युवाका लागि सरकारले उचित लगानीको वातावरण बनाउने छ

उद्यमशीलताका लागि कर्णाली निकै उपयुक्त थलो हो। उद्यम गर्नेहरूका लागि यो एउटा सादा पाना जस्तै छ। यहाँ प्रकृतिले नै आफैं सुन्दरता कोरिदिएको छ। तर, त्यो सादा पाना रूपी कर्णालीमा उपयुक्त चित्र कोर्न यहाँका युवा तयार हुनुपर्छ। यदि यसका लागि तपाईंहरू तयार हुनुहुन्छ भने कर्णाली सरकार सधैं तपाईंहरूको साथमा छ।
कर्णालीका १० वटै जिल्ला उद्योग, व्यापार, कृषि, पर्यटन, जलविद्युत्, जडिबुटीलगायतका नवीनतम् स्रोत र साधानहरूको भण्डार हो। यसको सदुपयोग हुन सकिरहेको अवस्था छैन। विदेशी भूमिमा जुनसुकै कर्म गर्न चाहाने र नेपाली भूमिमा काम गर्दा सानो भइन्छ भन्ने जस्ता सामाजिक सोच, संस्कार र संरचनाका कारण हामी पछाडि परिरहेका छौं। कुनै पनि काम सानो वा ठूलो हुँदैन। कामको सधैं सम्मान गर्नुपर्छ। अब युवाहरूले पनि काम गर्दा सानो होइन, महान बनिन्छ भन्ने सन्देश दिनुपर्छ। यस्ता परम्परागत सोच र गलत धारणाको अन्त्य गर्न युवाको भूमिका निकै महत्वपूर्ण हुन्छ। र, यसका लागि अगाडि बढ्नु जरुरी भइसकेको छ।
कर्णाली प्रदेश सरकारले अहिले उद्यम विकासलाई मुख्य प्राथमिकता दिएको छ। कर्णालीमा उद्यम गर्ने युवाहरूका लागि सरकारले उचित लगानीको वातावरण बनाउने छ। यहाँ कार्यक्रमका लागि बजेटभन्दा पनि बजेटका लागि कार्यक्रम बनाउने प्रचलन बढी छ। त्यसलाई निरुत्साहित गरी कार्यक्रमका लागि बजेटको व्यवस्थापन गर्ने गरी तयारी सरकारले गरिरहेको छ। कर्णालीमा लगानीकर्ताहरूले विभिन्न आयोजनाहरू होल्ड गर्ने परिपाटी पनि व्यापक छ। तर, कागजमा मात्र नभई फिल्डमै काम गर्न आउने लगानी कर्ता र उद्यमीहरूका लागि सरकारले पनि थप सहयोग गर्ने छ।
उद्यम विकास बिना कर्णालीको विकास र समृद्धिको सपना पूरा हुँदैन। त्यसका लागि युवा जनशक्ति तयार हुनै पर्छ। उद्यम गर्न ठोष कार्ययोजना बनाएर अगाडि बढ्दा लगानीको समस्या हुँदैन।
(कँडेल कर्णाली प्रदेशका मुख्यमन्त्री हुन्।)
प्रतिक्रिया दिनुहोस !
