माटोको अधिकार खोजिरहेकी सन्तरामी
प्रायः थारू समुदायको सामूहिक परिवार हुन्छ। पुस्तौं बित्दा पनि घर, गोठ र जमिन सगोलमै हुन्छ। त्यस्तै सगोलमा थियो गढवा गाउँपालिका–४, दाङका सन्तरामी चौधरीको परिवार। पाँच दाजुभाइका २५ जना एकै ठाउँ। जग्गा भने पाँच भाइको १ कठ्ठा ४ धुर मात्रै। त्यो जमिनमा घरबास नै अटाएन। तीन भाइ त्यहीँ बसे भने दुई भाइनजिकैको सानो टुक्रा जग्गामा सरे। उनीहरूलाई सानो जग्गामा बस्न सकस भयो।
गाईबस्तु पाल्ने ठूलो रहर थियो, सन्तरामीलाई। जमिन छैन। भन्दै थिइन् ‘झन् गाईबस्तु पाल्न प्रशस्त जमिन चाहिने रहेछ। खेती गर्ने मान्छेले मलको लागि भए पनि गाईबस्तु पाल्नै पर्छ। रहर मात्र भएर नहुने। अरूको जमिन ठेक्का लगाएर भए पनि पराल र घाँसको जोहो गरिन्थ्यो। तर, गोठ र बिहान–बेलुका गाईबस्तु बाँध्ने जमिन नै छैन। अरूको जमिनमा टेक्न दिँदैनन्।’ सन्तरामी र उनको श्रीमान्सँग खेती गर्नेबाहेक अरू सीप थिएन। सकसले बास अडेको थियो। तर गाँसको पिरलो उस्तै। सन्तरामी कमलरी बसिन्। जमिनदारले वर्षभरिको दुई हजार नगद र एक जोर कपडा दिन्थे। श्रीमान् ज्यालबुनीको काममा जान्थे। दुवै जनाले ल्याएको चारोले चार जनाको पेट भर्नुपथ्र्यो।
साना छोरा र छोरी। एउटै खान्की। कुन चामल सस्तो छ। त्यही चामल बोकेर श्रीमान् जल्लु चौधरी घर पुग्थे। सन्तरामीले दुःख पोखिन्– ‘हुनेहरूको पो उमेरअनुसारको खाना खान्थे। हुँदा खानेले बच्चा होस् या बुढा जे छ त्यही हो खाने। दुःखले पेट भरिन्थे।’ कमलरी हुँदा पनि सन्तरामीको पेट जमिनदारको बासी भातले भरिन्थ्यो। जमिन नहुनेसँग कसरी अन्न हुनु। पुर्खा पनि किसान हुन्, जमिनबिनाका। जमिनदारको जमिन जोत्ने काम नै उनीहरूको रोजगारी बन्थ्यो।
अहिले सन्तरामीको जीवन फेरिएको छ। अन्नको गेडो नहुने घरमा भकारी भरिएका छन्, धान, गहुँ र मकैले। सन्तरामीले खुसी पोखिन्– ‘धान, मकै र गहुँ राम्रै फल्छ। यत्रो अन्न कहाँ आफूले खाई सक्नु ? बेच्छौं। आफूलाई चोहिने भकारीमा छ।’ सन्तरामीको भकारीसँगै मन पनि खुसीले भरिएको छ। खाएर बचेको तरकारी लमही बजार पु¥याउँछिन्। र केही गाउँमा बेच्छिन्। आफ्नै उत्पादन भए पनि सन्तरामीलाई बाख्रा, कुखुरा र बंगुर पाल्न सहज भएको छ। छोरी ८ कक्षामा पढ्छिन्। छोराले ६ पास गरेको छ। सन्तरामी र गाउँका २६ किसान परिवार २०७५ सालमा संगठित भए। बाँझो तथा नदी उकास जमिन उपयोगबारे छलफल गरे।
उक्त जग्गामा पालिकाले पर्यटकीयस्थल बनाउने कुरा सुनेपछि सन्तरामीलाई निद्रा परेको छैन। भन्छिन्– ‘हामीले गर्न जानेकै खेती हो। खेती गर्नको लागि भूमि चाहिन्छ। बल्लतल्ल बगर खेतीले अलिक उकासिएका थियौँ। यदि यो जमिन खोसियो भने पहिलेकै अवस्थामा पुग्छौं। घरमा अन्न हुन्न। बाख्रा, बंगुर र कुखुरा पाल्न थलो हुँदैन। छोराछोरी भोको हुनेछन्। भोक टार्न पटुकी कस्दै जमिनदारको खेत चाहर्न बाध्य हुनुपर्छ।’ उनीहरूले भूमि आयोगमा जग्गा नापीका लागि निवेदन दिएका थिए। तर, नापी गर्न आलटाल गरेकाले उनीहरूलाई शंका लाग्न थालेको छ, त्यो जमिन खोसिने त हैन भन्नेमा। उनीहरू संगठित छन्। तर छलफल पुगेको छैन। किसानले बनाएको माटो र गाँस जोगाउन स्थानीय सरकार, अन्य सरोकारवाला र किसानबीच छलफल गरी उक्त जग्गा भूमिहीनले उपयोग गर्न पाउने गरी निकास निकाल्नुपर्छ।
आज सन्तरामीले जस्तै अन्य किसानले आफूले मलिलो बनाएको माटोको अधिकार खोजिरहेका छन्। ती किसानले त्यहीँ जमिनमा भविष्य देखे। त्यो जमिनमा अरूले आँखा लगाउन थालेपछि उक्त समुदायमा पलाउन थालेको आशा निराशामा गएर टुंगिन आँटेको छ। थारूहरूले उत्पादनयोग्य बनाएको माटो फेरि खोसिँदैन पनि भन्न सकिँदैन। आफूले मलिलो बनाएको माटोको कुनै प्रमाण नभएपछि धेरै किसान विस्थापित भइसकेका कैयन् घटना छन्। थारूहरूले नै हो तराईलाई हराभरा बनाउने। राप्ती नदी–उकास जग्गाको प्रत्येक गह्रामा भूमिहीन थारूहरूको पसिना मिसिएको छ। त्यही कारणले बगर, उब्जाउ हुने जमिनमा परिणत भएको छ। यो माटो त्यसै मलिलो भएको होइन।
भूमि स्रोतको पहुँच, भू–उपयोग सुरक्षा, स्वामित्व र भूमिको नियन्त्रण र भूमिको वितरण भूमिलाई माया गर्ने निश्चित किसानहरूसँग सम्बन्धित छ। तर जमिनमा श्रम गर्ने वास्तविक किसान परिवारसँग आफ्नो भूमि छैन। उनीहरू अझै पनि अवैतनिक श्रम गर्नुपर्ने बाध्यतामा छन्। भूमि सम्बन्धमा ऐतिहासिक रूपमा सबैभन्दा अन्यायमा परेका आदिवासी थारू र दलित समुदायहरू हुन्। दास प्रथालाई काखी च्यापेर सँगै आएको सामन्तवादले यस्ता आर्थिक र सामाजिक समस्यालाई आफ्नो रक्षाका लागि बचाउँदा यो समस्या भयो। जसकारण अझै पनि भूमि अधिकारबाट वञ्चित जोताहाहरूको जमिनसँग स्वतन्त्र सम्बन्ध हुन सकेन। यसरी जमिनमा काम गर्ने किसानहरूको जमिनसँग स्वतन्त्र सम्बन्ध नै हुन पाएन भने कसरी उत्पादन बढ्छ ? उत्पादन नहुँदा कसरी देशलाई समृद्ध बनाउन सकिन्छ ?
कृषि क्षेत्रको व्यवसायीकरण र रोजगारी सिर्जना भूमि सुधारकै एजेन्डा हुन्। भूमिसुधार जीविकोपार्जनको अवसर र सामाजिक न्याय स्थापनाको अनिवार्य सर्त हो। दुःखको कुरा, यी विषय झारा टार्ने तहमा राजनीतिक संकथनमा सीमित बने। जसकारण भूमिहीन किसानहरू सधैं भूमि अधिकार र उपयोगको संकटमा परे। भूमिसुधारको लागि स्थानीय तहलाई यथोचित अधिकार संविधानले नै दिएको छ। स्थानीय तहमा लिइने असल नीति र अभ्यासले भूमिसुधारको नयाँ सम्भावनाको ढोका खोल्न पनि सक्छ। त्यसैले सन्तरामी चौधरी जस्ता माटोलाई मायाँ गर्ने लाखौं किसानहरूको माटोको अधिकार भूमिसुधारमार्फत सुनिश्चित गर्नुपर्छ।
दाङको राप्ती किनार जस्तै आवाद नगरिएको खाली ठाउँ खोज्दै खेती गरी माटोसँग आफ्नो सम्बन्ध कायम राखेका सयौं समुदायहरू छन्। उनीहरू कति खेर लखेटिनुपर्ने हो। कतिखेर उर्वर बनाएको जमिन खोसिने हो। कति खेर बेघरबार भइने हो भन्ने त्रासमा छन्। किसानहरूको भूमिसँग ऐतिहासिक सम्बन्ध छ। किसान थिए र केही भए पनि भूमि बचेको छ। किसान छन्, र हामी बाँचेका छौ। त्यसैले भूमि–कृषि सुधारको कार्यक्रम आजको
आवश्यकता बनेको छ। जसले समाजका सबैभन्दा विपन्न तथा सीमान्तकृतलाई पुनर्उत्पादनको प्रक्रिया र समृद्धिसँग जोड्न सक्छ।