दिवा खाजा चेपाङ बालबालिकाका लागि बरदान
गोरखा : बिहानै घरमा भरेर गएको पेट दिउँसो एक बजे, दुई बजेबाट खालि हुँदै गएपछि प्रजाबस्ती आधारभूत विद्यालयका विष्णु चेपाङलाई पढाइतिर भन्दा भोकतिर ध्यान जान्थ्यो। पढाइ लेखाइको रापभन्दा खालि पेटको तापले तनाव दिन्थ्यो।
‘खाजा खान नपाएको भए हाम्रो ध्यान भोकतिर जान्थ्यो’, उनले भने, ‘पेटभरि खाजा पाएपछि ध्यान पढाइतिर जान्छ। खाजाले गर्दा स्कूल पनि धेरै आउँछन्।’ विष्णुको मात्र होइन, यो अवस्था प्रजाबस्ती आधारभूत विद्यालयमा पढ्ने १२५ जना सबैको मनोविज्ञान हो । तर जब सरकार र सामाजिक संघसंस्थाले स्कुलमै पेटभरि खाजा खुलाउन सुरु गरे, तब त्यहाँँका विद्यार्थीको तनाव समाप्त भयो। चेपाङलाई अर्को शब्दमा प्रजा पनि भन्ने गरिन्छ। त्यसैले करिब तीन सय घरधुरी प्रजा(चेपाङ)को बस्तीमा खुलेको यस विद्यालयको प्रजाबस्ती आधारभूत विद्यालय भनेर नाम राखियो।
‘यहाँ अहिले कक्षा आठसम्म सञ्चालित छ’, शिक्षक यानमाया चेपाङ भन्छिन्, ‘यस विद्यालयमा अहिले करिब १ सय २५ जना विद्यार्थी पढ्छन्। सबै विद्यार्थी चेपाङ समुदायकै हो।’ घरमा पेटभरि खान नपाउँदा यहाँका चेपाङ बालबालिका दिउँसो भोकको राँकोले जलेको देखेपछि चेपाल चेपाङ संघले यहाँका सबै बालबालिकालाई दिवा खाजाको प्रवन्ध गरेको उनको भनाइ छ।
‘यहाँको बालबालिकाको अवस्था देखेपछि चेपाङ संघले २०७२ सालभन्दा अघिदेखि खाजाको व्यवस्था गरिदियो’, शिक्षक चेपाङ भन्छिन्, ‘२०७२ सालपछि यहाँ अर्को एक सामाजिक संस्था करुणा फाउन्डेसन आयो। त्यसले चेपाङ संघसँग हातेमालो ग¥यो र यहाँ दुइटा विद्यालय भवन बनाइदियो। खाजा कार्यक्रममा पनि साथ दियो।’ साथै यहाँका महिलालाई सिलाइबुनाइ तालिम दिएर उनीहरूले बनाएको झोला तथा अन्य सामग्री विदेश पठाउने व्यवस्था मिलाइदिएको उनको भनाइ छ।
विगत तीन वर्षदेखि कक्षा १ देखि पाँचसम्मका बालबालिकालाई खाजाको व्यवस्था गाउँपालिकाले नै गर्न थालेको छ। कक्षा ६, ७ र ८ का लागि करुणामय फाउन्डेसनले व्यवस्था गरेको उनले बताइन्। खाजा कार्यक्रम चेपाङ बालबालिकाका लागि धेरै नै प्रभावकारी भएको छ। गरिबीले ग्रस्त चेपाङ बालबालिका घरमा काम चलाउ मात्र खाएर स्कूलमा पेटभरि खाजा पाउने आशामा नियमित आउने शिक्षक ज्ञानेन्द्र सुनार बताउँछन्। खाजा कार्यक्रम गरिब, विपन्न चेपाङ समुदायका बालबालिकाका लागि बरदान सावित भएको उनको भनाइ छ।