वास्तवमा सिनेमाको कथा जस्तो लाग्छ– संगीत सिक्न बर्दियादेखि काठमाडौंसम्म आएको करणको कथा। जहाँ दु : ख छ, अभाव छ, संघर्ष छ, मेहनत छ अनि अपार सफलता छ।
असार ११ गते मंगलबार बेलुकातिर प्रधानमन्त्रीका निजी फोटोग्राफर तथा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तको फोन आयो, ‘करण परियारलाई प्रधानमन्त्रीसँग सरप्राइज भेट गराउने योजना छ, भोलि बिहान बालुवाटार ल्याइदिनु पर्यो भनियो।
निर्देशक (नेपाल आइडल)का नाताले उत्कृष्ट चारका करणलगायत बाँकी तीन (सलोमी, सचिन र मोहित पनि मेरा लागि उत्तिकै महत्त्वपूर्ण थिए, त्यसैले भनिहाले करणमात्रै किन ? चारैजनालाई भेटाउन पाए सबै दंग पर्थे’ वन्तको जवाफ थियो, ‘अहिलेलाई करणलाई मात्र भेटाउने गरी तयारी गरेका छौं, कृपया पठाइदिनु पर्यो’ मैले केही बेर समय मागें। घोत्लिएँ। लाग्यो– करण आखिर विजेता हुन्, केही विशेष त उनले ‘डिजर्भ’ गर्छन् नै।
दिन : असार १२ गते, बुधबार
स्थान : प्रधानमन्त्री निवास, बालुवाटार
करण : यो कसको घर हो ?
डी.आई. सुभाष : यो नेपालको प्रधानमन्त्री बस्ने घर हो, चिनेको छौ ?
करण : को हो प्रधानमन्त्री ?
डी. आई. सुभाष : प्रधानमन्त्री हाम्रो देशको अभिभावक, पुष्पकमल दाहाल, प्रचण्ड भनेर पनि चिनिन्छन्।
करण : फोटो देखाउनु न मलाई।
डी. आई. सुभाष : गुगलबाट फोटो देखाउँदै।
करण : ए इन्डियाको नरेन्द्र मोदी भनेजस्तै हो ?
डी. आई. सुभाष : हो।
त्यसपछिको कथा सबैसामु छर्लंग छ।
टेलिभिजनमा सञ्चालित एउटा कार्यक्रमका विजेतालाई आफ्नै सरकारी निवासमा भेटेर देशको बहालवाला प्रधानमन्त्रीले पुरष्कृत गरेको सम्भवत : यो पहिलो पटक हो, यो वास्तवमा उत्साहजनक छ।
उत्साहजनक छ, संगीतमा रुचि राख्ने युवाका लागि, उत्साहजनक छ कार्यक्रमका जजहरूका लागि किनकि करण उनीहरूकै खोज हुन्। उत्साहजक छ यसको निर्माण एवं निर्देशन पक्षका लागि। र, समग्रमा उत्साहजनक छ, यो भव्य मञ्चको लगानीकर्ता एपीवान टेलिभिजन व्यवस्थापनका लागि।
यो सम्मानका लागि प्रधानमन्त्रीलाई कोटीकोटी धन्यवाद। हरेक दिन युवाविहीन बन्दै गएको देशमा कुनै एउटा क्षेत्रको भविष्यको कर्णधारलाई बोलाएर सम्मान एवं पुरष्कृत गर्नु आफैंमा महत्त्वपूर्ण छँदैछ। करण त खुसी भैहाल्ने भए, कल्पना गर्न सकिन्छ, पद्नाहा (बर्दिया)मा करणका बाबुआमा कति खुसी भए होलान्। अवश्य पनि गाउँमा उनीहरूको इज्जतमा इजाफा भयो होला। हिजोसम्म आफ्नै नाम अनि कामले चिनिने उनीहरूको नयाँ पहिचान बन्यो होला ‘नेपाल आइडल विजेता करणका बाबुआमा’ ‘प्रधानमन्त्रीले पुरष्कृत गरेको करणका बाबुआमा’।
यसअघि करण विजेता भएको भोलिपल्टै सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत करणलाई बधाई दिइसकेका थिए। करणको अन्तर्वार्ता चाहियो भनेर थिएटर राउन्ड सकिएपछि नै फोनहरू आउन थालिसकेका थिए, तर त्यतिबेला सम्भव थिएन। अन्य प्रतिस्पर्धीसँगै करण पनि आफ्नो सुरताल मिलाउन संगीत अभ्यासमा तल्लीन हुनुपर्ने समय थियो त्यो। अब केहीबेर करणको कथा एकैछिन यहीँ थाती राखौं।
सलोमीको सुर : आसिफ र रिमाले पटकपटक भने, ‘नेपाल आइडलकी एकमात्र नारी जो छिन् सबैमा भारी’ वास्तवमा त्यस्तै भयो, निर्णायकहरूले भनिसकेका छन् मेल र फिमेलमा बाँड्ने हो भने फिमेलतर्फको नेपाल आइडल सलोमी नै हो भनेर।
वास्तवमा सलोमीको प्रस्तुतिले उनीहरूलाई सधैं खुसी बनायो, दर्शकलाई पनि। जिम्मामा परेको हरेक गीतलाई आफ्नो स्वरले सलोमीले जीवन्त तुल्याइन्। संगीतको औपचारिक ज्ञान नहुँदा नहुँदै पनि फस्र्ट रनरअपसम्म हुनुले प्रमाणित गर्छ उनको मेहनत। सामान्य हुनेखाने परिवारबाट आएकी सलोमीले एकपटक फेरि पोखराको इज्जत राखेकी छन्। प्रतिस्पर्धात्मक कार्यक्रम हो भन्ने थाहा हुँदाहुँदै पनि कम भोटका कारण साथीहरू बाहिरिँदै गर्दा सलोमी रोएकी छन्।
सचिन र मोहितको सम्मोहन : दार्जिलिङका यी दुई होनहारले पनि सिजन ५ मा नयाँ आयाम थपे। पहिलोपटक देशबाहिरका प्रतिभाले नेपाल आइडलमा सहभागी हुने अवसरमात्र पाएनन् कि अवसरको सदुपयोग गर्दै आफूलाई अब्बल ४ मा पार्न पनि सफल भए।
गायनमात्र हैन, उनीहरूको बोलीचालीले पनि दार्जिलिङको मिठास सिजन ५ ले पायो। जजहरूका अनुसार उनीहरू लामो रेसका घोडा हुन् किनकि उनीहरूले संगीत सिकेका छन् र अभ्यासमा धेरै समय बिताएका छन्। यताका प्रतिस्पर्धीहरूको छनोटमा नपरेको गीत उनीहरूले मजै गाए, सिनेमाको होस् वा केही पुराना कलाकारहरूको होस्। नारी आवाजका गीतहरू यिनीहरूले प्रस्तुत गर्दा गीतै नयाँ भएको जस्तो लाग्थ्यो।
- गीत सुन्ने क्रम निकै बेर चल्यो, निर्णायकहरूले एकपछि अर्को गीत फर्माइस गर्दै गए, करण गाउँदै गए। सामान्यत : २ वा ३ गीतपछि अर्काे राउन्डमा लैजाने वा नलैजाने निर्णय भइसक्छ तर यहाँ अवस्था भिन्न थियो।
- करणको कथाभित्र दु : ख, अभाव, संघर्ष, मेहनतमात्र छैन, अपार सफलता पनि छ। त्यो पनि पाँच महिना पुग्दा नपुग्दै, जीवनको एउटा बिन्दुबाट अर्काे बिन्दुसम्मको उनको यात्रामा दर्शकले जबर्जस्त रूपमा आफूलाई करणसँग जोडेका छन् यसपटक।
- परिणाम र प्रस्तुतिलाई लिएर विभिन्न मुडमा हुन्थे उनी। अर्थात् करण यसमा सदैव अपवाद रहे। उनी हमेशा एउटै मुडमा हुन्थे। स्टेजमा पालो आउँदा गाउने, पालो नआउँदा आफ्नो अभ्यास गरिरहने र कहिलेकाहीँ टिचर (सलोमी)सँग जिस्किरहने।
करणको जादु
मिति : १ फागुन, २०८०
स्थान : द म्यासिभ होटेलको निर्माणाधीन भवन,
ग्वार्को, ललितपुर।
नेपाल आइडल सिजन ५ को काठमाडौं अडिसन चलिराखेको थियो, त्यही अडिसनमा सिजन वानका राहुल विश्वास पनि तीन सिजनको विश्रामपछि आएका थिए, उनको कर्णप्रिय स्वरले उनलाई गोल्डेन माइक्रोफोनमात्र दिलाएन। बरु निर्णायक इन्दिरा जोशीलाई द्रवित पनि बनाएको थियो। त्यस उप्रान्त ठीकै खालका आवाजहरूमात्र जजहरूले सुन्न पाए, आआफ्नो तजबिजअनुसार धेरैलाई अस्वीकृत र केहीलाई स्वीकृत गर्दागर्दै रात छिप्पिइसकेको थियो। अब यति नै हो यहाँबाट पाउने आवाजहरू, चारवटा गोल्डेन माइक्रोफोन विजेता पनि भइहाले भनेर निर्णायकहरू सन्तोष मान्दै थिए।
यत्तिकैमा श्यामवर्ण, फुस्रो मुहार, गोडामा मोजा र चप्पल, औंलाहरू आधा निस्किएको पन्जा लगाएका एक खिरिलो युवा जजहरू सामु आइपुगे। नाम सोधियो, जवाफ आयो– करण परियार। काम सोधियो, गर्वसाथ जवाफ आयो– कार्पेट डेलिभरी गर्छु।
संगीत सिके नसिकेको बारेमा सोधियो, केही महिना भयो सिक्दै गरेको भन्ने जवाफ आयो। त्यसपछि गाउन भनियो, भन्नै पर्ने हुन्छ जसै उनले गाउन थाले तीनैजना निर्णायकहरू एकअर्कालाई हेरेको हेरै भए। खुसी हुँदा न्ह्यु वज्राचार्यको मुहारमा एउटा सन्तोषको भाव देखा पर्छ।
गीत सुन्ने क्रम निकै बेर चल्यो, निर्णायकहरूले एकपछि अर्को गीत फर्माइस गर्दै गए, करण गाउँदै गए। सामान्यत : २ वा ३ गीतपछि अर्काे राउन्डमा लैजाने वा नलैजाने निर्णय भइसक्छ तर यहाँ अवस्था भिन्न थियो। जजहरू केहीबेर छलफलमा लागे। र फेरि कुनै एउटा गीत गाउन सक्छौं भनेर सोधियो। करणले गाइदिए, वास्तवमा करण तयार थिए हरेक गीतका लागि। सामान्यता दुई वटा गीतपछि अरू गीत गाउन भनियो भने प्रतिस्पर्धीहरूले त्यति राम्रो नगाउने गरेको अनुभव छ तर करण यसको अपवाद थिए, टेलिभिजनमा प्रसारण नगरिएका गीतहरू पनि उनले उत्तिकै राम्रो गाएका थिए।
वास्तवमा सिनेमाको कथा जस्तो लाग्छ– संगीत सिक्न बर्दियादेखि काठमाडौंसम्म आएको करणको कथा। जहाँ दु : ख छ, अभाव छ, संघर्ष छ, मेहनत छ अनि अपार सफलता छ। त्यो पनि पाँच महिना पुग्दा नपुग्दै, जीवनको एउटा बिन्दुबाट अर्काे बिन्दुसम्मको उनको यात्रामा दर्शकले जबर्जस्त रूपमा आफूलाई करणसँग जोडेका छन् यसपटक।
सबैभन्दा महत्वपूर्ण आइडलको मञ्चमा आफ्नै बुतामा उनले हासिल गरेको उपलब्धि छ। करण आफैं भन्छन्, सबै सपनाजस्तो लागिराखेको छ। बिहान उठ्दा माथि टिनको छानो देख्ने उनले अहिले आँखा खोल्दा एसी देख्छन्। खाने कुराको अभावमा साथीको घरमा शरण लिएका करण खानाको चिन्ताबाट मुक्त छन्। उनको सरलपनाको सबै कायल छन् तर उनी जिम्मेवार पनि उत्तिकै छन्।
कार्पेट डेलिभरीको कमाइबाट प्राप्त पैसामा उनले संगीतमात्र सिकेनन्। घरमा पनि पठाउँदै आएका छन्। कहिलेकाहीँ आमाले ‘बाबु तिमीले एउटैमात्र लुगामात्र लगाएको देख्छु, नयाँ लुगा किनेर लगाऊ’ भन्दा ‘लुगा त म लगाइहाल्छु। पहिला तपाईंहरूलाई सबै पुर्याउँछुु’ भन्ने उनको जवाफ हुन्थ्यो।
कार्यक्रम छायांकनका बेला प्रतिस्पर्धीहरू भोटिङको परिणाम र प्रस्तुतिलाई लिएर विभिन्न मुडमा हुन्थे। करण यसमा सदैव अपवाद रहे, उनी हमेशा एउटै मुडमा हुन्थे। स्टेजमा पालो आउँदा गाउने, पालो नआउँदा आफ्नो अभ्यास गरिरहने र कहिलेकाहीँ टिचर (सलोमी)सँग जिस्किरहने। एकदुई पटक डेन्जर जोनमा पर्दा स्टेजमा उभिएका बेला केही चिन्तित देखिए पनि अरू बेला सदैव हँसिलो।
जे होस्, सलोमी, सचिन र मोहितको उपस्थितिमा सिजन ५ समाप्त भएको छ। परिणाममा दर्शकमात्र हैन, स्वयं प्रतिस्पर्धीहरू पनि खुसी देखिन्छन्। वास्तवमा भोटबाट नै विजेता निर्धारण हुने भएन पनि आफूले चाहेको प्रतिस्पर्धी विजयी नहुँदा अवगाल पनि निर्माण पक्षले नै व्यहोर्नु पर्ने हुन्थ्यो। अहिले त्यस्तो केही सुन्न नपर्दा सन्तोष लाग्नु स्वाभाविकै हो।
‘शो मेकर’ नाताले हाम्रो टोलीको मेहनत हरेक सिजनमा उस्तै हुने गर्छ। कहिलेकाहीँ एकछत्र रूपमा धेरै दर्शकको मन खाने कलाकार आइदिँदा त्यो मेहनत सुनमा सुगन्ध भइदिने गर्छ। यही नै हो सिजन ५ को सफलता। तर के सिजन ६ पनि यस्तै रहँला ? के करणलाई बिर्साउने कुनै कलाकार कतै तयार हुँदैछ ? यो जिज्ञासा सबैमा रहने नै भयो। हामीलाई भने चुनौती छ, सिजन ६ का लागि त्यो कलाकार खोजी गर्ने।
(पौडेल, नेपाल आइडलका प्रोजेक्ट हेडर निर्देशक हुन्।)