म नियालिरहन्छु,
आफ्नै मुहारको कान्ति
तर अनभिज्ञ छु
खै के खोजिरहेछु म आफूमा ?
पाएसम्म
भेटेसम्म
हेरेरै नअघाउने
के छ रहस्य ?
नभएको थप सुन्दरता ?
कि दिनप्रतिदिन
मलाई गिज्याउँदै
मेरै नजिकबाट टाढिँदै
उमेरको घेरा नाँघ्दै
आफैंलाई छाडेर परपर भाग्दै गरेको
मेरो यौवन ?
म किन डराउँछु
विचलित भएर आफैंसँग हँ ?
निर्धक्क हुनै सक्दिनँ आफ्नोपनमा
दिनानुदिन प्रकट हुँदै गरेको आँखाछेउका
यी चाउरी धर्साहरूले
भयभीत बनाउँछ मेरो मन।
सायद
म खोजिरहन्छु आफूलाई
सिसाको सतहमा
उस्तै
दुरुस्तै
कि खै
केही नयाँ पाउँछु कि भनेर।
थप चाहनाको
अपेक्षामा हेरिहन्छु
पटकपटक
धेरैपटक
आफ्नै उत्सुक अनुहार
त्यही स्थिर ऐनामा।