ र ?
आजीवन नयाँ कपडा लगाउने
हैसियत बनाउनै नसकिरहेको उसलाई
भर्खरै ओढाइदिएका छन्– कात्रोमाथि नयाँ झण्डा
र, छोपिदिएका छन्– उसको पुरानो सारंगी पेटलाई !
आजीवन खित्का छोडेर हाँसिरहेका थिए–
जसले उसको अकल्पनीय दुर्दान्त दुर्दशामा
उनीहरू नै छाती पिटीपिटी रोइरहेका छन्–
गोहीको अविरल आँसु बगाएर यतिबेला !
जसले आजीवन बनाइरहेका थिए– घर न घाटको उसलाई ।
प्रत्येक मुर्दाघर भित्रबाट निस्किरहेको छ– यतिबेला
‘ज्युँदाका मलामी र मर्दाका जन्ती’हरूको लस्कर !
प्रत्येक काँधमा पालैपालो बोकेर पुर्याइएको छ– घाटमा !
आजीवन अलिकति पनि औषधि नकिनेर
साह्रै दुःख गरी बचाइराखिएको पैसो मासेर
मिलाएर किनिएको छ– यतिबेला उसकै लागि
उसलाई ज्यँुदै जलाउन पुग्ने दाउराको निकै गहुँगो भारी !