जिम्मेवारीको यथार्थ
आज फेरि मलाई मित्र सुपर्णखाको घर जान मन लाग्यो। गएँ। उनीसँग भेट त भएन। प्रायः घरमा हुने भए पो। तै उनका बुवा भेट भो। उनी आफ्नो बाउ जस्तै लाग्छ मलाई। श्रद्धा लाग्छ मात्र हैन, माया पनि लाग्छ। उनले पनि आफ्नो छोरा सुपर्णखा र ममा फरक गरेको मलाई थाहा छैन।
हुनत मित्र सुपर्णखाका अरू साथीलाई पनि उनी माया गर्छन्। जोसुकै उनका घरमा गए पनि खुसी हु्न्छन्। मलाई देख्नेबित्तिकै खुसी हुँदै भित्र बोलाए। गएँ। भित्र मैले चिनेकै उनका एकजना मित्र रहेछन् जसलाई मैले काका भनेर सम्बोधन गर्ने गर्छु।
मैले दुवैलाई नमस्कार ठोकेपछि बसें। उनका मित्रले भने, ‘हेरन बाबु, यिनी खाली आदर्शका कुरा गर्छन्। जालझेल गर्नु हुँदैन। इमानदार हुनुपर्छ। इमान डगमगाउन दिनुहुँदैन। असल मान्छेको पहिचान यै हो भन्छन्। अनि हेर त दुःख पाइरहेछन्। जीवनमा कहिल्यै जालझेल गरेनन्। सधैं इमानदार भएर खटे। यिनले त दुःख पाए पाए। एउटा भएको सन्तानलाई पनि त्यही आदर्शका कुराहरू सिकाएर बिल्लिबाठ पार्ने भए।’
सही थाप्दै भनेँ, ‘त्यही त काका। म सुपर्णखालाई त्यही भन्छु। आदर्श लेख्ने कुरा हो, पढ्ने कुरा हो। व्यावहारिक कुरा बेग्लै हुन्छ। व्यावहारिक कुरा नै जीवन हो। आदर्शले जीवन धान्दैन। तर, उसले माने पो। मेरा कुरालाई त्यसै उडाइदिन्छ।’
‘किन नउडाओस्, बाउले नै बच्चैदेखि त्यस्तै अव्यावहारिक ज्ञानको सिरप पिलाएको पिलायै गरेपछि उसले जीवनको वास्तविकता कसरी थाहा पाओस्। आफूले त दुःख पाए पाए सन्तानलाई पनि दुःखको हुरीमा यता र उता ठक्करै ठक्करमा भौंतारिरहने तुल्याउने भए’, काकाले थपे।
‘मैले आजसम्म तिम्रो सामु केही गुनासो पोखेको छु र ! कतै कहिल्यै कसैसँग केही असन्टुष्टि जाहेर गरेको छु र !’ सुपर्णखाका बुवाले (जसलाई म पनि बुवा नै भनेर सम्बोधन गर्ने गर्छु) काकातिर हेरेर मुस्कुराउँदै भने।
काका पनि के कम हुन्थे, ठोकिदिए, ‘तिमीले नभनेर हुन्छ ? हामी बुझ्दैनौं। केटाकेटीदेखिका साथी भएर तिम्रो पीडा बुझ्न सकिनँ भने केको साथी ? (मतिर फर्किएर) तिमीलाई थाहा छ कि छैन, हामी दुई एकैपल्ट एउटै कार्यालयमा समान पदमा नियुक्ति पाएर काम गर्न थालेका हौं। जागिरे अवधि भरीमा बल्ल बल्ल अवकाश हुने बेला एकपल्ट यिनको पदोन्नति भयो जब की मेरो पटक–पटक भयो। मैले कतिपल्ट सम्झाएँ, यिनले कानमा तेल हालेर बसे। कमाउने कुरामा पनि हेर त, आज मलाई १०, २० लाखको कुनै दुःख छैन। जागिर भनेको यस्तै हो, खानुपर्छ खुवाउनुपर्छ। माथ्ल्लिाको अगाडि निहुरिरहन पर्छ, जसरी हुन्छ तिनलाई रिझाउनु पर्छ। अब यिनी यस्ता कुनै काम नगर्ने, अनि कसरी हुन्छ प्रगति, कसरी जुट्छ धन सम्पत्ति।’
बुवा मुस्कुराउँदै चुपो लागेर बसे, न विरोध गरे न समर्थन। मैले काकालाई सोधें, ‘काका, खाएको अंशको धेरै प्रतिशत बुझाउनु हुन्थ्यो कि कम ?’, मैले सोधें। उनले भने, ‘फसियो भने आफू फसिने, केको बढी खुवाउने ? राख्ने नि आफ्नै पोल्टामा बढी। तिमी के गर्छौ नि ?’
जवाफ दिएँ मैले पनि, ‘काकाले भने जस्तो दुई, तीन दशक अगाडिसम्म भए त कुरा बेग्लै हुन्थ्यो, अहिले त कहाँ त्यस्तो हुनु ! खुवाउनेसँग सोधेर हिसाब राखिरहन्छन्। तल माथि भयो भने आफ्नो कमाउने स्रोत मात्र हैन, आफ्नो हैसियत नै धरापमा पर्छ। बढी लोभ गरेर आफ्नो बिनाश किन गर्नु ? म सुपर्णखालाई कति सम्झाउँछु, मेरो राम्रो सम्पर्क छ, तिमी हुन्छ मात्र भन। बाँकी कामको चिन्ता नगर। ऊ माने पो ! भो, यस्तो कुरा नगरौं भन्छ।’
काकाले सोधे, ‘तिमी त सधैं शक्तिकेन्द्रमै छौ। अवसरबाट कहिले वन्चित भा छैनौ। फेरि महत्वपूर्ण जिम्मेवारी पाइरहेछौ। यसको रहस्य के छ ?’ ‘रहस्य के हुनु, काका। उठाएको रकम जिम्मेवारी दिने मुख्य मान्छेलाई बुझाएपछि उनले दिएको भागशान्तिमा चित्त बुझाउने मात्र हैन केही दिनपछि त्यै भागशान्तिको रकमको केही भाग फेरि उनलाई बुझाउँछु। उनले मेरो आशय बुझिहाल्छन्, जिम्मेवारी पाइहालिन्छ। जति धेरै बुझायो त्यति राम्रो जिम्मेवारी’, मैले यथार्थ कुरा राखिदिएँ।
बुवाले शान्त स्वरमा भने, ‘खाओ यो देश खाओ, मर्यादा निलिदेओ। मूल्य मान्यता कुल्चिदेओ। समाज भ्रष्ट बनाओ। तर बिचार गर हरेक कुराको आयु हुन्छ। जुन दिन यो दुराचारको आयु सिद्धिन्छ, समाजमा बिस्फोट हुन्छ। त्यो बिस्फोटले तिमीहरूलाई कहाँ उछिट्याउँछ, कसरी लथालिंग बनाउँछ, मैले राम राम भन्न बाहेक केही गर्न सक्दिनँ।’
बुवाले वर्णन गरेको त्यो दृश्यले हामी दुवैको मानस पटल झन्झनायो र हामी त्यहाँबाट हिँड्यौं।