कमाउँदै छोराछोरी पढाउँदै कालीकोटका एकल महिला
कालीकोट : गाउँका एकल महिलाको पीडा छुट्टै छ। कमाउने श्रीमान नहुँदा घरको सबै जिम्मेवारी बहन गर्नुपर्छ। राष्कोट नगरपालिका-९, कि पत्मा तिरुवाले छोराछोरी पालन पोषणदेखि पढाइ लेखाइ गराउन एकल महिलाहरूलाई गाह्रो हुने गरेको बताइन्। उनले भनिन् ‘आर्थिक र शैक्षिक अवस्था फरक भएका जुनसुकै उमेरका एकल महिला धर्म संस्कृतिका कारण भेदभाव र ज्यादतीका सिकार बनेका छन्।’
एकल महिला बेला बेलामा शारीरिक र यौन हिंसा अनि घरेलु हिंसाबाट पनि पीडित छन्। कहीँ कहीँ त एकल महिलालाई अलच्छिनी जस्ता अपशब्द पनि प्रयोग गरिएको पाइन्छ। यसले एकल महिलाको मनोबलमा असर पुर्याइरहेको छ। समाजमा यस्तो व्यवहार पाएर एकल महिलाको जीवन तातो तावामा छटपटाइरहेको माछा जस्तै भइरहेको छ। यस्तो अवस्थामा गिट्टी कुटेर छोराछोरी पढाउने गरेको छु।
उनले गहभरी आँसु गर्दै भनिन्, ‘३६ वर्षको उमेरमा श्रीमानको ह्रदयघातका कारण मृत्यु भयो। श्रीमानको मृत्यु भएको १५ वर्ष भयो। २ छोरा १ छोरी सानै थिए छोडेर अन्त जान सकिन् उनीहरूको लालनपालन गर्दा कुकुरले पाउने दुःख पाएँ। सिंहदरबारको अधिकार आजकाल गाउँमै आए पनि एकल महिलाका दुःख जस्ताको त्यस्तै छन्। एकल महिलाका लागि स्थानीय तहसँग बजेटको माग गर्दा पनि दिँदैनन्।’
कालीकोटमा एकल महिलाहरू ७ हजारको हाराहारीमा छन्। ७ हजार एकल महिलाहरूका लागि प्रत्येक स्थानीय तहले छुट्टै कार्यक्रम नल्याएको तिलागुफा नगरपालिका-१० की नेपु शाहीले बताइन्। उनले भनिन्, ‘लोकतन्त्रको स्थापनापछि एकल महिलालाई रातो अबीर, रातो कपडाले सजाइदिने कार्य नभएका होइनन् तर यति गर्दैमा एकल महिलाको जीवन सुखमय हुन सक्दैन।’
प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले एकल महिलालाई राज्यले वार्षिक ४८ हजार रुपैयाँ प्रदान गर्दै आएको बताए। उनले भने, ‘यसले केही राहत त मिलेको छ तर दिन दुई गुना रात चौगुनाका दरले हरेक क्षेत्रमा महँगी बढी रहेकोले यो अवस्थामा उनीहरूको जीवन थप कष्टकर हुँदै गएको छ। अबका दिनमा स्थानीय तहले एकल महिलाका लागि कार्यविधि बनाएर बजेटको व्यवस्था गर्नु पर्ने हुन्छ।’
नेपाली युवा गैर सरकारी संस्थाहरूको छाता संस्था युवा गैरसरकारी महासंघका केन्द्रीय अध्यक्ष नारायण गिरीले रोजगारी र अध्ययनका क्रममा देशका युवा विदेश गइरहेका छन्। यो संस्कार तीव्र गतिमा बढ्दै छ। यस कारण एकल महिलाले परिवारमा पनि एक्लो जीवन बिताउनु परिरहेको बताए। उनले भने, ‘यस्तो अवस्थामा राज्यले एकल महिलाको वास्तविक तथ्यांक राख्नु पर्छ। एकल महिलाको रेखदेख गर्ने जिम्मेवारीको व्यवस्थामा पनि राज्यले ध्यान दिनु पर्छ। होइन भने युवालाई स्वदेशमै रोजगारी र अध्ययनको व्यवस्था गर्नु पर्छ।’
जिल्ला बारका अध्यक्ष अमलराज शाहीले एकल महिलालाई कानुनी झमेला पर्ने गरेको बताए। उनले भने, ‘उनीहरूका लागि कानुनी सहायता पनि उपलब्ध गराउनु पर्छ। राज्यले निःशुल्क कानुनी सहयोगका छुट्टै निकायको स्थापना गर्नु पर्छ।’
खाँडाचक्र नगरपालिका-६ की एकल महिला समूहकी अध्यक्ष मिना शाहीले एकल महिलालाई घर व्यवहारका विषयमा अलग राख्ने गरेको बताइन्। उनले भनिन् फलस्वरूप ती महिला मानसिक रूपमा पीडित बन्न पुगेका छन्। यस्तो अवस्थामा राज्यले बलियो कानुन बनाउनु पर्छ। बेला बेलामा यस्ता परिवारको अनुगमन गर्नु आवश्यक छ। तर राज्यले हामीलाई थप पीडा दिइरहेको छ।
उमेर नपुगेर सानै उमेरमा विवाह गरेर एकल महिला भएकाहरूको संख्या पनि कालीकोटमा धेरै छ। उनीहरूको अवस्था अहिले पनि दयनीय छ। छोराछोरीलाई पढाउन विद्यालय पोसाक चाहिन्छ तर आफूहरूसँग पैसा नभएर सानै उमेरमा विद्यालय छोड्ने गरेका पनि छन्।
खाँडाचक्र-११ जिम्जेडिकी पद्मा विश्वकर्माले सिलाई कटाई गरेर २ छोरालाई विद्यालय पढाइरहेको बताइन्। उनले भनिन्, ‘श्रीमान बाल्यकालमै बितेपछि धेरै दुःख पाए। अहिले कालीकोटमा ७ हजार एकल महिलाले काम गरेरै गिट्टी कुटेरै छोराछोरी पढाउनु परेको छ।’
उनीहरूलाई अर्को बिहेबारी गर्न पनि समाजले रोकेको छ। कालीकोटमा सेतो पहिरनको लुगा लगाएर घर बाहिर निस्किँदा पनि समाजले बहिष्कार गरेको छ। यसरी बाँचेको आफूलाई हेर्न पटक्कै मन नभएको उनले सुनाइन्।