'तपस्वी' बम्जन दोषी ठहर
मलंगवा : यौन सन्तुष्टि प्राप्त तथा बाल यौन दुराचार अभियोगमा पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले कसुर ठहर गरेको छ। सोमबार जिल्ला अदालत सर्लाहीले बम्जनलाई कसुरदार ठहर गरेको हो।
न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई कसुरदार ठहर गरेको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार सजाय १७ गते तोकिने छ। उनीसँगै अभियोग लागेका अन्य दुई जनाले सफाइ पाएका छन्।
बम्जनलाई सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि महोत्तरीस्थित जलेश्वर कारागार चलानको आदेश दिएको थियो।
यसअघि तीन पटकसम्म बम्जनविरुद्धको मुद्दा पेशी चढेप नि बम्जनका वकिलहरुले २ तथा सरकारी वकिलले १ चोटी निवेदन दिएर सारेका थिए।
सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-६ स्थित निवासबाटै गत पुस २४ गते सीआईबीको टोलीले पक्राउ गरेको थियो।
२०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बारा जिल्लाको निजगढ नगरपालिका-१२ निवासी ३० वर्षीय बम्जनविरुद्ध पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो। अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबी सहित अभियोग पत्र दायर गरेको थियो।