विश्वकप खेलेर फर्किएका सन्दीप लामिछाने भन्छन्- धेरैपछि खेल्दा डेब्यु गरेजस्तै लाग्यो
काठमाडौं : आइसीसी टी-२० विश्वकपमा सहभागी भइ क्रिकेटर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य तीन दिनअघि स्वदेश फर्किए पनि लामिछाने भने शनिबार स्वदेश फर्किएका हुन्। अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन्। उनी क्यानडा हुँदै नेपाल आएका हुन्।
नेपाल आएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले टी-२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको प्रतिक्रिया दिए। विश्वकपको अनुभव निकै स्मरणीय रहेको भन्दै टिममा अझै धेरै गर्न बाँकी रहेको उनले बताए।
उनले साउथ अफ्रिकालाई दिएको चुनौती निकै राम्रो भए पनि अन्तिम बलमा जित्न नसक्दा दुःख लागेको सुनाए। उनले विभिन्न कारणले आफू केही समय क्रिकेटबाट बाहिर रहेपनि अब निरन्तररूपमा लागिपर्ने जिकिर गरे।