अध्यात्ममात्रै होइन, पर्यापर्यटनको ‘भर्जिन ल्यान्ड’ पनि सुदूरपश्चिम हो। धर्तीको स्वर्ग भनिएको खप्तड पर्यापर्यटन र अध्यात्मको गठबन्धन हो। बडिमालिका आफैंमा तपोभूमि हो।
सत्ताको स्वादका लागि जनताको बुइँ चढेर त्यहाँ पुगेपछि खासै शासकले नहरेको प्रदेश हो, सुदूरपश्चिम। नौ जिल्लाको प्रदेश हो यो। विगतमा राज्यले उपनिवेश जस्तै व्यवहार गरेको प्रदेश भने पनि हुन्छ। जसले पाँच/पाँचपटक देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यक्ति जन्मायो। पञ्चायतदेखि गणतन्त्रसम्म आउँदा यस प्रदेशले देशको नेतृत्वमा पुग्ने दुई/दुईजना प्रधानमन्त्री जन्मायो तर सुदूरपश्चिमको कायापलट त के कोल्टेसमेत फेर्न पाएन।
नेतृत्वले आफ्ना मान्छे बनायो, कोई मन्त्री भए भने कोही राजदूत। धेरैले सुरक्षा निकायका संगठन प्रमुखको जिम्मेवारी पाए। धेरैका छोराछोरी विदेश गए, सम्भावना भएको सुदूरपश्चिम छोडेर धेरै राजधानी भासिए। उतै घरजग्गा जोडे, तर सुदूरले उनीहरूको व्यक्तिगत प्रगति हेरेर प्रदेशको प्रगति कुरिरह्यो। सुदूरपश्चिम आफैंमा अध्यात्मको थलो हो। खप्तड बाबाको तपस्या होस् कि सात बहिनी भगवतीको देवभूमि। यहाँका हरेक रुखमुनि अध्यात्म छ।
अध्यात्ममात्रै होइन, पर्यापर्यटनको ‘भर्जिन ल्यान्ड’ पनि सुदूरपश्चिम हो। धर्तीको स्वर्ग भनिएको खप्तड पर्यापर्यटन र अध्यात्मको गठबन्धन हो। बडिमालिका आफैंमा तपोभूमि हो। यस प्रदेशमा अथाह सम्भावना छन्, तर ती सम्भावनाको पहिचान हुन सकेको छैन। पर्यटनका अथाह अवसर छन् तर ती अवसरलाई सम्भावनामा बदलिदिने व्यक्ति जन्मेको छैन। देश संघीय गणतन्त्रात्मक व्यवस्थामा जानुअघि सुदूरपश्चिम एक उपनिवेश जस्तै थियो।
सुदूरपश्चिममा आउने कर्मचारी कारबाहीका लागि आउने गर्थे भने यस क्षेत्रमा मिनरल पानी पाइँदैन भनेर राष्ट्रिय स्तरका महाधिवेशन वा कार्यक्रमहरू हुन्थेनन्। तर अहिले यो प्रदेशका सम्भावनालाई अवसरमा बदल्ने हो भने कायापलट यसै प्रदेशबाट हुन सक्छ। देश संघीयतामा गएपछि प्रदेशको मुहारमा केही चमक आएको छ। पर्यटनका ‘प्रोडक्ट’हरू बन्न नसके पनि प्रचार–प्रसार हुन थालेको छ।
त्यतिबेला केन्द्र सरकारले कनिका छरेजस्तै दिने बजेट थियो, अहिले प्रदेश र स्थानीय तहहरूले अर्बौंको बजेट आफैं बनाउन पाएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले ८ वटा बजेट ल्यायो अहिलेसम्म। ती ८ वटा बजेटमा करिब ढाई खर्ब रकम खर्च भयो यो प्रदेशमा। पर्यटनबाट मात्रै देशमा स्वरोजगारी बढाउन सकिन्छ भन्ने योजना भने कुनै सरकारले नल्याएकाले सम्भावनाको प्रदेश ओझेलमा छ।
एसियामै बाह्रसिंगेको बथान : कञ्चनपुर जिल्लामा भारतसँग जोडिएको क्षेत्र हो, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज। यसको स्थापना २०३१ सालमा भएको हो। त्यतिबेला शाही शुक्लाफाँटा बन्यजन्तु आरक्ष भनिए पनि पछि यसलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बनाइयो। यो निकुञ्ज भारतको राजधानी नयाँदिल्लीबाट ४ सय किलोमिटरको दूूरीमा मात्रै छ। भारतको ३ अर्बको जनसंख्याको ५ प्रतिशतलाई पनि शुक्लाफाँटाको प्याकेज बनाएर भित्र्याउन सके कसैले पनि खाडीको रापमा जल्नु पर्दैन।
महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुन आएका फाँटाहरू, धाप र सिमभूमि यस निकुञ्जको प्रमुख विशेषता हो। निकुञ्जका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुंगीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ। यो निकुञ्ज बाह्रसिंगाका लागि प्रसिद्ध छ। सन् २०१४ मा यस निकुञ्जमा २ हजार ३ सय १ बाह्रसिंगाको गणना गरिएको थियो। यस निकुञ्जमा एसियाकै ठूलो बाह्रसिंगेको बथान हेर्न पाइन्छ। एसियामा बाह्रसिंगेको ठूलो बथान मात्रै पनि हामीले ‘ब्रान्डिङ’ गर्न सके पर्यटक ओइरो लाग्नेमा दुईमत छैन।
दुर्भाग्य, भारतीय नागरिक लक्षित कुनै पनि ‘पर्यटन प्रडक्ट’ छैन। यो निकुञ्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ। यहाँ करिब २०–२५ वटा जंगली हात्ती छन्। सन् २०१७ को गणनाअनुसार यस निकुञ्जमा एकसिंगे गैंडाको संंख्या १६ छ भने २०२२ को गणनाअनुसार यस निकुञ्जमा ३७ बाघको गणना भएको छ। जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुनाजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन्।
रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाइँ सरी आउने गरी ४ सय २४ भन्दा बढी चराचुरुंगी पाइन्छन्। निकुञ्जमा २ सय ३७ वटा कृष्णसार पनि संरक्षित छन्। १२ वर्षअघि ८४ वटा कृष्णसारबाट सुरु गरिएको हीरापुर कृष्णसार संरक्षित क्षेत्रमा अहिले बढेर २ सय ८७ छन्। कृष्णसार संक्षित क्षेत्रमध्ये यो सबैभन्दा बढी संख्या हो।
एसियामै बाह्रसिंगेको ठुलो बथान रहेको शुक्लाफाँटा पाटेबाघ बढी देखिने क्षेत्र पनि हो। सामान्य एउटा बाघका लागि ६० वर्गकिलोमिटरको बासस्थान चाहिन्छ। तर शुक्लाफाँटामा एउटा बाघको बासस्थान २५ देखि ३० वर्गकिलोमिटर मात्रै भएकाले जंगल सफारी गर्दा देखिने सम्भावना बढिरहेको पर्यटन गाइड डुट्ठा राना बताउँछन्।
खप्तड : जहाँ अलौकिक आनन्द छ
२०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भए पनि खप्तडको प्रचार भने ७५ वर्षअघिदेखि नै भइरहेको थियो। जतिबेला खप्तड बाबा (श्री १००८ ब्रह्मविद् परमहंस योगी सच्चिदानन्द सरस्वती) तपस्या गर्न खप्तड पुगे, त्यसपछि यस स्थानको प्रचार हुँदै गयो।
२००२ सालमा बझाङ्गी राजा रामजंगबहादुर सिंहको अगुवाइमा खप्तडका जंगलमा खप्तड बाबासँगै स्थानीय तपस्या गर्न पुगेका थिए। पछि खप्तड बाबामात्रै तपस्यामा समाहित भए। त्यसपछि खप्तड देवभूमिका रूपमा प्रख्यात हुँदै गयो। देश–विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचार–प्रसार हुँदै गएपछि खप्तडको महिमा बढ्दै गएको हो।
समुद्र सतहबाट २४–३७ सय मिटर उचाइ र दुई सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको खप्तडमा दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जंगली जनावर र पक्षीको सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज स्थापना भएको पाँच वर्षपछि २०४७
सालमा नेपाली सेनाको ब्यारेक स्थापना गरियो।
यस राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व पर्छ। यस निकुञ्जमा सल्ला, खसुर र निगालोका जंगलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसेमैदान छन्। यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनालजस्ता सुन्दर चराचुरुंगी छन्।
यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्छ। यस निकुञ्जको करिब मध्यभागतिर १२ हजार फिट अग्लो खप्तड लेकमा ५० वर्ष खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ छ। सुन्दर घाँसेमैदानमा पुग्नेबित्तिकै यात्रीको थकान मेटिन्छ। यसको वरिपरि ५३ वटा थुम्का छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ। यहाँका घाँसेमैदान, खप्तड दह, नागढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहाँको आकर्षण हुन्।
प्राकृतिक, धार्मिक र सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भए पनि भौतिक पूर्वाधार र प्रचारप्रसारको कमीले खप्तडले यथेष्ट महत्व पाएको छैन। यातायात र उचित बास बस्ने व्यवस्था क्रमश: बढिरहेका बेला आन्तरिक र बाह्य पर्यटकहरू विस्तारै बढिरहेका छन्।
खप्तड राष्ट्रिय निकुञ्ज पुग्न बझाङको खप्तड छान्ना गाउँपालिकाको मेल्तडी हुँदै लोखडाबाट वा डोटीको झिंग्रानाबाट जान सकिन्छ। खप्तड पुग्न कैलाली जिल्लाको अत्तरियाबाट डा. केआईसिंह राजमार्ग हुँदै डोटी झिग्रेना वा जयपृथ्वी राजमार्ग भएर तमैल हुँदै खप्तड छान्नाबाट जाँदा ७ देखि ८ घण्टामा खप्तड पुगिन्छ।
विश्वका धेरैजसो मुलुक पर्यटन व्यवसायबाट मजबुत अर्थतन्त्र बनाउन सफल भएको परिपे्रक्ष्यमा खप्तड पनि एक पर्यटन व्यवसायका लागि उदाहरण बन्न र खप्तड जान आकाश मार्ग र सडक मार्ग दुवै सुधार गर्न सकिने हो भने पर्यटकीय गतिविधि बढाउन सकिने पर्यटन व्यवसायी किशोर
खड्का दाबी गर्छन्।
बडीमालिका : जहाँ हरेक मनोकांक्षा पूरा हुन्छ
प्राकृतिक छटाले भरिपूर्ण धार्मिक तथा पर्यटकीय हिसाबले प्रचूर सम्भावना बोकेको क्षेत्र हो बडिमालिका। यो सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम र कर्णाली प्रदेशको कालीकोटको संगमस्थलमा छ भने मुख्य पूजाथान भने बाजुरा जिल्लामा पर्छ।
प्राकृतिक सुन्दरता र धार्मिक महत्वका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको खप्तड, रामारोशन, त्रिपुरासुन्दरी, मालिकार्जुन, उग्रतारा, शैलेश्वरी, वैद्यनाथ, अपी र साईपाललगायतका क्षेत्र निकै महत्वपूर्ण मानिन्छन्। त्यसमध्ये पनि बडिमालिकाको स्थान विशिष्ट छ, धार्मिक र पर्यटकीय दुबै हिसाबले। हिन्दुहरूको आस्थाको धरोहर यति महत्वपूर्ण भगवतीको पीठ ओझेलमा परेको छ। बडिमालिका क्षेत्र संरक्षण, संवद्र्धन र विकासको पर्खाइमा छ।
हरिया डाँडाहरू, फराकिला घाँसेमैदान अनि बेलाबखत परिरहने सिमसिम पानीले यहाँको वातावरण छुट्टै रमाइलो हुन्छ। वर्षात्मा रमाउँदै उकालो पदयात्रा छिचोलेपछि मात्र आकर्षक र मनमोहक दृश्य त्रिवेणी र बडिमालिका देखिन्छ । बादल आफूभन्दा तल हुन्छ। मुटु छुने चिसो हावा, आङ जिरिङ हुने अग्ला चुचुरा, हेर्दै मन च्युँ च्युँ बनाउने अग्ला डाँडाहरू, शृंखलाबद्ध पहाडहरू। लाग्छ, कसरी छिचोल्ने होला यी गगनचुम्बी डाँडाहरू ? कसरी पुग्ने होला बडिमालिका ? भोक, थकान, पीडा, चिसो सिरेटो सबै गौण हुन्छन्।
बडिमालिकाको जति चर्चा गरे पनि कम हुन्छ । धार्मिक आस्था र प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको छ। जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने बडिमालिका यात्राको मौसम भने वर्षा याम हो। बडिमालिका छ नै त्यस्तो। पुग्न कठिन। पुगेपछि झर्न कठिन। यी सबै कठिनाइका बाबजुद बडिमालिकाप्रतिको अगाध आस्था र विश्वास भक्तजनमा झन् बढ्दो छ।
बडिमालिकाको दर्शनले मनले चिताएको पूरा हुने जनविश्वास छ। पुत्र नभएकालाई पुत्र, धन नहुनेलाई धन, दु: खीलाई सुख प्राप्त हुने अगाध विश्वास छ यहाँ। बडिमालिकाको प्रार्थनाले रोग निको हुने विश्वास छ। बडिमालिकाको त्रिवेणी क्षेत्रमा पर्ने खेतीवेती झन् अचम्मको छ। परापूर्वकालदेखि नै त्यहाँ रहेको खेत रोपिएको, धान, धान रोप्न तयार गरिएका जस्ता गह्राहरू, त्यसबीचमा फालिएका बिउका मुठाहरू जस्ताका तस्तै छन्।
बडिमालिका मन्दिरको धार्मिक महत्वमात्र नभई १ सय ४० भन्दा बढी जातका रंगीचंगी फूल, सयौं जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चराचुरुंगी पाइन्छन्। ६ महिना घोडा र भेडाहरू चराउन उपयुक्त चरिचरन क्षेत्र, २२ वटा घाँसेमैदान, तीनवटा नदीको संगम रहेको पवित्रधाम त्रिवेणी
त्यही पर्छ। थुप्रै ठाउँ नियाल्न सकिने अग्लाअग्ला हिमशृंखलाले तीर्थालुको मन लोभ्याउने गर्छ।
सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न जिल्ला र भारतका विभिन्न सहर अधिकांश धार्मिक पर्यटक बडिमालिका पुग्छन्। बडिमालिकामा कालीकोट, बाजुरालगायतका जिल्लाका किसानले भेडा, बाख्रा, घोडालगायतका चौपाया चराउन ल्याउने गरेका छन् भने जडीबुटी पनि संकलन गर्ने गरेका छन्।
बडिमालिका समुद्री सतहदेखि ४२ सय मिटर उचाइमा अवस्थित छ। बाटैभरि टाढासम्म फैलिएका हरिया पाटन, अग्ला पहाडहरू, थुप्रै स–साना मन्दिर, खोला, झरना आदिले मन लोभ्याउँछ। अग्ला–अग्ला पहाडहरूमा उकालो–ओरालो गर्दै, कतै साँघुरा बाटाहरू यात्रा गरिरहँदाको थकानलाई यहाँ देखिने सुन्दर दृश्यले मेटाउँछन्। युवादेखि ज्येष्ठ नागरिक पुस्ताका भक्तजनहरू मेलामा आउने, बडिमालिका थानमा आशीर्वाद माग्ने, मनोकांक्षा पूरा भएको भन्दै धन्यवाद व्यक्त गर्न पनि भक्तहरू आउने गरेका छन्।
पृथ्वीनारायण शाहको पालादेखि लाग्दै आएको यो मेलामा सरकारी स्तरबाटै पूजा गर्ने गरिन्छ। बडिमालिकाको दर्शन गरेपछि चिताएको पूरा हुन्छ भन्ने जनविश्वास रहँदै आएको बडिमालिकाका पुजारी भानुभक्त पाध्याय बताउँछन्।
रमणीय रामारोशन : गर्मीमा घुम्ने स्थान
‘बाह्र बन्ड अठार खण्ड’को नामले परिचित छ अछामको रामारोशन। ‘धर्तीको स्वर्ग’ भनेर स्थानीय तहले नामकरण गरेको स्थान हो यो। रामारोशन पर्यटकीय क्षेत्र रामारोशन गाउँपालिकाको वडा नम्बर–५ मा अवस्थित छ।
रामारोशन क्षेत्र पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावना बोकेको प्रकृतिको वरदान हो। उच्च लेकाली भेगमा रहेको यो क्षेत्रमा विभिन्न आकृतिका १२ वटा ताल र १८ घाँसेमैदान छन्। त्यसैले रामारोशनलाई ‘बाह्र बन्ड, अठार खण्ड’ भनिएको हो।
रातो, सेतो र गुलाबी रंगका गरी ९ प्रकारका लालीगुराँस र राष्ट्रिय चरा डाँफे यस ठाउँमा पाइन्छन्। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको मन रामारोशनको मनमोहक दृश्यले लोभ्याउने गरेको छ।
विभिन्न प्रजातिका जडीबुटीको भण्डार मानिने रामारोशनमा लोपोन्मुख वन्यजन्तुको समेत बासस्थान छ। यहाँ थुप्रै सुन्दर तालहरू छन्। जसले सबैको मन लोभ्याउँछ। करिब १० बिघाभन्दा बढी क्षेत्रफलमा मैदान र तीन वटा ताल फैलिएका छन्। एक दिनमा घुमेर सकिँदैन रामारोशन क्षेत्र।
यसका लागि करिब दुई दिन लाग्छ। एउटा मात्र ताल परिक्रमा गर्न घण्टौं लाग्छ। रामारोशन क्षेत्र पुग्ने जो कोहीको पनि एकैक्षणमा लामो यात्राको थकान मेटिन्छ। नयाँ वर्षको समय रामारोसन घुम्न अनुकूल मानिन्छ। यहाँका बाटुल्ले ताल, लामी दह, तल्लो धाउने, रगाडे, लिस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, बाउले गडा, रामे ताललगायतका तालले समेत रामारोशन क्षेत्रको आकर्षण बढाएका छन्।
यहाँ तालहरू मात्रै छैनन्, अग्ला अनि उत्तिकै आकर्षक मैदानहरू पनि छन्। विभिन्न जिल्लाबाट साँफेबगर र मंगलसेनबाट कच्ची सडकमा जिपको यात्रा गरी त्यहाँ पुग्न सकिन्छ। वसन्त ऋतु र नयाँ वर्षमा रामारोशन घुम्न आउने पर्यटकलाई सन्तुलित वातावरण र अनुकूल मौसम पाइन्छ।
साना ठूला ताल वरपरका मैदान मात्रै होइन, रामारोशनको परिचय र पहिचान झल्काउने यहाँ अन्य थुप्रै प्राकृतिक स्रोत छन्। रामारोशन क्षेत्रभित्र लोपोन्मुख जंगली जनावरदेखि बहुमूल्य जडीबुटी पनि प्रशस्तै पाइन्छन्। रामारोशन क्षेत्रमा घुमन्ते चरा, माछा, उभयचर, कीटपतंग र बोटका लागि महत्वपूर्ण मानिन्छ।
रामारोशन पर्यटनसँगै धार्मिक रूपले पनि उत्तिकै महत्वपूर्ण छ। यहाँका तालहरूलाई देवी मान्ने गरिन्छ। कैलाश खोलाको मुहान रामारोशन भएकाले पनि शिवको रूपमा मान्ने चलन छ। किनिमिनी पाटनलाई कृष्ण भगवान् स्वरूप मान्ने गरिएको स्थानीयको भनाइ छ।
सात बहिनी भगवती र पाँच धाम
सुदूरपश्चिममा सात बहिनी भगवतीका मन्दिरहरू छन्। बैतडीमा त्रिपुरासुन्दरी, निगलासैनी, डिलासैनी र मेलौली भगवतीका मन्दिर छन्। डँडेलधुरामा उग्रतारा र डोटीमा शैलेश्वरी भगवती मन्दिर छ भने बाजुरामा बडिमालिका भगवतीको मन्दिर। आस्थाका धरोहर यी भगवतीका मन्दिरहरू भारतको कुमाउ गढवालसम्मलाई महत्वका छन्।
पर्यटन व्यवसायीहरूले सात बहिनी भगवतीको दर्शनको गतिलो प्याकेज बनाउन सकेका छैनन्। पर्यटन व्यवसायी पदम सिंह भन्छन्, ‘निजी क्षेत्रको प्याकेज मात्रै धार्मिक पर्यटकका लागि महँगो हुन्छ। जसरी भारतले कैलाश मानसरोवर जाने हिन्दु र हज जाने मुसलमान श्रद्धालुहरूलाई धार्मिक यात्रामा अनुदान दिन्छ, त्यस्तै प्याकेज सुदूरपश्चिमका लागि पनि आउनुपर्छ।’
सुदूरपश्चिममा धार्मिक पर्यटकका लागि अझ पाँच वटा महत्वपूर्ण धाम छन्। डँडेलधुराको परशुरामधाम, अछामको वैद्यनाथ धाम, दार्चुलाको माल्लिकार्जुनधाम, कैलालीको शिवपुरीधाम र गोदावरीधाम यस क्षेत्रका महत्वपूूर्ण धाम हुन्। पाँचवटै धामको धार्मिक प्याकेज बनाउन सकिन्छ। चार जिल्लामा जाने धार्मिक पर्यटक निजी क्षेत्रको मुनाफामुखी प्याकेजमा जान चाहँदैन। त्यसैले सरकारको नीति यसमा पनि बन्नुपर्छ।
तपाईंको सुन्दर सुदूरपश्चिम अभियान खासमा के हो ?
२०६० को दशकअघि सुदूरपश्चिमको परिचय मुख्यत: तीन प्रकारको थियो। पहिलो, यो देउकीको क्षेत्र हो। अर्को यो छाउपडीको क्षेत्र हो। तेस्रो, यो हलिया, कमैया र जातीय छुवाछूत मान्ने क्षेत्र हो। यसका सकारात्मक परिचय थिएनन्।
एनजीओहरूको डलर खेती यी तीन कुरामा भइरहेको थियो। मलाई चित्त बुझिरहेको थिएन। हाम्रो परिचय सुन्दर छ, सम्भावना छ भन्नेमा किन हुँदैन भनेर निजी क्षेत्रको मेरो टिमले सुन्दर सुदूरपश्चिम अभियान सुरु गरेका हौं। हाम्रो मुख्य उद्देश्य भनेको सुदूरपश्चिमको नकारात्मक परिचय बदल्नु हो।
बदलियो त, त्यो परिचय ?
त्यो कुरा जनताले भन्ने हो। आमसञ्चार माध्यमले भन्ने हो। बदलियो मात्रै होइन, जनजनमा हाम्रो प्रदेश यति सुन्दर रहेछ भन्ने भावनाको विकास भयो। हरेकका घरमा सुदूरपश्चिममा सुन्दर तस्बिरहरू सजिए। कार्यालयहरूले सुन्दर सुदूरपश्चिम लेखेका तस्बिरहरू टाँसे।
बसहरूमा सुन्दर सुदूरपश्चिमका पोस्टरहरू टाँसिएर राजधानीसम्म पुगे। हामीले संघीय राजधानीमा समेत सुदूरपश्चिम साँच्चै सुन्दर छ है भनेर फोटो प्रदर्शनी गर्न पायौं। त्यसमा हाम्रा अपी र साईपालका हिमाल देखेर काठमाडौंका मान्छेले ‘ओ हो ! सुदूरपश्चिममा हिमाल पनि छ है’ भनेर अचम्म माने। भनेपछि हामीले सुदूरपश्चिमप्रतिको ‘पर्सेप्सन’ नै परिवर्तन गर्यौं भन्ने लाग्छ।
परिचय त फेरियो, तर त्यो सुन्दरतामा देशीविदेशीलाई लोभ्याउन सकिएन नि।
एकदम भयो। अब त्यो बिक्री गर्न तीन तहका सरकारमध्ये मुख्यतया प्रदेश र त्यसपछि संघ सरकारको नीति राम्रो बन्नुपर्छ। प्रदेश सरकारका ८ वटा बजेटमा पर्यटनको बजेट हेर्नुस् त, मन्दिर निर्माण, मन्दिरको घेरबार, मन्दिरको नजिक तटबन्ध गर्नमा अर्बाैं बजेट विनियोजन गरिएको छ। जुन बजेट कार्यकर्ता पाल्ने बजेट हो। अब पर्यटनका लागि विनियोजन हुने बजेटबाट कतिजना रोजगार र स्वरोजगार हुन्छन् भन्ने नीति आउनुपर्छ। स्थानीय तहसँग सीमित स्रोत हुन्छ। त्यसले पर्यटनको ‘प्रोडक्ट’ बनाएर बिक्री गर्न भ्याउँदैन। बढी बजेट हुने सरकार भनेका प्रदेश र संघ हुन्। ती सरकारले त्यसमा नीति बनाउन आवश्यक छ।
नीति बनेका छन् त संघ र प्रदेशको पनि
नीति बनेका छन् तर कार्यान्वयनमा छैनन्। नीति पनि सुदूरपश्चिमको अवस्थाअनुसार बन्नुपर्यो नि। कैलाली उद्योग वाणिज्य संघमा म अध्यक्ष भएको बेला (२०६४ सालतिर) हामीले सुदूरपश्चिम महोत्सव गर्ने र लोगोमा यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रका तस्बिर पनि राख्ने भनेर तस्बिर माग्न नेपाल पर्यटन बोर्डमा गयौं, त्यहाँका कर्मचारीले हामीलाई राराको तस्बिर दिए। रारा के सुदूरपश्चिममा पर्छ त ? नीति बनाउने निकायमा यस्तो अवस्था थियो, सुदूरपश्चिमका बारेमा।
त्यसैले सरकारले पर्यटनका पूर्वाधारहरूमा लगानी गर्नुपर्यो। निजी क्षेत्रलाई करमा छुट दिने हो कि प्रोडक्ट करमा छुट दिने हो की, कति वर्षका लागि लगानी गर्ने व्यवसायीलाई के सहुलियत दिने हो ? त्यो सब कुरा नीतिमा आउनुपर्यो। निजी क्षेत्रले लगानी गर्नुअघि उसले त्यसको सुरक्षा पनि हेर्छ। त्यसैले पयर्टनमुखी नीति आउनु पर्यो।
सुदूरपश्चिममा पर्यटक कसरी भित्र्याउन सकिन्छ ?
हाम्रो पर्यटन प्याकेजहरू भारतलाई मात्र ‘लक्षित’ गरेर बनाउने हो भने पनि अरू केही गर्नु पर्दैन। सुदूरपश्चिम भारतको उत्तर प्रदेश र उत्तराखण्डसँग जोडिएको छ। अझ भारतको राजधानी नयाँदिल्लीको सडक दूरी हाम्रो प्रदेशको राजधानीबाट ५/६ घण्टा मात्र छ।
उत्तर प्रदेशको राजधानी लखनउको दूरी पनि ४/५ घण्टा छ। उत्तराखण्डको राजधानी देहरादुनको सडकको दुरी ६/७ घण्टा मात्र छ। उत्तरप्रदेश र उत्तराखण्डमा २५ करोडभन्दा बढी जनसंख्या छ। हामीले वर्षमा त्यसको एक प्रतिशत मात्रै भित्र्याउन सक्यौं भने पनि अढाई लाख पर्यटक आउँछन्। तर हामीसँग त्यो नीति छैन।
कस्तो नीति बन्नु पर्यो त ?
अहिले भारतीय पर्यटक नेपाल आउँछन्, सीमामा गाडीले छोडेर जान्छ। किनकि उसले हरेक ट्राफिक पोस्टमा हैरानी खेप्नुपर्छ। बोर्डरमा भारतीय गाडी देख्नेबित्तिकै हरेक सुरक्षा एजेन्सीले दु: ख दिन थाल्छन्। सीमा क्षेत्रमा ‘रोड पर्मिट’को अफिस छैन। सीमाको एक स्टेसनपछि उनीहरूलाई गाडी लैजाने सुविधा छैन। उनीहरूले मदिरा खाएको देख्यो भने हामीहरू झगडा गर्न वा पिटन गइहाल्छौं।
पर्यटक भनेको रमाउन आउने हो। ‘इन्जोय’ गर्न आउँछ। त्यसैले आएका पर्यटकलाई खुसी पार्ने हाम्रो व्यवहार हुनुपर्यो, त्यहीअनुसारको नीति हुनुपर्यो सरकारको। ऊ यताबाट खुसी भएर जान पाए पो नेपालले बजार पाउँछ। उसलाई त उल्टो दु: ख दिएर पठाउँछौं अनि कसरी पुन: आउँछ र अरूलाई पठाउँछ ? यसका लागि साँच्चै राम्रो नीति बनाएर लागू गर्नुपर्छ।