बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो
काठमाडौं : आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गरेको छ । यो जितसँगै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ।
अफगानिस्तान आईसीसी ट्रफी प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।
अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन मात्र बनाएको थियो । बंगलादेशका लागि रिशाद होसेनले सर्वाधिक ३ विकेट लिएका छन्।
वर्षाका कारण बंगलादेशलाई डकवर्थ लुइसका अनुसार १९ ओभरमा ११४ रनको लक्ष्य दिइएको थियो । बंगलादेशको टोली १०५ रनमा मात्र सीमित भयो । अफगानिस्तानका नवीन उल हक र राशिद खानले चार–चार विकेट लिए ।
लिटन दासले ५४ रन बनाए पनि उनको इनिङ्सले टोलीलाई हारबाट जोगाउन सकेन ।
अब सेमिफाइनलका दुबै खेल जुन २७ मा हुने छन् । पहिलो सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकाको सामना गर्नेछ । दोस्रो खेल भारत र इंग्ल्याण्डबीच हुनेछ ।
आईसीसी टी–२० विश्वकपको फाइनल खेल २९ जुनमा ब्रिजटाउनमा हुनेछ ।