सुध्रिंदै सडक फेरिँदै जीवनस्तर
भोजपुर : करिब १५ अघिसम्म भोजपुरमा पैदल धाएरै सहरबजार गर्नुपथ्र्यो। सामान ओसारपसारका लागि भरिया र खच्चर मात्र विकल्प हुन्थे। सडक बनेका थिएनन्। मानिस हिँडेरै दैनिकी बित्थ्यो। अहिले गाउँका हरेक कुनाकन्दरासम्म सडक पुगेको छ। जिल्लाभित्रका मुख्य ग्रामीण सडकहरू कालोपत्रे बनेका छन् भने केही निर्माणाधीन अवस्थामा छन्। स्तरीय सडकका कामहरूले जीवनस्तर सहज बनेको छ। अर्थोपार्जनका प्रशस्त बाटोहरू खुलेका छन्। वास्तवमा सडकले विकासको लहर ल्याएको छ।
संघीयता पछिका तीनै तहका सरकार बनेपछि सडकीकरणलाई पहिलो प्राथमिकतामा राख्दै विकासे कामहरू धमाधम सुरु भए। विशेषगरी नागरिकहरूको जीवनस्तर उकास्न र आम्दानीका स्रोतहरू प्रशस्त गर्न स्थानीय तहहरूले गाउँबस्तीसम्म सडकहरू खन्ने, खनाउने कामलाई तीव्रता दियो। सडकहरूको स्तरोन्नतीदेखि कालोपत्रे गर्ने दिगो कामलाईसमेत अघि बढाएका छन्।
यतिबेला दर्जनौं मुख्य ग्रामीण सडकहरू धमाधम स्तरोन्नतिका क्रममा छन्। उत्तरी भेगको विकासे साँघुका रूपमा रहेको करिब ५१ किलोमिटरको भोजपुर दिङला सडकखण्डको कालोपत्रे कामले गति पाएको छ। पहिलो खण्डअन्तर्गत करिब ५८ करोड लागतको भोजपुरदेखि तीनतलेसम्मको साढे १७ किलोमिटरको सडकखण्ड कालोपत्रे काम चलिरहेको छ भने दोस्रो खण्डअन्तर्गत करिब ६३ करोड लागतको तीन तलेदेखि दिङ्ला बजारसम्मको साढे ३३ किलोमिटर सडकखण्डको पनि कालोपत्रे काम चलिरहेको छ। रायमाझी मार्सेली जेभी र बानियाँ निर्माण कम्पनीले उक्त कालोपत्रे कामको ठेक्का पाएको हो। अक्सफल्ड प्रविधिबाट निर्माणाधीन उक्त सडकखण्डको कालेपत्रे काम तोकिएको समयभित्रै सम्पन्न गरी सरकारलाई बुझाउने र गुणस्तरीय काम गराउन निरन्तर अनुगमन भइरहेको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बताए।
यस्तै ३१ किलोमिटर दूरीको जिल्लाको पूर्वी तिवारीभञ्याङ अधेँरीघाट सडकको पहिलो प्याकेजअन्तर्गतको कालोपत्र काम सकिएको छ। पुष्पलाल मध्यपहाडी लोकमार्गदेखि पौवादुङमा गाउँपालिकाको केन्द्र च्यांग्रे बजारसम्मको करिब ३ किलोमिटर सडकखण्डको कालोपत्रे सकिएको हो। जिल्लाभित्रको तरार्ई जोड्ने सबैभन्दा छोटो मार्ग रहेको उक्त सडकको कालोपत्रे काम गाउँपालिकाको वडा नं २, तिवारी भञ्याङबाट थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए।
पहिलो प्याकेजअन्तर्गतको कालोपत्रे निर्माणमा सडक डिभिजन कार्यालय तुम्लिङटारको पहिलो र दोस्रो प्याकेज गरी पाँच करोड दुई लाख र गाउँपालिकाको एक करोड गरी कुल ६ करोड बराबरको लागतमा काम भइरहेको उनले बताए। सडकको कालोपत्रे काम संघीय समपूरक अनुदान, प्रदेश समपूरक अनुदान र गाउँपालिकाको लागत साझेदारीमा सुरु गरिएको हो। गत पुस पहिलो साताबाट सडकको कालोपत्रे काम २०८१ साल असार २० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ। आगामी ३ वर्षभित्र गाउँपालिकाभित्रको सम्पूर्ण सडकखण्ड कालोपत्र गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए। उनले भने, ‘यो सडक हाम्रो गाउँपालिकाको गौरवको योजना हो। धेरै मेहनत गरेर स्रोतको व्यवस्थापन गरी कालोपत्रेको काम थालनी गरेका छौं।’
विकासको ढोका मानिएको ६६ किलोमिटर दूरीको भोजपुर लेगुवा सडक र ४२ किलोमिटर दूरीको पुष्पलाल मध्यपहाडी लोकमार्ग यसअघि नै कालोपत्रे भइसकेका छन्। त्यस्तै प्रदेश सरकारको १६ करोड ९२ लाख लागतको भोजपुर विमानस्थल जोडिने ५ किलोमिटर सडकखण्ड कालोपत्रे बनिसकेको छ।
विकासे कामहरू गर्न सहज
दशकअघिसम्म सडककै कारण गाउँबस्तीमा विकास पुगेको थिएन। जनजीवन कष्टप्रद नै थियो। तर, अहिले विकासको लहरले गाउँबस्तीहरू कायापलट भएका छन्। सडकको पहुँच पुग्न थालेपछि भोजपुरमा पछिल्ला वर्षहरूमा एक पछि अर्को गर्दै विकासका क्रमहरू थपिएका छन्।
सडकहरू बन्ने र पुग्ने क्रमले स्थानीय तहहरूको विकासे कामहरूमा टेवा मिलेको छ। बिजुली, खानेपानी, साना ठूला योजनाका कामहरूका लागि आवश्यक कच्चा पदार्थहरू पु¥याउन सहज भएको छ। सडककै कारण आयोजनाका कामहरूमा बाधा अवरोध छैन। कामलाई गुणस्तरीयता दिन र समयमै सम्पन्न गर्न ती कच्चापदार्थ ढुवानीमा सहज भएको टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख रमादेवी राईले सुनाइन्।
‘वास्तवमै पहिलेको तुलनामा अहिले गाउँबस्तीसम्म सडकको पहुँच पुगेकाले पनि गाउँगाउँमा हुने आयोजनाका कामहरूमा कच्चापदार्थ ढुवानीमा सहज पुगेको छ।’ उनले भनिन्, ‘पहिले जस्तो आयोजनाका कामहरूको अनुगमन गर्न त्यति झन्झट छैन। कामको गुणस्तरीयता बढाउन सामान ढुवानीहरू भनेकै समयमा ल्याउन पनि सजिलो भएको छ। नत्र त पहिलेपहिले सामानहरू बोकेर ल्याउन र पु¥याउनै सास्ती हुने गथ्र्यो।’
जीवनस्तरमा परिवर्तन
सडक आएपछि ग्रामीण भेगका मानिसको जीवनस्तरमा पनि परिवर्तन आएको छ। करिब २५ वर्षअघिसम्म मानिस खाने नुन लिन पनि हप्तौं कष्टकर पैदलै हिँडेर हिले, धरान, विराटनगर गर्नुपथ्र्यो। तर, आजभोलि त्यस्तो स्थिति छैन। अहिले आँगनमै दैनिक आवश्यक सामाग्री किन्न र लिन पाइन्छ। यातायातका साधनहरू घरदैलोमै आउँछन्। केही वर्षअघिसम्म भरिया चल्ने गोरेटा बाटाहरूमा अहिले मोटर चल्न थालेका छन्। सडकहरू पुग्न थालेपछि एकपछि अर्को गर्दै गाउँगाउँमा विकासको लहर ल्याएको छ।
‘दश÷बाह्र वर्षअघिसम्म जे विगत थियो, जे दुःख थियो अहिले त्यो छैन। गाउँघरका कुनाकन्दरासम्म सडक पुगेको छ। हिउँद बर्खा नै गाडी चल्छ। पहिले जस्तो चामल लिन ३ दिन हिँडेर भोजपुर बजार निस्कनुपर्ने झन्झट नि छैन, घरमै आइपुग्छ’ उत्तरी साल्पासिलिछो गाउँपालिका दोभाने चिलिमधापका पासाङ तामाङ भन्छन्, ‘मुकाम जाने कामै परे पनि एकैदिनमा पुगेर आउन सकिन्छ, कष्टकर हिँड्ने जुनी गए।’
कृषिउपजले बजार पायो
सडकको पहुँच पुग्न थालेपछि ग्रामीण भेगका स्थानीय व्यावसायिक कृषि उपज र पशुपालनले पनि राम्रो बजार पाउन थालेको छ। उत्पादित कृषिबाली सहजै सदरमुकाम लगायत बाहिरी सहर बजारसम्म पुग्ने भएपछि राम्रो अर्थोपार्जन हुन थालेको छ। ढुवानी गर्ने सवारीसाधनले उत्पादित टमाटर, बन्दा, खुर्सानी, आलु जस्ता कयौं मौसमी र बेमौसमी तरकारीबालीहरू र दुग्धजन्य सामाग्री, अण्डा, मासुका लागि व्यावसायिक रूपमा सञ्चालन गरिएका पशुपालन व्यापारले राम्रो बजार र मूल्य पाएको छ।
दैनिक ज्यालादारीमा डोकोमा तरकारी बेच्दै हिँडेका दिनहरू सम्झँदै भोजपुर टक्सार पारपानीका स्थानीय कृषक तुलसा श्रेष्ठले सडक आएपछि कृषकको जीवनशैली नै फेरिएको बताइन्। भनिन्, ‘सडकले विगतका दुःखकष्टहरू हटाइदिएको छ, गाडीहरू घरमै तरकारी लिन आउँछन्, बजारको तरकारी माग धेरै आउने भएकाले पहिलेभन्दा अहिले चारगुणा आम्दानी बढेको छ।’ सडक कालोपत्रे भएपछि सवारी ढुवानी खर्च घटेकाले पनि कृषकलाई थप सहज भएको उनले सुनाइन्।