कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने, सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने, सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी
फाइल तस्बिर।

काठमाडौं : नेपाली कांग्रेसले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतको प्रस्ताव राख्ने कार्यसूची भएकाले कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भएर विपक्षमा मतदान गर्न ह्विप जारी गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘असार २८ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन,तटस्थ नरहन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

असार १७ गते संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित नयाँ सत्तासमीकरण बनाउने सहमति भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेपाल एमालेले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ।

प्रचण्डलाई सरकारबाट हटाएर दुई दलको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारी छ। सत्तामा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जसपा, नागरिक उन्मुक्तिले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सत्ता संकटमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिँदैछन्। तर,प्रचण्डले विश्वासको मत पाउने सम्भावना छैन।

हाल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट आवश्यक पर्छ। अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८८ र दोस्रो ठूलो दल नेकपा एमाले ७९ जना सांसद छन्। यी दुवैलाई जोड्दा पनि बहुमत पुग्ने अर्थात् १६७ सिट पुग्ने अवस्था छ। एमाले-कांग्रेसको नयाँ गठबन्धनलाई राप्रपा,जसपा, जसपा नेपाल,नागरिक उन्मुक्ति, लोसपाको समर्थन रहेको छ। हालसम्म प्रचण्ड सरकारको पक्षमा माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.