सुनको अवैध पैठारीमा ६० प्रतिवादी

सुनको अवैध पैठारीमा ६० प्रतिवादी
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अवैध रूपमा सुन पैठारी, बेचबिखन र भुक्तानीमा संलग्न चिनियाँ, भारतीय र बेल्जियम नागरिकसहित ६० जनाविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ। 

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा ३६ जना नेपालीलाई प्रतिवादी बनाइएको छ। यो  समूहले  पटक–पटक गरी ३१ सय ९४ किलो ६६८ ग्राम सुन अवैधरुपमा  पैठारी गरेको प्रहरी अनुसन्धानमा पाइएको छ। जसको  प्रचलित बजार मूल्य  ३० अर्बभन्दा बढी रहेको छ।  

कुङ्गा टासी शेर्पा भन्ने गेंगा झाछि, शेरब ग्याल्मो, लुओरोङ गोङबो, वाङ दाओजिन, पेङ योङजिङ, झोङ जियाङहु, झोङ जिङचुआन, पिङ लिङफेङ, टेरेन्स सीलगायतका १५ जना चिनियाँ नागरिक प्रतिवादी छन्। त्यस्तै प्रतिवादी बनाइएका अन्य भारतीय नागरिकहरू सिद्धनाथ अशोक गायकवाड, प्रशान्त गणेश बजबलकर, धीरज दिनेश भोइटे, बैजनाथ ब्रम्हादत्त गोयल, अभिजित तानाजी मुलिकलगायत ८ जना रहेको सरकारी वकिल कार्यालयले जनाएको छ। बेल्जियम नागरिक दावा छिरिङलाई पनि प्रतिवादी छन्। 

प्रतिवादीमध्ये १८ जनालाई पक्राउ गरी अभियोगपत्रका साथ पेस गरिएको छ। एक जना प्रतिवादी फुनछुक खाम्पा अस्पतालमा उपचाररत भर्ना भएकाले डिस्चार्जपछि उपस्थित गराउने जनाइएको छ। ११ जना प्रतिवादीहरू काठमाडौं जिल्ला अदालतको आदेशमा यसअघि कारागार चलान भएका हुन्। बाँकी फरार छन्।  प्रतिवादीविरुद्ध अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फछ्र्योट ऐन, नागरिकता किर्ते तथा हातहतियार खरखजनासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।

एक वर्षको अवधिमा सुन तस्करीसम्बन्धी दायर गरिएको यो दोस्रो मुद्दा हो। यसअघि २०८० भदौ ३१ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर  गरिएको थियो। त्यसबेला २९ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर भएको थियो। तत्काल पक्राउ परेका २५ जनामध्ये काठमाडौं जिल्ला अदालतले २४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६० किलो ७१६ ग्राम अवैध सुन बरामद भएको भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले तयार पारेको प्रतिवेदनले दिएको सुझाव तथा सिफारिसलाई अध्ययन विश्लेषण गरी अनुसन्धान गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। 

कसरी ल्याइयो सुन ?

घरायसी, वर्कसप, औद्योगिक तथा कन्सर्टमा प्रयोग हुने विभिन्न प्रकारको विद्युतीय उपकरणको भित्रि भागमा सुन हालेर तस्करी गरेको अनुसन्धानमा देखिएको छ। स्मार्ट वाच घडी, सेभरभित्र अवैध सुन हालेर ल्याएको समेत पाइएको छ।

पक्राउ परेका चिनियाँ नागरिक लिन जिक्वाङले एकवटा दाह्री काट्ने सेभरमा ५० ग्राम सुन र प्रति १ वटा स्मार्ट वाचमा २० ग्राम सुन ल्याउने गरेको बयान दिएको अभियोगपत्रमा जनाइएको छ। उनले १ सय ५० वटा सेभरमा ७ किलो ५ ग्राम र ७५ वटा स्मार्ट घडीमा एक किलो पाँच ग्राम सुन अवैध रूपमा भित्र्याएको प्रहरी अनुसन्धानमा पाइएको छ।

सुनको अवैध पैठारीका लागि रेडी ट्रेड प्रालि नामक  कम्पनी दर्ता गरेको पाइएको छ। सुनलाई सवारी साधनको ब्रेक प्याडको स्वरूप बनाइ ब्रेक प्याडकै कार्टुनमा प्याक गरी अवैध रूपमा पैठारी गरिएको प्रहरी अनुसन्धानमा देखिएको छ। भन्सार छलेर अवैध रूपमा सुनको ओसारपसार गरी सुन व्यवसायीलाई चलनचल्तीको भन्दा कम मूल्यमा बिक्री गर्ने परेको पाइएको छ। नेपाल तथा भारतीय बजारमा बिक्रीसमेत गरी ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० रुपैयाँ लाभ लिएको  अभियोग पत्रमा उल्लेख छ।

कम्पनी खडा गरेरै अवैध सुन आयात 

सुन पैठारी गर्न नेपाल राष्ट्र बैंकको स्वीकृत चाहिन्छ। कुनै व्यक्तिगत फर्म वा व्यक्तिले पैठारी गर्न पाउने कानुनी व्यवस्था छैन। तर, तस्करीमा संलग्न नेपाली र चिनियाँ नागरिकले अवैध सुन पैठारीका लागि कम्पनी स्थापना गरेको पाइएको छ।

हङकङबाट  विभिन्न मालवस्तुभित्र अवैध सुन छिपाइ ल्याइ सुन निकाली गाली पगाली सानोसानो परिमाणका बनाएर बिक्री गर्ने गरेको पाइएको छ। ५ वटा कम्पनीबाट मात्रै २८  सय ३१ किलो ८९ ग्राम सुन अवैध रूपमा पैठारी  गरेको पाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.