न्यूनतम र अधिकतमबीच अन्तर कम हुँदा अधिक गर्मी
काठमाडौं : जब अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर थोरै हुन्छ, त्यस्तो बेला एकदमै गर्मी हुने, चिटचिटाहट हुने र शरीर अस्वस्थ्य महसुस हुन्छ। लामो समयदेखि मुलुकका धेरैजसो ठाउँहरूमा अधिकतम र न्यूनतम तापक्रम बीचको दूरी निकै कम छ। त्यसैकारण मुलुकमा उधुम गर्मी भएको जानकारहरू बताउँछन्।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल भन्छन्, ‘अधिकतम र न्यूनतम तापक्रम बीचको दूरी कम भएमा शरीरले तापमान बढेको महसुस गर्छ।’ उनका अनुसार अधिकतम तापक्रम भन्नाले दिउँसोको साढे दुई÷तीन बजेको तापमान जनाउँछ। न्यूनतम तापक्रम भनेको बिहानको ६ बजेतिरको तापमानलाई जनाउँछ।
जब सुक्खापन बढ्दै जान्छ। त्यो बेला आद्रता (हावामा हुने पानीको मात्रा) र त्यस्तो समयमा ड्यु पोइन्ट टेम्प्रेचर (शीत बन्ने तापक्रम) माथि उक्लिन्छ। त्यो माथि आउँदा न्यूनतम तापक्रम पनि माथि आउँछ र अधिकतम तापक्रमसँग नजिक–नजिक हुन खोज्छ। त्यस्तो अवस्थामा अत्यधिक गर्मी हुन्छ।
ड्यु पोइन्ट टेम्प्रेचर बन्ने प्रक्रिया उकालो लाग्दा तथा हावामा आद्र्रता कम हुँदै जाँदा न्यूनतम तापक्रम कम हुन सक्दैन। अधिकतम तापक्रमकै बराबरीमा आउँदा चिटचिटाहट हुने, शरीरमा अप्ठेरो हुनेलगायतका समस्या हुन्छ।
लामो समय सुक्खा हुँदा, हावामा पानीको मात्रा र माटोमा ओसको मात्रा कम भइसकेपछि शरीरमा पसिना निकाल्नेलगायतका समस्या हुने सिग्देलले बताए।
उनका अनुसार विगतमा पूर्वमा मनसुन सुरु हुँदा पश्चिममा सुक्खा हुन्थेन। मनसुन भित्रिएको साता दिनमा पश्चिममा पुग्थ्यो। पहिला पूर्वमा मनसुन भित्रिँदा त्यसको असर पश्चिममा पनि देखिन्थ्यो। तर, अहिलको बदलिँदो मौसमी परिवेशमा पूर्वमा घनघोर पानी पर्दा पश्चिममा खडेरी छ। यस्तो समस्या पछिल्लो सात, आठ वर्षमा मात्रै देखिएको उनले जनाए।
‘पूर्वी नेपालबाट मनसुन जानेबित्तिकै पश्चिममा अलिकति भए पनि हावाको ओस पुग्थ्यो, आजकल त्यस्तो भएन,’ सिग्देल भन्छन्।
बदलिँदो मौसमी प्रणालीमा, लामो समय पानी नपर्दा तथा न्यून वर्षा हुँदा हावामा पानीको मात्रा कम र माटोमा ओस नपुगेको उनले बताए। त्यसले न्यूनतम तापक्रम माथिल्लो बिन्दुमा पुर्याएको र मानिसमा चिटचिटाहट महसुस गराएको उनले बताए।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, ‘जति धेरै घाम लाग्यो त्यति नै अधिकतम र न्यूनतम तापक्रमको रेन्ज बढी हुन्छ। बिहानैदेखि बेलुकीसम्म बादल लागेको खण्डमा यो बीचको अन्तर कम हुन्छ।’ बादल लाग्नेबित्तिकै तापक्रमको रेन्ज बढ्न पाउँदैन। दिनैभरि बादल लागेमा अधिकतम र न्यूनतम तापक्रमको अन्तरनजिक नजिक हुन आउने उनले बताइन्।
राति आकाश एकदमै सफा भएमा रातिको तापक्रम घट्छ। बादलले घट्न नदिए पनि सफा खुला आकाशले तापक्रम घटाउन र बढाउन मद्दत गर्छ। खुला आकाश भएको बेला दिउँसो तापक्रम धेरै हुने र रातिको समयमा चिसो हुने गर्छ। काठमाडौं उपत्यकाको मौसम प्रणाली भने अन्य ठाउँको भन्दा पृथक् भएको मानन्धरले बताइन्।
जल तथा मौसम विज्ञान विभागले बुधबार विज्ञप्ति निकाल्दै गत अप्रिलमा देशैभरिको अधिकतम तापक्रम सरदरभन्दा बढी भएको जनाएको छ। जम्मा १९.४ प्रतिशत सरदरभन्दा कम वर्षाका कारण यस्तो भएको जनाएको छ। मधेस प्रदेश, बागमती प्रदेशको दक्षिणपूर्वी भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा न्यूनतम तापक्रम सरदरभन्दा कम भए पनि मुलुकका अन्य भू्भागमा बढी न्यूनतम तापक्रम रहेको जनाएको छ।
शनिबारसम्म मुलुकभरि नै मनसुन फैलिने
महाशाखाकी मौसमविद् मानन्धरका अनुसार शनिबारसम्ममा देशैभरि मनसुन फैलिन सक्छ। काठमाडौंमा पनि बुधबार रातिदेखि मनसुनी वर्षा सुरु भएको उनले जनाइन्। अब आउने दिनमा मनसुनी वर्षा हुन्छ। चट्यांग र मेघगर्जनसहितको वर्षा भइरहेको भए पनि त्यो विस्तारै हटेर जान्छ। हावाहुरी, मेघगर्जन मनसुनी वर्षामा हुँदैन। हाल राम्रोसँग मनसुन नफैलिएको र मिश्रित वायुको प्रभावको कारण हावाहुरी र मेघगर्जनसहितको वर्षा भइरहेको मानन्धरले बताइन्।
पश्चिममा पनि बैतडी, बझाङ, अछामतिर हावाहुरीसहितको वर्षा भइरहेको उनले बताइन्। हाल अध्ययनका सिलसिलामा अछाम पुगेका, सहप्राध्यापक सिग्देलले पनि त्यहाँ हावाको ओस पश्चिममा पुग्न थालेको उनले जनाए। मनसुन भित्रिएको सातामा पश्चिम पुग्नुपर्ने भए पनि आगामी केही दिनमा मनसुन सबैतिर फैलिने उनले जनाए।