पैसा बगाउने सिँचाइ डिप बोरिङहरू !

पैसा बगाउने सिँचाइ डिप बोरिङहरू !

सिरहा : डिपबोरिङ : एक 

लहान नगरपालिका–२४ रायटोलमा किसानहरूले सिँचाइका लागि आर्थिक वर्ष २०४०/०४१ मै डिप बोरिङको योजना ल्याए। ६० विघा जग्गामा सिँचाइ हुने भनेर विवरणसहित कागजात भूमिगत जलस्रोत कार्यालयमा पेश गरे। उपभोक्ता समिति बनाएर काम गरे। बोरिङ सञ्चालनमा आयो। खेतखेतमा पानी पु¥याउन पक्की नाला बनाए। सञ्चालनमा आएपछि सुरुको ५/६ वर्ष राम्रै सिँचाइ भयो। बिग्रेपछि हालसम्म मर्मत हुन सकेको छैन। 

फेरि सञ्चालन गर्न ०७७ सालमा संसदीय पूर्वाधार विकास कार्यक्रमबाट ५० लाख बजेट विनियोजन भयो। बोरिङ सञ्चालक समितिले आफैं काम गर्न उपभोक्ता समिति बनायो। तत्कालीन वडाध्यक्ष कमलदेव यादवले ती उपभोक्तालाई सदर गर्न मानेनन् । बजेट फिर्ता भयो। उपभोक्ता समितिमा विवाद बढ्ेपछि काम भएन। चालु आर्थिक वर्षमा नगरपालिकाले १० लाख बजेट बिनियोजन गरिदियो तर, मर्मत भएन।

यो बोरिङमा प्यानल बोर्ड बिग्रेको छ। विद्युत् महसुल ६६ हजार नतिरेपछि लाइन काटिएको छ। ठाउँठाउँमा नालाहरू भत्केका छन्। पटक–पटक मर्मतका लागि पैसा आएपनि काम नभएको स्थानीय सोतिलाल महतो सुनाउँछन्। ‘बोरिङ राम्रो भएको बेला सिँचाइ हुन्थ्यो। विवादका कारण बन्द भएको छ। किसानहरू मारमा छन्, उनले भने, ‘सरकारी कार्यालयहरूले पनि यहाँ गाउँमा पुरानोलाई मर्मत गर्न छोडेर नयाँ जडान गरेका गरै छन्।’ मर्मत गरे थोरै पैसा खर्च भएर काम सम्पन्न हुने उनले सुनाए।

डिपबोरिङ : दुई

यही वडाको यादव टोलमा नक्टाझिज सिँचाइ कार्यालय जनकपुरबाट २० वर्ष डिप बोरिङ जडान भयो। दुई वर्ष राम्रैसँग पानी दियो। किसानहरूले सिँचाइ गर्न पाए। त्यसपछि बिग्रियो। अहिलेसम्म मर्मतका लागि सुरसार भएको छैन। स्थानीयले बोरिङ घरमा काठ, दाउरा राखेका छन्। भौतिक संरचनाहरू पनि भत्किँदै गएका छन्। 

‘यो बोरिङ यति सफल थियो कि नालाभन्दा बढी पानी चल्थ्यो। नालाले ठाउँठाउँमा थाम्नै मुस्किल हुन्थ्यो। पानी धेरै नाला साँघुरो भएको थियो,’ त्यस बेलाको समय सम्झिँदै ८० वर्षीय महादेव यादवले भने, ‘महेन्द्र महतोले त शिव चौकसम्म पानी लग्न भ्याएका थिए। के कारणले बन्द भयो अहिलेसम्म सञ्चालन गर्ने गाउँका अगुवाहरूको सुरसार छैन।’ स्थानीय स्तरमा अगुवाहरूमा पार्टीप्रति फिलिङ बढी भएर यहाँका बोरिङहरू मर्मतको अभावमा बन्द रहेको उनले सुनाए। प्यानल बोर्ड मर्मत, नाला फराकिलो र विद्युत् महसुल तिरेर सञ्चालन गरिदिए यहाँका किसानहरू उत्साहित हुने उनको भनाइ छ। मर्मतका कारण वर्षौसम्म बन्द रहनु दु:खद कुरा रहेको उनले बताए।

डिपबोरिङ : तीन 

यही गाउँमै टाँसिएका लहान नगरपालिका–१४ वस्तीपुरमा पनि ०७१ सालमा सिँचाइ कार्यालय लहानबाट डिप बोरिङ जडान भयो। एक वर्षसम्म किसानहरूले सिँचाइ गर्न सफल रहे। ०७२ सालमा भूकम्प आयो। बोरिङ बिग्रियो। बोरिङ सञ्चालक समितिका अध्यक्ष रामप्रसाद यादवले सिँचाइ कार्यालय लहानमा पटक–पटक मर्मतका लागि निवेदन हाले। तर, काम भएन। 

आर्थिक वर्ष ०७८/०७९ मा सिँचाइ कार्यालय नक्टाझिज जनकपुरबाट नेतालाई भनसुन गरेर अर्को बोरिङ जडान गर्ने योजना ल्यायो। त्यहाँँका प्राविधिकहरूले पहिलेको बोरिङ नचल्ने र केही भौतिक संरचना प्रयोग नयाँ जडान गर्ने सुझाए। सोहीअनुसार काम भयो। पुरानो बोरिङको घर र पाइपलाइन प्रयोग गरे। नयाँ जडान भयो। हुँदाहुँदा विद्युत्को ट्रान्सफर्मर पनि नयाँ हालियो । पुरानो चालु अवस्थाको ट्रान्सफर्मर भुइँमा त्यतिकै फालिएका छन्। बोरिङ केहीदिन चलेर बन्द छ।

यी तीन वटा बोरिङ उदाहरणका लागि मात्रै हो, यहाँका वडा–२४ मा १२ वटा, वडा–१४ मा ४ वटा र वडा–१३ मा ४ वटा गरी २० वटा डिप बोरिङ जडान भएका छन्। जसमध्ये ५ वटा आंशिक रूपमा सञ्चालनमा छन्। १५ वटा मर्मतकै लागि बन्द छन्। अधिकांश बोरिङमा प्यानल बोर्ड, मोटर र सफाई गराउनुपर्ने देखिन्छ। डिपबोरिङ बाहेक पनि सैयौँ वटा स–साना बोरिङहरू जडान भएका छन्। यहाँका बोरिङहरू भूमिगत जलस्रोत कार्यालय लहान, कमला सिँचाइ अयोजना र नक्टाझिज सिँचाइ आयोजना जनकपुरले जडान गरेका छन्। एउटा बोरिङ जडान र पाइप लाइन विस्तारमा एक करोडदेखि डेढ करोडसम्म बजेट लाग्छ । ४० देखि ६० विघासम्म सिँचाइ एउटा बोरिङले गर्न सक्छ। 

तर, नियामक निकायको ध्यान नपुगेपछि अधिकांश बोरिङहरू अलपत्र भएको स्थानीय सुदिप महतोको भनाइ छ। ‘देशमा व्यवस्था फेरिएपछि कुनै कार्यालय संघ र कोही प्रदेशमा गाभिएका छन्। अब मर्मत गर्न अर्को कार्यालयले गरेको काममा अहिलेको कार्यालयहरूले बजेट नै दिँदैन,’ स्थानीय तहले त झन ध्यान नै दिएको छैन। हेर्दा बोरिङहरमा पानीभन्दा बढी पैसा बगेका छन्। ठूलो बोरिङ मर्मत छोडेर नेताहरूले कार्यकर्ताको भनाइ सुनेर खेतखेतमा ससाना बोरिङ जडान गर्न व्यवस्त देखिन्छ। तर, ठूलो बोरिङमा चासो दिएका छैनन्। लाखौं रुपैयाँ त्यतिकै बर्बाद भइरहेको छ।’ भनसुनका आधारमा योजनाहरू वितरण हुँदा पार्टीका नेताहरूले पार्टीपिच्छे ठाउँठाउँमा बोरिङ जडान गराएको उनले सुनाए।

सिँचाइ अभावले खेती गर्न कठिनाइ भएको स्थानीय रमेश यादवले सुनाए। ‘यहाँका टोल टोलमा आवश्यकताभन्दा बढी सिँचाइ बोरिङ भएका छन्। तर, काम लाग्ने एउटा पनि छैन। सरकारी कार्यालयका प्रमुखहरूले पनि अनुगमन गरेर योजना बनाउँदा पैसा खेर जाँदैन,’ उनले भने, ‘गाउँगाउँमा बोरिङ आयो तर, सिँचाइ भएन किन होला ? कहिले पनि सम्बन्धित निकायको चासो देखिएको छैन।’ एउटा कार्यालयले गरेका काममा त्यस्तै काम गर्ने कार्यालयले चासो नदिँदा दिनदिनै बोरिङहरू खण्डहर बन्दै गएको उनको भनाइ छ। 

‘बोरिङ जडान भएपछि उपभोक्ता समितिलाई हस्तान्तरण गरिन्छ। स–साना मर्मत समितिले र ठूलो मर्मत कार्यालयले गर्न हो,’ भूमिगत जलस्रोत विकास डिभिजन कार्यालय लहानका सूचना अधिकारी सव इन्जिनियर मुकेश यादवले भने, ‘सीमित बजेटमा आएका निवेदनहरूमा काम गरिरहेका छौं।’ कार्यालय स्रोतका अनुसार यहाँबाट पठाइएका योजनाभन्दा फरक योजनाहरू समावेश भएर पुराना बोरिङहरू मर्मत हुन सकेका छैनन्। मन्त्री, नेताले आवश्यकता भन्दा कार्यकर्तालाई खुशी बनाउने सिँचाइका योजनाहरू ल्याउँदा समस्या झन बढ्दै गएको स्रोतको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.