बाबा, म स्कुल जान्नँ !

बाबा, म स्कुल जान्नँ !

अहिलेको समयमा बालबालिकाले स्कुल जान निकै सकस महसुस गर्ने गरेका छन्। हाम्रो शिक्षण पद्धति, पाठ्यक्रम र परीक्षा प्रणाली निकै पुरानो शैलीबाट सञ्चालन हुँदै आइरहेको छ।

न सरकारले न शिक्षक न हाम्रो पाठ्यक्रम सबैले किन पढ्ने भन्ने कुरालाई प्रमाणित गर्न सकेका छैनन्। त्यसैले बालबालिकाले निकै समस्या भोग्नु परेको छ। परिवारका सपना पूरा गर्नुपर्ने दायित्व एकातिर छ भने शिक्षण प्रणालीको बोझ अर्कातिर छ। आफ्ना सपनाहरूहरूको चाङ पनि सँगै छ।

यी सबै कारण बालबालिकाले किन र कसका लागि अनि केका लागि पढ्ने भन्ने नै ठम्याउन सकेका छैनन्। बुवा–छोराबीचको कुराकानी सुनौं है त  : 

बुवा  :  ए बाबु, छिटो गर है मलाई अफिस जान ढिला भइसक्यो। तिमीलाई स्कुल छोडेर म काममा जानुपर्छ। 
छोरा  :  बाबा एकछिन है। मम्मीले जुत्ता, टाई, कापीकलम मिलाइदिन लाग्नु भएको छ।
बाबा  :  हरे कस्तो स्कुल हो केही पनि नसिकाउने। खाली होमवर्क भनेको छ, ट्युसन भनेको छ तर व्यावहारिक शिक्षा त केही छैन त ?
आमा  :  भन्ने बेलामा त ‘यस्तो त्यस्तो...’ भन्दै फि लिन्छन् त ? 
छोरा  :  बाबा मलाई स्कुल जान मनै छैन। खाली पढ, होमवर्क खोइ, यो त्यो केही नगर पढ मात्र भन्नुहुन्छ।
बाबा  :  किन छोरा त्यस्तो ? तिम्रा लागि भन्नु भएको हो नि त। पछि ठूलो मान्छे भएर देशको सेवा गर्न र जागिर खानको लागि हो नि। 
छोरा  :  बाबा जागिर खान, पैसा कमाउन पढ्नै पर्छ र ? 
बाबा  :  पढ्नुपर्छ नि, पढेन भने हामीले देश–विदेश जाने र हरेक अवसर प्राप्त गर्न सक्दैनौं नि। 
छोरा  :  पल्ला घरको दाइ त नपढी विदेश जानु भएको छ त अनि। तल्लो घरको काकाले कति पढेको हो र ? उहाँले कति पैसा कमाइसक्नु भयो ? 
बाबा  :  उहाँहरू साथीको लहैलहैमा लागेर पढ्न सक्नु भएन अनि परिवारको सपना पूरा गर्न छोराछोरी पढाउन बाहिर जानु भएको हो नि। अहिले पढेको भए आफ्नै देशमा बसेर सबैसँग रमाउँदै देशमै काम गर्थे भन्नुहुन्छ।
छोरा  :  बाबा, युट्युब, टिकटक र पब्जीबाट पनि कति पैसा कमाउँछन् त ! पढ्नु पर्दैन नि त्यसका लागि त।
बुबा  :  कमाउँछन् नि बाबु तर त्यसको लतमा लागेर कतिले आफ्नो ज्यान फालिसके कतिलाई मनोवैज्ञानिक रोग लागिसकेको छ। अनलाइन गेमले मानसिक रोग लाग्छ नि त्यसैले सबैले कमाउन सक्दैन र त्यस्को लागि पनि धेरै धेरै पैसा चाहिन्छ नि। 
छोरा  :  मोबाइलबाटै पनि त कमाएको हुन्छन् नि बाबा !
बाबा  :  कमाउन त कमाउँछन् तर पनि अनलाइनमा काम गर्दा निद्रा पर्दैन, खाना खान मन लाग्दैन, सबैबाट टाढा भइन्छ अनि बिस्तारै एक्लोपन हुँदै जान्छ। हामी त सामाजिक प्राणी हौं नि। समाजमा भएका हरेक कुरामा सहभागी हुनुपर्छ। जसरी चाडबाड, पूजा–आजा गर्दा सबै जम्मा हुन्छौं नि त्यस्तैगरी। 
छोरा  :  त्यस्तो हुन्छ र बाबा ? अनि किन सबैले मोबाइल चलाउँछन् त ? 
बाबा  :  हामी अहिले आधुनिक युगमा छम् हरेकले केही न केही उत्पादन गरिरहेका छन् नि।
छोरा  :  अनि हामीलाई त सबै होमवर्क मोबाइलमै आउँछ हेर्नु भन्नुहुन्छ त। हामीले कहिल्यै नहेर्ने त ?
बाबा  :  होइन हेर्ने नि चलाउने तर एकोहोरो नहेर्ने, होमवर्कको बेला हेर्ने अनि चलाउन छोड्दिने।
छोरा  :  बाबा त्यसो भए हामीलाई किन स्कुलमा यो त्यो नगर पढ मात्र भन्नुहुन्छ त ?
बाबा  :  अहिले तिम्रो काम भनेको पढ्ने सिक्ने हो ! त्यसैका लागि पढ्न सिक्न बुझ्न र व्यवहारमा उतार्न जरुरी छ।
छोरा  :  किताब पढ्दा त्यस्तो हुन्छ र ?
बाबा  :  हो हुन्छ नि बाबु। किताब पढ्दा हाम्रो मस्तिष्कमा फरक किसिमको केमिकल निस्किएको हुन्छ जसलाई डोपामाइन भनिन्छ। हामीले किताब मात्र नभई जीवन दर्शनका कुराहरू पनि सिक्नुपर्छ। जस्ले गर्दा पछि आउने समयको लागि काम लाग्छ। किताब पढ्नेहरूको सोचाइ बोलाइ नै फरक किसिमको हुन्छ। 
छोरा  :  ए हो र बाबा !!
बाबा  :  हामी सामाजिक प्राणी हौं। त्यसैले हरेक कुरा सिक्नु, बुझ्नु र जान्नुपर्छ। 
छोरा  :  बाबा मलाई त खेल पनि मन पर्दैन घुम्न पनि।
बाबा  :  बाबु खेलले तिमीलाई शारीरिक मात्र होइन मानसिक रूपमा पनि सबल बनाउछ। खेलले तिमीलाई जित्न र हार्न सिकाउँछ जसले गर्दा पछि केही कुरामा तिमीले हार भोग्दा पनि ये ठीकै छ अर्को पटक जित्छु भन्ने उत्प्रेरणा दिन्छ। त्यस्तै विद्यालयले लग्ने हरेक ठाउँमा तिमीले आफूजस्तै मानिस के कसरी बाँचिरहेका छन् कसरी सुखदु : ख बिताइरहेका छन्। हामीले बाँच्न संघर्ष गर्नुपर्छ भन्ने सिकाउँछ। हाम्रो साथी प्रकृति हो जसले हामीलाई हरेक कुरा दिन्छ। जति धेरै प्रकृतिसँग घुलमिल हुन सक्यो हामी उति नै सिर्जनशील र कलात्मक हुन्छौं। 
छोरा  :  बाबा जीवनमा पढाइ ठूलो कि सिकाइ भोगाइ। 
बाबा  :  पढाइ जीवन जिउनको लागि चाहिने महत्त्ववपूर्ण कुरा हो। पढाइले मानिसलाई बौद्धिक बनाउँछ भने सिकाइ र भोगाइले मानिसलाई हरेक कुरामा सक्षम अनि सबल बनाउँछ। त्यसैले तिमीले अहिले सिक्ने रमाउने खुसी हुन पढ्ने गर्नुपर्छ। होइन भने पछि पछुताउनु पर्छ। 
छोरा :  मलाई पनि देशको सेवा गर्नु मन छ बाबा।
बाबा  :  हो त्यसैले तिमीले पढ्यो भने तिमी देशको ठूलो स्थानमा पुग्नेछौं अनि आफूसँगै अरूको पनि सहयोग गर्दै आफूले जानेका भोगेका कुरा अरूलाई सिकाउन सक्नेछौं होइन भने तिमीलाई कसैले सुन्ने छैनन् भविष्यमा आफैंलाई पछुतो लाग्नेछ।
स्कुलमा हरेक कुराहरू सिक नजाने पनि सिक्छु भन, मलाई सिकाइदिनुस् भन, तर मलाई आउँदैन मन पर्दैन चाहिँ नभन तिमीले स्कुल जानुपर्छ र हरेक कुराहरू सिक्नुपर्छ जुन कुराहरू तिमीले बहिर कहिल्यै सिक्ने छैनौं। 
ल हिँड स्कुल पुर्‍याइदिन्छु अनि म अफिस जान्छु। बाँकी कुरा साँझ गरौंला है छोरा !

- हमाल, एसओएस हर्मन माइनर विद्यालय, सुर्खेतका शिक्षक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.