कलाले भरिएका कुचीकार

कलाले भरिएका कुचीकार

जहाँ गिद्ध छन्, त्यहाँको वातावरण सफा र स्वच्छ पनि हुन्छ नै। यस अर्थमा गिद्धहरू हाम्रो सुन्दर पृथ्वीका प्राकृतिक कुचीकार हुन् !

प्रकृति आफैंमा अनुपम छ। विराट छ अनि रहस्यले भरिएको पछि। हामी मनुष्यमात्रले त अन्दाज गर्नेमात्र हो, यस धरतीमा प्रकृतिको भूमिका के र कसरी हुन्छ ? न जानेर सम्भव छ न बुझेर साध्य लाग्छ। एक जुनी त के सात जुनी यसकै अध्ययन र अनुसन्धान गरे पनि प्रकृतिका अनेक आयाममा विज्ञ हुन सम्भव छैन। प्रकृति जोगाए वातावरण जोगिने हो। वातावरण स्वच्छ, सफा र हराभरा भए धरतीमा रहेका हामी मानव, पशु र पन्छी निरोगी हुने हो।

तर कहिलेकाहीँ नजानेर, नबुझेर वा जानीजानी बलमिच्याइँ गरेर मूलतः हामी मानव प्रकृतिका विरुद्ध पोखिन्छौं, खनिन्छौं र अन्ततः दुःख पाउँछौं। यसको एउटा सानो उदाहरण हालै विश्वले भोगेको कोभिड– १९। जब प्रकृतिविरुद्ध आमगतिविधि हुन्छन् तब मानिसमा प्राणघातक रोगहरू लाग्छन्। अर्को अचम्म के पनि छ भने प्रकृतिको बनोटमा स्वतः तिनको निराकरण पनि गर्दै रहेका हुन्छन्। त्यसैले जहाँ गिद्ध छन्, त्यहाँको वातावरण सफा र स्वच्छ पनि हुन्छ नै। यस अर्थमा गिद्धहरू हाम्रो सुन्दर पृथ्वीका प्राकृतिक कुचीकार हुन् !

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा विश्वमै ‘संकटको नजिक’ र नेपालमा ‘संवेदनशील’ संरक्षण अवस्थामा सूचीकृत हाडफोर गिद्धको गुँड लाङटाङ राष्ट्रिय निकुञ्जमा भेटिएको छ। जहाँ पहिलोपटक उक्त प्रजातिको गिद्धको गुँड समुद्री सतहबाट करिब ४,०७० मिटर माथिको उचाइमा भिरालो चट्टानको बीचमा क्यामेरामा कैद गरिएको थियो। जुन खोज वन्यजन्तु अनुसन्धानकर्ता आशिष थापा र उनको टोली समर बानियाँ र रूपक हमालले गरेका हुन्। आशिष र उनको टोली हिमाली गिद्ध र हाडफोर गिद्धको अनुसन्धान गर्न गत महिनामा त्यहाँ पुगेका थिए। सो अध्ययन–अनुसन्धानका लागि नेपाल पन्छी संरक्षण संघले सहयोग गरेको थियो।

null

हाडफोर गिद्ध तीमध्येको एक। जुन नेपालमा पाइने अरू प्रजातिका गिद्धहरूको जस्तो नांगो तालु र टाउको हुँदैन। यस गिद्धको टाउको, घाँटी र खुट्टाहरूमा लगभग पूरै भुत्लेदार प्वाँख हुन्छन्। ठोंड पछाडिको आँखाको तल्लो भागबाट कालो दाह्री जस्तो रौं स्पष्ट देखिने भएकाले नै अंग्रेजीमा यसलाई बियर्डेड भल्चर भनेर नामांकन गरिएको हो।

हाडफोर गिद्ध विशाल नापको हुन्छ, पखेटाहरू लामा, साँघुरा र तिखा हुन्छन् भने पुच्छर ठूलो र किलाकारको चुच्चो हुन्छ। अकासिँदा एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्मको नाप लगभग १० फिट हुन्छ। वयस्क हाडफोर गिद्धको छाती नौनी वा कैलो सुन्तले रंगको हुन्छ जसले गर्दा यस गिद्धलाई अरू गिद्धहरूबाट सजिलै छुट्ट्याउन सकिन्छ। नेपालमा हाडफोर गिद्धको अनुमानित संख्या पाँच सयभन्दा कम रहेको छ।

गिद्धहरू ठूलो शरीर भएका मांसाहारी पन्छी हुन्। गिद्धले आफंै सिकार गर्दैनन् र मरेका प्राणीहरूको सिनो मात्र खाने गर्छन्। नेपालमा नौ प्रजातिका गिद्धहरू पाइन्छन् र यी सबै गिद्धहरूकोे आहारको मुख्य स्रोत मरेका घरपालुवा पशुचौपाया नै हुन्। गिद्धको विशेषता सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्नु हो। गिद्धले सिनोको करिब ९० प्रतिशत भाग खान सक्छ तर अन्य सिनो खाने जनावरहरूले सिनोको ४५ प्रतिशत भाग मात्र खान्छन्। गिद्धले सिनोलाई केही घण्टामै स्वात्तै पार्न सक्छन् जुन अद्भुत क्षमता अन्य जनावरमा हुँदैन। त्यसैले प्रकृतिमा गिद्ध हुनु र नहुनुले निक्कै ठूलोे महŒव राख्छ।

नेपालमा पाइने अरू प्रजातिका गिद्धहरूले सिनोको हड्डीबाहेक मासु, भित्री अंग र छाला सबै खान्छन्। हाडफोर गिद्ध मात्र त्यस्तो गिद्ध हो जसको प्रमुख आहारा भनेको सिनोका हड्डीहरू हुन्। सिनोका ठूल्ठूला हड्डीहरू यसले आफ्नो तिखा नंग्राले च्याप्दै आकाशमा १५० मिटर माथिसम्म उचालेर लाने गर्छ र ठूलो सिलौटोजस्तो चट्टानमाथि खसालेर टक्र्याउँछ। त्यसरी खसेर टुक्रिएको हाडभित्रको मासी हाडफोर गिद्धले रुचाउने आहारा हो। यसले हड्डीका मसिना टुक्राहरू खान्छ र सिंगै हड्डी निलेर पनि खाने गर्छ। यसरी हाड फुटाएर भित्रको मासी खाने भएकाले नै यसको नाम पनि नेपाली भाषामा ‘हाडफोर गिद्ध’ भनेर अनुवाद गरिएको हो।

गिद्धले सिनोको केही पनि भाग प्रकृतिमा धेरै समयसम्म रहन नदिने भएकोले गर्दा पनि मानिसमा रेबिज, प्लेग, हैजा, आउँ, झाडापखाला आदिजस्ता सरुवा घातक रोगहरू फैलिनबाट रोकेको छ। भारतमा गरिएको एउटा अध्ययनले गिद्धको संख्यामा आएको गिरावट पछि यस्ता रोगहरू झन् बढेको निष्कर्ष निकालेको थियो। गिद्धको अभाव भएमा सिनो प्रकृतिमा लामो समयसम्म रहन्छ र भुस्याहा कुकुर, स्याल, मुसा र झिंगाको बिगबिगी बढ्छ। स्याल कुकुरको झगडाबाट रेबिजजस्ता रोगको संक्रमण फैलिन्छ। कुकुरहरू सिनोका भागहरू बोकेर बस्ती पस्छन् र अन्ततः मानिसमा प्राणघातक रोगहरू फैलिन सक्छ। त्यसैले जहाँ गिद्ध छन् त्यहाँको वातावरण सफा र स्वच्छ छ भन्ने बुझिन्छ। यस अर्थमा गिद्धहरू हाम्रो सुन्दर पृथ्वीको प्राकृतिक कुचीकार हुन् !

करिब तीन दशक अघिसम्म दक्षिण एसियामा करोडौंको संख्यामा र नेपालमा लाखौंको संख्यामा पाइने गिद्ध पछिल्ला दशकहरूमा आउँदा तपाईं हाम्रै कारणले लोप हुने अवस्थामा आउनु अत्यन्तै दुखद् कुरा हो। सन् १९९० को मध्यदेखि दक्षिण एसियामा गिद्धको संख्यामा यसरी अप्राकृतिक ढंगले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि ‘डाइक्लोफेनेक’ हो। यो औषधि गाई, भैंसी, घोडा, खच्चड, बाख्रा, सुँगुरजस्ता पशुमा सुन्निएको, ज्वरो आएको र दुखेको निको पार्न सन् १९८० को दशकमा व्यापक प्रयोग गरिएको थियो।

डाइक्लोफेनेकले उपचार गरिएका पशुको सिनो खाएकै कारणले गर्दा भारतमा सन् १९९२ देखि २००७ को अन्तरालमा डंगर गिद्धको संख्यामा ९९.९ प्रतिशतले विनाशकारी गिरावट आएको तथ्य गिद्धमा गरिएको अनुसन्धानहरूले पत्ता लगायो। डाइक्लोफेनेकले उपचार गरिएका पशुको सिनो खाएका गिद्धहरूको शरीरमा डाइक्लोफेनेकको विषाक्तपन सर्छ। र, रगतमा ‘युरिक एसिड’को मात्रा बढाई भिसरल गाउट (शरीरका भित्री अंगहरूमा युरिक एसिड जम्ने) गराउँछ। मिर्गाैलाले अधिक ‘युरिक एसिड’ छान्न सक्दैन जसको कारण विषाक्त सिनो खाएको २४ देखि ४८ घण्टाभित्रै गिद्धको मृत्यु हुन्छ।

नेपालमा सन् २००६ मा डाइक्लोफेनेकमा लगाइएको प्रतिबन्ध र गिद्ध संरक्षणका लागि चालिएका कदमहरू जस्तैः गिद्ध सुरक्षित क्षेत्रको विकास र जटायु रेस्टुरेन्टको जन्मले गिद्धको संख्या थोरै भए पनि वृद्धि गराइराखेका छन्। तर, गिद्ध संरक्षणमा थप चुनौतीहरू पनि बढ्दो छ। पहिले जस्तो सिनोलाई मानव बस्तीबाट टाढा लगेर खुल्ला आकाशमुनि बिसर्जन गर्नुको सट्टा आजभोलि गाड्ने चलन छ। यसले गिद्धलाई स्थानीय रूपमा आहारको कमी गराउँछ। साथै गाउँ–घरतिर किसानहरूले स्याल, चितुवाजस्ता जनावरहरू मार्न सिनोमा विष हालेर छाड्ने गर्छन्।

सिनोमा विषको प्रयोगले नेपालमा भएका थोरै गिद्धहरू पनि मरिरहेका छन्। उदाहरणका लागि, २०७८ वैशाखमा नवलपरासीको रामग्राममा ६९ भन्दा बढी गिद्ध विषाक्त सिनो खाँदा एकै ठाउँमा मरेका थिए। व्यापक रूपमा विस्तारित विद्युत् प्रसारणका संरचनाहरू पनि गिद्धको लागि चुनौती बन्दै गइरहेका छन्। गिद्ध ठूला आकारका चरा र लामो उडान भर्ने तथा आहार खान र खाएपछि उड्ने बेलामा तीव्र गतिमा हुने हुँदा विद्युत्का तार, पोल र अन्य ठूला भौतिक संरचनामा ठोक्किएर घाइते हुने तथा मर्ने क्रम पछिल्ला वर्षहरूमा बढ्दो छ।

गिद्धका बासस्थान संरक्षित क्षेत्रबाहिर मूलतः सामुदायिक वन र निजी वन क्षेत्रमा अवस्थित छन्। निजी जग्गाका रुखहरू र कहिलेकाहीँ सामुदायिक वनका रुखहरूको कटानले पनि गिद्धका गुँडहरू भत्किएका उदाहरण छन्। २०७८ माघ तेस्रो साता पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तारको क्रममा तनहुँको शुक्लागण्डकीमा विश्वकै दुर्लभ अति संकटापन्न सानो खैरो गिद्धको भर्खर कोरलिएको बच्चासहितको गुँड भएको सिमलको रुख ढालियो। गुँड भत्कियो, हुर्किन सकेको बच्चा पनि मर्‍यो।

विश्वमा पाइने २३ प्रजाति र नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये सबैभन्दा कम संख्यामा रहेको लोपोन्मुख सानो खैरो गिद्धको बचेरा हुर्काउञ्जेल दुई महिना कुर्न गरिएको संरक्षणकर्मीहरूको हारगुहारलाई लत्याउँदै सिमलको रुख काटिनु विश्व संरक्षण समुदायमाझ लज्जास्पद र संवेदनाहीन घटना बन्न पुगेको थियो। वर्षको एकपटक एउटा मात्र अन्डा पार्ने सानो खैरो गिद्धको नेपालमा अनुमानित संख्या ५० को हाराहारी मात्र 
छ भने हालसम्म देशभर यसको बढीमा नौ वटासम्म मात्र गुँड अभिलेख भएका छन्।

लाङटाङ राष्ट्रिय निकुञ्जमा अध्ययनको क्रममा हामीले चट्टानमा तीनवटा हाडफोर गिद्धका गुँडहरू देख्यौं। एउटा गुँडमा भने हाडफोर गिद्धको माउ र बच्चा थियो र तीनैवटा गुँड वरिपरिको चट्टानमा गिद्धका ताजा सेता रंगका सुलीहरू प्रशस्त थिए। पहिले गिद्ध बस्ने गरेको तर पछि बस्न छोडेको गुँड वरपरका सुलीहरू फुस्रो खैरो रंगको हुन्छ। हामीले गुँड वरपर ताजा सेतो रंगको सुली देखिनुले सो गुँड गिद्धले अझ पनि प्रयोग गरिरहेको संकेत गर्छ भने गुँडमा बच्चा देखिनुले उक्त गुँड सक्रिय गुँड भएको जनाउँछ। देशको पश्चिमी क्षेत्रभन्दा तुलनात्मक हिसाबमा निकै कम गिद्ध पाइने यस निकुञ्जमा हाडफोर गिद्धले प्रजनन गरिरहेको कुरा यो खोजले पुष्टि गर्छ। प्रजनन सफल भए/नभएको बुझ्न हाडफोर गिद्धको उक्त गुँड अब आउँदा दिनहरूमा पनि निरन्तर निरीक्षण गर्नु जरुरी छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.